इलामका उम्मेदवारः वकिल, पत्रकारदेखि ठेकेदारसम्म
विराटनगर । वैशाख १५ मा हुने उपनिर्वाचनका इलाम-२ मा २० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय इलामका अनुसार १२ जनाले दलका तर्फबाट र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दिएका मध्ये सबैभन्दा कान्छा अर्जुन शाही छन् । उनी २५ वर्षका छन् । स्वतन्त्र रूपमा उम्मेदवार बनेका योगेन्द्र गुरुङ २९ वर्षका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू ३१ वर्ष पुगेका छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको हो ।
एमाले-नेकपा (माओवादी केन्द्र) र विप्लव नेकपाका साझा उम्मेदवार सुहाङ नेम्वाङ ३३ वर्षका छन् । अर्का स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईँको पनि उमेर ३३ नै छ । मनोनयन दर्ता गराएकामध्ये नेसनल रिपब्लिक नेपाल दलका धनराज रानामगर ३६ वर्षका छन् ।
नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार दीपेश बोहरा ३७ वर्षका छन् । स्वतन्त्र उम्मेदवार राज बस्याल ४० वर्ष पुगेका छन् । यस्तै जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ ४४ वर्ष पुगेका छन् । राप्रपाका लक्ष्मी गुरुङ ४५ वर्ष र नेकपा (एस) का जीतबहादुर राई ४६ वर्षका छन् ।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ४८ वर्षका पुगेका छन् । उनी अघिल्लो निर्वाचनमा सुवासचन्द्र नेम्वाङ्गसँग पराजित भएका थिए । यस्तै स्वतन्त्र रूपमा उम्मेदवार भएका मनोज निरौला ४९ वर्षका छन् ।
मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू ५३, नेपाली जनता दलका रेशमबहादुर सुनुवार ५४, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम ५६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त सिंह ६४ वर्ष पुगेका छन् । पहिचान पक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिम २० जनामध्येकै जेठा ६८ वर्षका छन् ।
यहाँ डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईँ, दीपेश बोहरा, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
इलामका उम्मेदवार- को-कस्ता ?
बाम गठबन्धनबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङ कानून व्यवसायी हुन् । एमाले केन्द्रीय कानून विभागका सदस्य सुहाङ दिवंगत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । उनी इलामको फुटबल क्षेत्रको विकासमा यसअघि देखि नै सक्रिय थिए ।
भदौ २६ मा सुवासचन्द्रको निधन भएपछि बुवाले चुनाव जितेको क्षेत्रमा सुहाङ उम्मेदवार बन्ने चर्चा सुरू भइसकेको थियो । बुवाको १३औँ दिनको पुण्य तिथिमा इलाम बजारमा आयोजित शोक सभामा सुहाङले भनेका थिए– ‘म बुबाको सपना पूरा गर्छु ।’
युवाहरूमाझ लोकप्रिय सुहाङ राजनीतिमा युवाहरूको आकर्षण बढाउन राजनीतिमा होमिएको बताउँछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार भएका मिलन लिम्बू पत्रकार हुन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको महासचिव थिए ।
माओवादीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरका सचिवसमेत रहेका मिलन इलाम माङ्सेवुङ्गका स्थायी बासिन्दा हुन् । उनले उपनिर्वाचनको मिति घोषणा भएसँगै स्वतन्त्र रूपमा उम्मेदवार बन्ने घोषणा गरेका थिए । रास्वपाबाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएकोमा उनले बाजी मारे । लिम्बूले केही साताअघि माओवादी त्याग्दै स्वतन्त्र रहेको घोषणा गरेका थिए ।
पार्टीको जिल्ला सभापतिसमेत रहेका डम्बरबहादुर खड्कालाई कांग्रेसले पुन: अघि सारेको छ । गत मंसिरमा उनी एमालेका सुवासचन्द्र नेम्वाङसँग झिनो मतले हारेका थिए । उनी ठेकेदारसमेत हुन् ।
नेकपा (एकीकृत समाजवादी) ले जिल्ला सचिवालय सदस्य जीतबहादुर राईलाई मैदानमा उतारेको छ । राई इलामकै माइजोगमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट पालिका अध्यक्ष जितेका राई ७९ सालमा एसमा आएर गठबन्धनबाट उठेका थिए । उनी एमालेका कुशबहादुर थेबेसँगै पराजित भए । विद्यार्थी राजनीतिबाटै सक्रिय राईले राष्ट्रिय युवा संघमा पनि लामो समय काम गरेका छन् ।
पहिचानवादीबाट उम्मेदवार बनेका डाकेन्द्रसिंह थेगिम प्रदेश नम्बर १ पुन नामकरण संयुक्त संघर्ष समितिका अगुवा हुन् । पूर्वशिक्षक थेगिमले केही महिनाअघि एमालेको सदस्यता त्यागेका थिए । कोशी नामकरणपछि उनी पहिचानको आन्दोलनमा होमिएका थिए ।
किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष समेत रहेका थेगिम किराँत धर्मगुरु आत्मनन्द लिङ्देनका निकट सहयोगी मानिन्छन् । उनलाई धरानका मेयर हर्क साम्पाङले पनि समर्थन जनाएका छन् ।
अहिले यो क्षेत्रमा आफूबाहेक अरू स्वतन्त्र उम्मेदवार नभएको थेगिमको जिकिर छ ।
राप्रपाले उठाएका लक्ष्मी गुरुङ २०५६ सालदेखि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघमा आबद्ध छन् ।