५२ वर्षको उमेरमा ८ कक्षा पास
हेटौंडा । औपचारिक शिक्षाको लागि उमेरले छेक्दैन भन्ने प्रमाण पेश गर्दै मकवानपुरको थाहा नगरपालिका वडा नं. ५ का ५२ वर्षीय सन्त बहादुर गुरुङले कक्षा ८ को परीक्षा उत्तीर्ण गरेका छन् । विद्यालय छाडेको ३८ वर्षपछी थाहा-१ मा रहेको झम्केश्वरी माविमा भर्ना भएका गुरुङले ८ कक्षा पास गरेका हुन् ।
झम्केश्वरी मावि थाहा–१ का विद्यार्थी गुरुङले गत १ चैतबाट सुरु भएको थाहा नगरपालिका स्तरीय कक्षा ८ को परीक्षा दिएका थिए । थाहा नगरपालिकाले शैक्षिक सत्र २०८० मा सञ्चालित नगरपालिकास्तरीय आधारभूत शिक्षा(कक्षा–८) को परीक्षाफल २५ चैत दिउँसो प्रकाशित गरेको हो ।
कक्षा ५ सम्म गाउँकै बसन्त प्राविमा अध्ययन गरेका गुरुङले कक्षा ६, ७ र ८ थाहा नगरकै जनकल्याण माविमा अध्ययन गरेका थिए । ३७ वर्ष अघि ८ कक्षामा उनुतीर्ण भएपछि पढाइ छाडेका उनले ३८ वर्षपछि पुनः विद्यालय भर्ना भएर ८ कक्षा पास गरेका हुन् । आफुले कक्षा ५ सम्म अध्ययन गरेको बसन्त प्रावि व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्ष भैसकेका उनले आफुलाई सधै पढ्ने चाहानाले सताउने गरेपछि नजिकैको विद्यालयमा भर्ना भएर ८ कक्षा उत्तीर्ण गरेको बताए । नेपालप्रेसलाई प्रतिक्रिया दिँदै उनले आफुले पढाइलाई सकुन्जेल निरन्तरता दिने बताए ।
दुई छोराका बाबू उनी गाउँमा बसेर सामजिक काममा कृयाशिल छन् । गाउँमा हुने विभिन्न विकास निर्माण समितिको नेतृत्व गरिसकेका गुरुङ अहिले पनि फुर्के बसन्त टोल विकास संस्थाका उपाध्यक्ष, सिरान घर डाँडागाउँ खड्का टोल खानेपानी उपभोक्ता समितिको उनी अध्यक्ष हुन् ।
नेपाली काँग्रेस थाहा ५ का वडा सभापति पनि समेत रहेका गुरुङका जेठो छोरो स्नतकोत्तर तहमा अध्ययनरत छन् भने कान्छो छोरोले स्नातक तह अन्तर्गत बीएस्सी एजी पास गरेका छन् ।