गाउँमै गुणस्तरीय शिक्षा लिँदै ठोरीका स्थानीय बालबालिका – Nepal Press

गाउँमै गुणस्तरीय शिक्षा लिँदै ठोरीका स्थानीय बालबालिका

काठमाडौं । माया शैक्षिक अभियानले पर्सा जिल्लाकै कर्णाली भनेर चिनिएको ठोरीमा नमुना स्कुल चलाएर उदाहरणीय काम गरिरहेको छ ।

ठोरी गाउँपालिका २ गौतम नगरमा काठमाडौंकै स्तरको शैक्षिक गुणस्तर भएको स्कुल सञ्चालन गरेर माया शैक्षिक अभियानले असहाय, द्वन्द्व पीडित, जनजाति, दलित, मधेशी, मुस्लिम तथा एकल आमा वा बाबुका सन्तानहरूलाई गाउँमै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ ।

विपन्न, असहायहरूको शिक्षामा पहुँच पुर्‍याउने उद्देश्यले सन् २०२० बाट सञ्चालनमा आएको एमईआई स्कुल अहिले प्ले ग्रुपदेखि कक्षा ५ सम्म पठनपाठन गराइरहेको छ ।

यो वर्षदेखि एमईआईले कक्षा ६ सम्म भर्ना कार्यक्रम सुरु भएको भाइस प्रिन्सिपल हिमला राईले बताइन् । पारिवारिक वातावरण रहेको एमईआईले इ–लर्निङ, एसीए पेपर वर्कलगायतका शिक्षण सिकाइमा जोड दिएको र विशेष गरी ‘आउटनलेज’मा ध्यान दिइएको उनले जानकारी दिइन् ।

क्रियटिभ लेखन, पब्लिक स्पिकिङ, म्युजिक, क्राफ्ट, आट्स तथा गेम्स र स्पोट्समा समेत उत्कृष्ट प्रफमेन्स दिइरहेको एमईआईले झण्डै डेढ घण्टा समय लाग्ने क्षेत्रबाट बसमा विद्यार्थी ल्याउने पुर्‍याउने सुविधा समेत दिइरहेको छ ।

पर्साको ठोरी गाउँपालिका आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा पिछडिएको गाउँपालिका मानिन्छ । यो गाउँपालिकालाई कतिपयले पर्साको कर्णाली भनेर पनि भन्ने गर्दछन् ।

एमईआई स्कुल सञ्चालनमा आएपछि शिक्षाको पहुँच बाहिर रहेका २ हजार बढी बालबालिका मध्ये झण्डै २ सय जना बालबालिकाले स्कुल पाएका छन् ।

एमईआईले आर्थिक विपन्नताका कारण समस्यामा परेका परिवारका बालबालिकालाई लक्षित गरी छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । विगत वर्षमा गरिब, अनाथ, असहाय, एकल आमा वा बाबु भएका, भूकम्प प्रभावित बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको एमईआईले शिक्षक तालिम र बालबालिकाको नियमित मनोरञ्जन तथा शैक्षिक भ्रमणमा पनि उत्तिकै ध्यान दिइरहेको भाइस प्रिन्सिपल राईले बताइन् ।

एमईआईका प्रिन्सिपल दार्जिलिङका हुन् भने भाइस प्रिन्सिपल काठमाडौं र कम्प्युटर टिचर पोखराका । स्थानीय शिक्षकहरूलाई विशेष प्राथमिकता दिएको एमईआईले स्थानीय पालिका तथा वडा कार्यालयसँग समेत समन्वय गर्दै आएको छ ।

भाइस प्रिन्सिपल राईले भनिन्, ‘पारिवारिक वातावरणका कारण विद्यार्थी तथा अभिभावक दुबै रमाएका छन्, सन्तुष्ट छन् । हामीले अतिरिक्त सिकाइ तथा पठनपाठनमा जोड दिएका छौँ । र, हाम्रो शिक्षण पद्धतिलाई अरूले पनि पछ्याउन थालेका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *