महाधिवेशनका लागि नेकपा एसका ४ दस्तावेज तयार – Nepal Press

महाधिवेशनका लागि नेकपा एसका ४ दस्तावेज तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र सांगठानिक दस्तावेजको लेखन पूरा भएको हो ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ । देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, विविधताबीचको एकता, सामाजिक सांस्कृतिक पक्ष पनि दस्तावेजमा राखिएको छ ।

सम्मानित तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज तयार पारेका छन् । जसमा वैज्ञानिक समाजवादको अवधारणा, समाजवादको स्वरूप, आर्थिक रुपान्तरणलगायत विषय समेटिएको छ ।

उपाध्यक्ष बेदुराम भुसालले तयार पारेको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ । सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदन गराउने व्यवस्था पनि उनले उल्लेख गरेका ५न् ।

महासचिव घनश्याम भुसालको सांगठानिक दस्तावेजमा पार्टीको सङ्गठन निर्माणमा देशभरका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको सदस्यतालाई व्यवस्थित गर्दै फैलनुपर्ने उल्लेख छ ।

आगामी जेठ ३-७ गतेसम्म नेकपा एसको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदैछ । अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटीले आवश्यक तयारी गरिरहेको पार्टीले जनाएको छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर