बेथितिको चाङमाथि त्रिवि: ‘फ्रस्ट्रेटेड’ विद्यार्थी, गैरजिम्मेवार पदाधिकारी – Nepal Press

बेथितिको चाङमाथि त्रिवि: ‘फ्रस्ट्रेटेड’ विद्यार्थी, गैरजिम्मेवार पदाधिकारी

काठमाडौं । २०७६ भदौमा काठमाडौंको ताहाचलस्थित महेन्द्र रत्न क्याम्पसमा ४ वर्षे बीएड स्नातक तह भर्ना गरेका थिए सुमन सापकोटाले । त्रिभुवन विश्वविद्यालयको प्रावधानअनुसार उनको यतिबेला ४ वर्षे स्नातक तह सकिनुपर्ने हो । तर, पढाइ सुरु गरेको साढे ४ वर्षमा पनि उनको स्नातक तह सकिएको छैन । उनी अझै चौंथो वर्षमा पढ्दैछन् ।

भर्खरै परीक्षाको फर्म खुलेको छ । असारमा परीक्षा हुन्छ कि भन्ने आशमा छन् उनी । यो साढे ४ वर्षको अन्तरालमा उनले तेस्रो वर्षको परीक्षा दिए । तर, चौथो वर्षको अन्तिममा पुग्दा पहिलो वर्षको नतिजा आयो ।

दोस्रो वर्षको परीक्षा दिएको २ वर्ष र तेस्रो वर्षको परीक्षा सकिएको १ वर्ष बढी भयो । तर, नतिजा आउने अत्तोपत्तो छैन । यतिको समय नतिजा नआउँदा सुमनलाई कुन दिन उत्तरपुस्तिका हरायो, परीक्षा दिन आउनु भनेर त्रिविले सूचना निकाल्ने हो कि भन्ने भयले पनि सताएको छ ।

सरकारी सेवाको माथिल्लो पदमा भिड्न सुमनले स्नातक तहमा भर्ना गरेका थिए । माथिल्लो पदमा प्रतिस्पर्धा गर्ने उमेर हद सकिन लाग्यो । तर, स्नातक तह नसकिने अवस्था बन्दैछ ।

५ वर्षसम्म पनि स्नातक तहमै अल्झेर बसेका उनलाई अहिले बेकारमा त्रिविअन्तर्गत स्नातक तहमा भर्ना गरेछु भन्ने पछुतो लागेको छ । चौथो वर्षको परीक्षा दिएर नतिजा आउँदा ६ वर्ष बढी लाग्ने देखिएको सुमन बताउँछन् । ‘४ वर्षे भनेर पढ्दा नियमितमै ६ वर्ष लाग्ने देखियो । ब्याक लागे के होला ?’ उनी प्रश्न गर्छन्, ‘त्रिविमा कसलाई भन्ने ? कसले बुझ्ने ?’

यस्तै हुन्छ भन्ने थाहा भएको भए त्रिवि पढ्दै नपढ्ने उनी बताउँछन् ।

काठमाडौंकै जया मल्टिपल क्याम्पसमा बीबीएस तेस्रो वर्ष पढ्दै गरेकी विनिता श्रेष्ठ जापानको भिसाको पर्खाइमा छिन् । जेठभित्र जापान उड्ने सम्भावना रहेको उनी बताउँछिन् ।

तेस्रो वर्षबाट ड्रपआउट गरे विदेशिन लागेकी विनिता त्रिविले परीक्षा समयमै लिएको भए यतिबेला आफ्नो बीबीएस सकिसक्ने बताउँछिन् । उनी पनि त्रिविको असक्षमता र अव्यवस्थाले आफू मारमा परेको गुनासो गर्छिन् ।

उनी भन्छिन्, ‘हामीले त पहिलो वर्ष नै दुई वर्षसम्म पढेको पढ्यै गर्‍यौं । समयमा परीक्षा नहुँदा एक वर्षको कोर्स दुई वर्ष पढ्नुपर्‍यो । त्यसैले चौथो वर्षमा पुग्नुपर्ने हामी तेस्रो वर्षमै छौं । स्नातक नसकिँदा त्रिविको ताल देखेर फ्रस्ट्रेशनले सताइसक्यो । स्नातक पास गर्नै ६ वर्ष लाग्ने देखियो । त्यसैले विदेश जाने सोचमा छु ।’

स्नातक तहको पढाइबीच उनी छुट्टै भाषा कक्षामा भर्ना भएकी थिइन् । भाषा परीक्षा सकियो । तर, स्नातक तह सकिएन । उताबाट भिसासमेत आयो । तर, त्रिविको परीक्षाको तालिका नआएपछि स्नातक अधुरै छोडेर विदेशिन लागेको उनी बताउँछिन् ।

उनले पढाइ बीचमै छाडेर विदेश जानु रहर नभई बाध्यता भएको बताइन् ।

‘कजेल भर्ना गर्नुअघि मैले यही जागिर खान्छु भन्ने सोचेको थिएँ । तर, त्रिविको अव्यवस्था देखेर दिनदिनै फ्रस्टेशन हुन थाल्यो । कमाउनुपर्ने उमेर भएको मान्छे सधैं पढ्दैछु भनेर कति बस्नु ? कसरी घर खर्च चलाउनु ? स्नातक पास गर्दासम्म केही नहुनेरहेछ ।’

यी दुई प्रतिनिधि पात्रमात्र हुन्, जसले त्रिविको अव्यवस्था छर्लङ पार्छ । त्रिविको शैक्षिक अव्यवस्थाले विद्यार्थीहरु कति दिक्क छन् भन्ने यी दुई प्रतिनिधि पात्रले स्पष्ट पार्छन् । त्रिविसम्बन्धी कुनै समाचार आए, त्यहाँ विद्यार्थीले आफ्नो पीडाको पोकोले कमेन्ट बक्स भरिदिन्छन् । त्रिविकै विद्यार्थीले चलाएको ‘त्रिवि स्टुडेन्ट’ नामको फेसबुक पेजमा हेर्न सकिन्छ- विद्यार्थीहरुले त्रिविविरुद्ध निकाल्ने फ्रस्ट्रेसन ।

सोही पेजमा एक विद्यार्थीले त्रिविको अव्यवस्था र लथालिङ्ग अव्यवस्थाबारे यस्तो लेखेका छन्- ‘२-३ पटक मिति नसारी परीक्षा हुँदैन, नतिजा आउने बेला उत्तरपुस्तिका हराउँछ । पहिलो वर्षको नतिजा तेस्रो वर्ष सकिँदासम्म आउँदैन, पुनः परीक्षा नगरी रिजल्ट आउँदैन, ४ वर्षे ब्याचलर ६-७ वर्ष पुग्छ । पुनः मिति नतोकेसम्म फर्म भर्ने मिति सकिँदैन । ५-७ वर्षमा जेनतेन एउटा प्रमाणप्रत्र पायो, खोस्टोको भाउमा यो देशमा बिक्दैन । यस्तै पाराले ३० वर्षसम्म पढेर सकिँदैन, कहिले कमाउने, कहिले जमाउने, कहिले जागीर खाने ? अनि केको लागि यो देशमा युवा बस्ने ? यसैमाथि भन्दैछन् लोकसेवा उमेर हद ३५ लाई ३२ मा झार्ने, मुद्दा मामिला नझेली लोकसेवाको परीक्षा मिति तय हुँदैन । एक पटकमै नाम निकाल्न सके त ठीकै छ । अर्को पटकलाई अनुभव रहे, उमेर रहँदैन । अनि आखिर अन्तिम गन्तव्य उही खाडी त हुने भयो । यो देशमा युवा कसरी बस्छ ?’

अर्का विद्यार्थी सुनिल अधिकारी भन्छन्- ‘रिट दिन मिल्दैन, नेपाली संविधानले केही भन्दैन र लास्ट तनाव भैसक्यो भन्या ! मैले प्रथम वर्षमा भर्ना गरेको आज १०५२ दिन भएछ । कति वर्षमा सकिन्छ मेरो ब्याचलर ? सुसाइड गर्न मन लाग्छ, शिक्षा मन्त्रालय र देशको अवस्था हेर्दा !’

विद्यार्थीका पीडा त्रिविका लागि ‘काग कराउँदै छ, पिना सुक्दैछ’ मात्रै भइरहेको छ । विद्यार्थीहरुले त्रिविको बेथितिबारे बोल्न थालेको वर्षौं भइसक्यो । तर, समस्या २० को १९ भएको छैन ।

समयमै परीक्षा नगराउनु त त्रिविकाे नियमितता नै भइसक्यो । हुँदा हुँदा नतिजा निकाल्ने समयमा उत्तरपुस्तिका हराउने पनि प्रचलन हुन थालिसक्यो । परीक्षा भए पनि अघिल्लो वर्षकै प्रश्नपत्र दोहोर्‍याउने, एउटै प्रश्न दुई ठाउँमा सोध्ने, पात्रोमा हुँदै नभएको मितिमा परीक्षा राख्ने, कारण नखुलाई परीक्षा मिति सार्ने त त्रिविको बेथितिको क्यालेन्डर नै भइसक्यो । विद्यार्थीको शैक्षिक भविष्य उज्ज्वल बनाउनुपर्ने त्रिविले उल्टै भविष्यमाथि खेलबाड गरिरहेको छ ।

त्रिविमा मानवीय त्रुटिले सीमा नाघे पनि र विद्यार्थीहरुको शैक्षिक भविष्यमा खेलवाड गर्दा पनि कोही कसैमाथि कारबाही भएको सार्वजनिक भएको छैन । त्रिविको हेलचेक्र्याइँले सीमा नाघे पनि न तालुकदार शिक्षा मन्त्रालय तथा कुलपति रहेका प्रधानमन्त्रीले कसैलाई कारबाही वा नसिहत दिएको वा स्पष्टीकरण सोधेको सार्वजनिक भएको छ ।

चार वर्षे कार्यकाल सकाएर बिदा हुँदै गर्दा उपकुलपति धर्मकान्त बास्कोटाले राजनीतिक हस्तक्षेपकै कारण त्रिविको यो हालत भएको दाबी गरे । तर, उनले पनि उपकुलपतिको कुर्सीमा हुँदासम्म यो यो कारण त्रिवि सुधार्न सकिनँ, त्रिवि सुधार्न यी यीले भाँजो हाले भनेर कहिल्यै सार्वजनिक अभिव्यक्ति दिएनन् । के त्रिवि नसुध्रिनुमा अहिलेसम्म उपकुलपति भएकाहरुको कुनै कमजोरी र जिम्मेवारी छैन ?

बेथितिकै चाङबीच नयाँ उपकुलपति आएका छन् केशरजंग बराल । उनले पदभार ग्रहण गर्दैगर्दा त्रिभुवन विश्वविद्यालय र यसमार्फत नेपालको उच्च शिक्षालाई सुधार गर्न आफूले प्राप्त जिम्मेवारीलाई पूरा गर्ने, शैक्षिक क्यालेन्डर लागू गर्ने, शैक्षिक कार्यक्रमलाई ट्रयाकमा ल्याउने, पाठ्यक्रम परिमार्जन गर्ने, स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न सरोकारवालालाई विश्वासमा लिई काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले उच्च शिक्षाको गुणस्तर निर्माण गर्दै वञ्चितीकरणमा परेका तल्लो वर्गलाई शिक्षामा अवसर प्रदान गर्ने तथा शैक्षिक मर्यादा र अनुशासनमा सम्झौता नगर्ने आफ्नो अठोट रहेको बताएका थिए ।

अब चैँ केही सुधार हुन्छ कि भन्ने आशमा रहेका विद्यार्थीहरुमा नयाँ उपकुलपति बरालले अहिलेसम्म कुनै उत्साह जगाउन सकेका छैनन् ।

शिक्षामन्त्री हुनुअघि संसदमा त्रिविको समस्याबारे ध्यानाकर्षण गराइरहेकी सुमना नै अहिले शिक्षामन्त्री छिन् । तर, यहीबीचमा त्रिविका लापरबाहीका घटना एकपछि अर्को बाहिरिएपछि उनले उपकुलपतिसँग जवाफ माग्नेबाहेक अरु सुधारका काम गर्नसकेको देखिएको छैन ।

त्रिविका पछिल्ला चार घटनाप्रति चासो राख्दै मन्त्री श्रेष्ठले अनियमितता र बेथितिले विश्वविद्यालयको साख गिरेको र त्यसमा संलग्नहरुमाथिको छानबिन र कारबाहीको विवरण मागेकी छन् । उनले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न बनेको समितिको काम कारबाहीको बारेमा पनि जवाफ खोजेकी छन् ।

मन्त्री श्रेष्ठ भन्छिन्, ‘नियमित जस्तो भइरहेका यस्ता घटनाहरूबारेमा हामी जानकार छौं । यसबाट परीक्षार्थीहरूमा पर्ने मानसिक तनाव तथा विश्वविद्यालयमाथि उठ्ने प्रश्न र शंकाप्रति सबै सजग र संवेदनशील हुनैपर्छ । उत्तरपुस्तिका हराएका परीक्षार्थीहरूको पुनः परीक्षाबाट मात्र यस्ता समस्या समाधान हुने होइन । यस्ता घटना दोहोरिन नदिन घटना घट्नुको कारण पत्ता लगाएर सम्बन्धितहरूलाई उचित कारबाही र प्रक्रिया सुधार अनिवार्य हुन्छ ।’

भेटिँदैनन् त्रिवि पदाधिकारी

त्रिवि यस्तो विश्वविद्यालय हो, जहाँ विद्यार्थीले फोन गरेर वा प्रत्यक्ष भेटेर आफ्नो समस्या सुनाउने पदाधिकारी भेट्न मुस्किल पर्छ । त्रिविकै पदाधिकारीहरु पनि विद्यार्थीप्रति कुनै जवाफदेही छैनन् । त्रिविमै जाँदासमेत पदाधिकारीहरु कसैलाई भेट्दैनन् ।

पनिकाको रेडिमेड जवाफ- जनशक्ति छैन

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षाफल प्रकाशन गर्न, परीक्षा सञ्चालन गर्न नसक्नुको कारणमा जहिले पनि जनशक्ति अभावलाई देखाउने गरेको छ । उसले नतिजा प्रकाशन गर्न उत्तरपुस्तिका जाँच्ने शिक्षकहरु कम रहेको भन्दै आएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले उत्तरपुस्तिका हराएको विषयमा छानबिन समितिले काम गरिरहेको बताए । पटक पटक फोन गर्दा बल्लतल्ल सम्पर्कमा आएका जोशीले उत्तरपुस्तिका हराउनु सामान्य भएको गैरजिम्मेवार जवाफ दिए ।

त्रिविको नतिजा, परीक्षा, प्रश्नपत्रमा त्रुटिलगायतका विषयमा प्रश्न सोध्दा उनले भने, ‘जनशक्ति कम भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको हो । सबैलाई थाहा भएकै कुरा हो, हामीसँग जनशक्ति छैन । विद्यार्थी धेरै छन् । कपी जाँच्न समय लाग्छ । अब एउटै कुरा कति भन्नू ?’

त्रिवि स्रोतका अनुसार विश्वविद्यालयमा कर्मचारी नियुक्तिमा चासो नदिने, पटक पटक गल्ती गर्दा पनि कारबाही तथा सजाय नहुने दण्डहीनताले त्रिविमा बेथितिको चाङ लागेको हो । कुलपति, सहकुलपति र उपकुलपतिको बेवास्ता र राजनीतिक हस्तक्षेपले गर्दा त्रिवि दिनदिनै गिर्दो अवस्थामा पुगेको कर्मचारीहरु स्वीकार्छन् ।

सम्पर्कमै आएनन् उपकुलपति

उपकुलपति केशरजंग बराल त्रिविको पछिल्लो घटनाप्रति जानकार छन् । तर, उनी कुनै एक्सनमा उत्रिएका छैनन् । प्रश्नको सामना गर्नुपर्ला भनेर उनी सम्पर्कमै आउन चाहेका छैनन् । नेपालप्रेसले पटक पटक फोन गर्दा पनि उनी सम्पर्कमा आएनन् ।

त्रिवि स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले रेक्टर र रजिष्ट्रार नियुक्तिको लागि सिफारिस गरेका व्यक्तिलाई रोकेपछि उनी बिदामा बसेका छन् । त्रिविको प्रावधानअनुसार प्रधानमन्त्री विश्वविद्यालयका कुलपति हुन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर