विवाहित छाेरीले माइतीसामु बह बिसाउने पुतला नाचको रौनक
टीकापुर । विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट माइतीसमक्ष व्यक्त गरिने पुतला खेल शनिबारदेखि कैलालीमा सुरु भएको छ । यहाँका महिलाको यो महत्वपूर्ण खेल एक सातासम्म जारी रहन्छ ।
रातो सारी, चौबन्दी चोली र सेतो पटुका कम्मरमा बाँधेर उनीहरू एउटै तालमा पुतला खेल्छन् । पुतला खेलको उद्घाटन गर्दै टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले महिलाले विवाहपछि भोगेको पीडालाई माइतीसँग गीतमार्फत पोख्ने महत्वपूर्ण मौलिक परम्परा भएको बताए ।
‘यसमा विवाहपछि छोरीले भोगेका समस्या समेटिएका छन्, छोरीको कथा समेटिएकाले यो हाम्रा महिलाको महत्वपूर्ण खेल हो’, हरेक पर्वलाई पुस्तान्तरण गर्न आवश्यक छ भएको बताउँदै उनले भने । उनले पुतला खेल्ने महिलालाई वडा कार्यालयले पोशाक उपलब्ध गराउने बताए ।
कलाकार रङ्गी थापाले पुतला खेल आफूहरूको मौलिक खेल भएको बताउँदै सुदूरपश्चिमका छोरीसँग भेट गराउने तथा यहाँको पहिचान रहेको बताइन् । छोरीले घरमा भोगेका पीडा तथा विवाह नभएका युवतीले माइती घरमा रहँदाका बह गीतमार्फत प्रस्तुत गरिने यो खेललाई पर्वका रूपमा लिनुपर्ने उनको धारणा छ ।
विवाहित महिलाका मार्मिक कथा गीतका माध्यमबाट अभिव्यक्त हुने पुतला खेलमा महिलाले छिटको फरिया, रातो चौबन्दी, र सेतो पटुकाको फेरो समाएर सामूहिक रूपमा पङ्क्तिबद्ध भएर गीत गाउँदै पैताला मिलाउँदै नाच्ने गरिन्छ । पुतलासँगै महिलाहरूले न्याउल्या खेल पनि खेल्ने गर्छन् ।
सुदूरपश्चिमका कला संस्कृतिमा मौलिक वेषभूषा लुकेकाले यस्ता संस्कृतिलाई जोगाउन आवश्यक भएको स्थानीय गङ्गाराम आचार्य बताउँछन् । ‘पुराना पुस्ताले जगाएको संस्कृतिलाई नयाँ पुस्ताले पनि अँगाल्न जरुरी छ’, उनले भने, ‘स्थानीय सरकारले कला संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्छ ।’
जनश्रुतिअनुसार अछाम र बाजुराको सङ्गमस्थलमा परापूर्वकालमा घ्यारा घ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा पुतला नाच सुरु गराएका हुन् ।
मधेसमा विवाह गरेकी छोरीको सर्पले डसेर मृत्यु भएपछि शोकमा रहेका राजाले उनलाई सम्झँदै पुतला खेल्न लगाएका थिए । त्यो परम्परा अद्यापि कायम रहेको पुतला खेल्दै आएकी चन्द्रा भण्डारीले बताइन् ।
रासस