नयाँ वर्षको जाज्वल्यमान मध्यरात: सिड्नीको अनुभव – Nepal Press

नयाँ वर्षको जाज्वल्यमान मध्यरात: सिड्नीको अनुभव

धार्मिक आस्थाले ओतप्रोत भएका संसारभरका मानव जाति विभिन्न तवरबाट भगवानको भक्ति गर्छन् । कोही घरमै पूजाअर्चना गर्छन् त कोही मन्दिर, मस्जिद, चर्च आदिमा धार्मिक स्थलको दर्शन गर्न जान्छन् वा तीर्र्थाटनमा निस्कन्छन् । विश्वभर सांस्कृतिक आस्था र परम्पराका आधारमा विभिन्न पर्व तथा उत्सव मनाउने गरिन्छ । मेला, महोत्सवहरु आयोजना हुन्छन् । यस्तै कामहरूबाट मानिसहरूले भौतिक र आध्यात्मिक आनन्द लिन्छन् । भरपुर मनोरञ्जन प्राप्त गर्छन् र आफूलाई तरोताजा, सुरम्य र आल्हादित तुल्याउँछन् ।

यस्तै परम्पराअन्तर्गत मानिसले आआफ्ना नयाँ वर्ष पनि फरक फरक तवरबाट मनाउने गरेका छन् । नेपालमा बाहुन-क्षेत्रीलगायतका आर्यहरुले प्रत्येक वर्षको वैशाख १ गते तलाउ, जलाशय, नदीहरूमा गएर तथा नसकेकाहरूले घरमै स्नान गरी पूजाअर्चना गर्छन्, दान-दक्षिणा दिन्छन् । मंगोलहरू- मगर तामाङ, राई, लिम्बू, नेवार, थारूलगायतले आआफ्नै तिथिमितिमा नव वर्ष मनाउँछन् । तर, विश्वका अधिकांश देशहरूले ईश्वी संवतकाे  जनवरी १ लाई नव वर्षको रूपमा मान्ने गरेका छन् ।

नव वर्ष मनाउने क्रममा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतमा डिसेम्बरको अन्तिम रातको १२ बजे विशेष कार्यक्रमको आयोजना गरिन्छ । कार्यक्रमको प्रकृति देश विशेषका फरक फरक छन् । तीमध्ये धेरैजसो देशहरूमा रंगीबिरंगी प्रकाशपुञ्जले धर्ती र आकाशलाई झल्झलाकार पारेर मनाउने परम्परा छ ।

यसरी नयाँ वर्ष मनाउने क्रम सबैभन्दा प्रथम इराकको बेबिलोनिया शहरबाट शुरू भएको पाइन्छ । त्यतिबेलाको बेबिलोन निकै विकसित र सुसंस्कृत थियो । न्यूयोर्कको टाइम्स स्क्वायर, पेरिसको आइफेल टावर, लण्डनको लण्डन आई, दुबहीको वुर्ज खलिफा र अस्ट्रेलिया सिड्नी शहरको हार्बर ब्रिज विशेष उल्लेखनीय छन् । यी ठाउँहरूमा दशौं हजार मानिस जुटेर प्रकाशले झिलीमिली पारेर फायरवर्क गर्छन् । फायरवर्क हेर्न विभिन्न देशका पर्यटकसमेत यी स्थानमा आउँदा रहेछन् ।

नेपालमा बाहुन-क्षेत्रीलगायतका आर्यहरुले प्रत्येक वर्षको वैशाख १ गते तलाउ, जलाशय, नदीहरूमा गएर तथा नसकेकाहरूले घरमै स्नान गरी पूजाअर्चना गर्छन्, दान-दक्षिणा दिन्छन् । मंगोलहरू- मगर तामाङ, राई, लिम्बू, नेवार, थारूलगायतले आआफ्नै तिथिमितिमा नव वर्ष मनाउँछन् ।

सन् २०२३ को बिदाइ र २०२४ को आँगनको खुशीयालीमा मनाइने फायरवर्क हेर्न म पनि सिड्नी शहरमै भएकाले अवसर मिल्यो । सिड्नीमा भएका मेरा परिवार र नाता सम्बन्धहरू ३० जनाको समूह जुट्यो । हामीले हार्बर ब्रिजको कोणमा रहेको विशाल चौरमा प्रवेश पायौं । आयोजक छोरा, भतिज, भाञ्जाहरूले केही दिनअघि नै टिकट लिएका र गाडी पार्किङको व्यवस्था पनि गरिसकेकाले खास समस्या भएन । ९ बजे शुरु भएर १२ः३० मा सकिने उक्त फायरवर्क हेर्न ७ बजे निर्धारित स्थलमा पुग्यौं । हामीले ५-६ घण्टाको लागि चाहिने खानपिनको सामग्री, चौरमा बस्न दरी र बढी उमेर पुगेकालाई फोल्डिङ कुर्सीसमेतको व्यवस्था गरेर गएका थियौं ।

कार्यक्रम शुरु हुन २ घण्टाअघि नै पुग्नुको कारण चौरको अग्रभागमा सीट सुरक्षित गर्नु थियो । ५ः३० बजे प्रवेश खुला गरियो । सुरक्षाकर्मी र स्वयंसेवकहरुको बाक्लै उपस्थिति थियो । कडा सुरक्षा जाँचपछि हामी भित्र गयौं । हातमा बाँधिएको सुरक्षा डोरीमा १८ वर्ष पुगेकालाई अल्कोहल प्रयोग गर्न मिल्ने र त्योभन्दा मुनिकालाई कडाइका साथ निषेध रहेछ । अरु देशले के कस्तो प्रबन्ध गरेका छन् थाहा भएन, यहाँ सम्बन्धित काउन्सिल र नगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिँदोरहेछ । मनासिव माफिकको शुल्क तिरेरमात्र प्रवेश पाइँदोरहेछ । हामी प्रवेश गरेको विशाल चौरमा लगभग १० हजार जति दर्शक थिए । सबैतिर गरेर १० लाख दर्शकलाई सजिलै बस्न मिल्ने व्यवस्था रहेको कुरा एक जना अस्ट्रेलियली पत्रकारले बताउनुभयो ।

८ बजेतिर झमक्क साँझ पर्‍यो । तबसम्म उक्त चौर टनाटन भरिइसकेको थियो । दर्शकहरु आआफ्नो दरी र कुर्सीमा बसिसकेका थिए । दायाँ र बायाँ, थोरै ठाउँ छोडेर यसरी दरी छुट्याइएका थिए कि अगाडि बसेकाहरू पछाडि रहेको शौचालय जान, पानी पिउन जान र काउन्सिलको अनुमतिले उक्त पार्कभित्र खोलिएका खानपिनका दुकानसम्म आउजाउ गर्न कुनै अवरोध थिएन । एक-अर्को दर्शकलाई आउजाउ गर्न उक्त विशिष्ट दृश्य हेर्न बाधा नपुर्‍याउन सबैमा उच्च सतर्कता देखियो । हामी सुरक्षाको निम्ति लगाइएको सबैभन्दा अगाडि रहेको फलामको बारसँग करिब सटेर बसेका थियौं ।

एक जना चिटिक्क परेकी सुन्दरी गौराङ्गना युवती हामी भएछेउ आइन् । उनी निकै पछाडि बसिरहेकी रहिछन् र उनले पत्रकारिता गर्दिरहिछन् । करिब १५ मिनेटसम्म स्ट्याण्डसहितको ठूलो क्यामेराले छायांकन गर्नुरहेछ । उनले हाम्रै छेउमा तर हामीलाई खास बाधा नपर्ने गरी क्यामरा राख्न अत्यन्त विनम्र भएर अनुमति मागिन् । हामीलाई सहजै स्वीकार गर्‍यौं । पछि उनले हामीलाई धन्यवाद दिएर आफ्नो काम सकेर गइन् ।

हामी अगाडि बसेकाले पछाडि सबैजसो स्थान हेर्‍यौं । चौर पूरै सफा थियो । सुरक्षा व्यवस्थाबाहेक अरु सबै कुराको जिम्मा सम्बन्धित नगरपालिकाले लिएको बुझिन्थ्यो । सरकार, स्थानीय निकाय र नागरिकको समन्वयमा सबै कुरा व्यवस्थित गरिएको दृश्य हेर्दा मलाई हाम्रो देश सम्झेर ग्लानी महसुस भयो ।

रातको ९ बजे कास्टिङ दृश्यावलोकन गराइँदोरहेछ । हार्बर ब्रिजलाई चम्किलो नीलो रंगले आकृत गरियो । बृज निकै नीलाकारको निकै आकर्षक देखियो । केही समयपछि नीलो रंगलाई रातो रंगले विस्थापित गरियो । त्यसलाई पनि केही समयपछि हराएर इन्द्रेणी रंग धपक्क पारियो । ठूलो आवाज विस्फोट गराइयो र विस्फोटनपछि सात वटै रंगले बृज वरिपरि र माथि झल्झलाकार प्रकाशपुञ्ज प्रक्षेपण गरियो । करिब १५ मिनेटसम्म यो क्रम जारी रह्यो । उक्त दृश्य निकै चित्ताकर्षक र मनमोहक थियो । ठीक १२ बजे यसै क्रमलाई सविस्तार पौने घण्टासम्म दोहोर्‍याइयो ।

पृथ्वी र आकाश झलमल्ल पारी त्यो विशाल चौरमा छरिएर बसेको त्यति ठूलो जनसमुदायले वेलावेलामा रमाएका आवाज निकाल्नु सिवाय अरू अनावश्यक होहल्ला केही थिएन । कोही उठ्ने, चल्मलाउने गरेको पनि देखिएन । वातावरण निकै रोमाञ्चकारी थियो । विभिन्न उमेर समूहका सयौं जोडी आलिङ्गन र चुम्बनमा रमाएका थिए । सायद रमको रमरमले उनीहरु बढी नै मदहोस थिए । वास्तवमा त्यो मध्यरात निकै जाज्वल्यमान थियो । संस्कृतका प्रसिद्ध कवि भारवीले भनेका छन्, ‘क्षणे क्षणे यन्नवतामुपैति तदेव रूपम् रमणयिताया’ । अर्थात, ‘क्षण-क्षणमा देखिने नयाँपन नै रमाइलोको वास्तविक स्वरूप हो ।’ कविले भने जस्तै रमाइलोको अनुभूति हामीलाई भइरहेको थियो ।

यी देशहरूमा रात्रिकालीन यस्ता भव्य उत्सवलाई कसरी दर्शकमैत्री बनाएर व्यवस्थित गरिन्छ ? यो पाटोमा विश्लेषण नगर्ने हो भने यो आलेखले सायद पूर्णता पाउँदैन भन्ने लागेर व्यवस्थापकीय पक्षमाथि प्रकाश पार्ने जमर्काे गरेको छु ।

५ घण्टा बसाइको क्रममा ८ः३० बजे र ११ः३० बजे पिसाब गर्न त्यहाँको शौचालयमा गएँ । एक-दुई शौचालय पक्की थिए । ती पार्क घुम्न दिनहुँ आउनेहरुका लागि स्थायी हुन् भन्ने बुझिन्थ्यो । तर, त्यस दिन पुरुष, महिला र अपाङ्गहरुका लागि बेग्लाबेग्लै व्यवस्था गरिएका करिब ५० वटा अस्थायी शौचालय थिए । शौचालय सफासुग्घर र पानीको सुविधायुक्त थिए नै । शौचालयको सरसफाइलाई व्यवस्थित गर्न आवश्यक संख्यामा स्वयंसेवक खटिएका थिए । म ३ घण्टापछि ११ः३० मा जाँदा पनि शौचालय उस्तै सफासुग्घर थियो । सफाइप्रतिको सजगता र वैज्ञानिक व्यवस्थापन देखेर म दङ्ग परें ।

काठमाडौंमा मेरो घर अगाडि बिहानपख कसले कुकुरलाई ल्याएर दिसा गराउँछ थाहा छैन । तर, पचासौं पटक बेल्चाले सोहोरेको छु । मैले कक्षा ९ मा नागरिकशास्त्र पढ्नुपर्थ्यो । प्रध्यापकले वारम्बार भन्ने गर्नुहुन्थ्यो, देश विकसित, सभ्य र सुसंस्कृत हुन् सरकार र अन्य निकायहरूले गरेर मात्र हुँदैन, नागरिकमा नागरिक सचेतना चाहिन्छ । मैले पाठ सम्झें, गुरुलाई सम्झें ।

पचासौं मानिसले एकै पटकमा पानी पिउन सक्ने गरी खानेपानीको व्यवस्था थियो । खाना, नास्ता र पेयपदार्थ सहजै किन्न सक्ने गरी नगरपालिकाबाट अनुमति प्राप्त पर्याप्त स्टल थिए । हामीले पाँच घन्टा लामो बसाइको क्रममा दुई पटक खानपिन गर्‍यौं । खाना खाएर सादा खाना लगेको भाँडो, पेपर प्लेट, पेपर ग्लास, पानी र मदिराजन्य केही वोटल असरल्ल परेका थिए । हाम्रा युवा संयोजकले दुवै पटक फोहोरको एउटा टुक्रा पनि नदेखिने गरी सफा र सिनित्त पारेर बिनमा राखिदिए ।

हामीले दरी ओछ्याउँदा चौर जति सफा थियो, अलिकति माडिएकोबाहेक अन्त्यसम्म शुरुकै अवस्थामा रहेको थियो । हामी अगाडि बसेकाले पछाडि सबैजसो स्थान हेर्‍यौं । चौर पूरै सफा थियो । सुरक्षा व्यवस्थाबाहेक अरु सबै कुराको जिम्मा सम्बन्धित नगरपालिकाले लिएको बुझिन्थ्यो । सरकार, स्थानीय निकाय र नागरिकको समन्वयमा सबै कुरा व्यवस्थित गरिएको दृश्य हेर्दा मलाई हाम्रो देश सम्झेर ग्लानी महसुस भयो । त्यसो त यस्तै ग्लानी मलाई २०२१ नोभेम्बरमा लण्डनको फुटपाथमा र २०२३ को नोभेम्बरमा सिड्नीको पार्क घुम्न जाँदा पनि भएको थियो ।

लण्डनमा म मेरो घरमा मर्निङ वाकमा फुटपाथमा निस्कँदा पल्लो किनारको फुटपाथमा अजङ्गको कुकुर डोर्‍याउँदै करिब ८०-८५ वर्षका बुढो मानिस हिँडिरहेका थिए । कुकुरले दिसा गर्‍यो । यहाँ पनि त हाम्रो देशमा झैं बाटोमा घरको अगाडि दिसा गराउँदा रहेछन् । रोकिएर हेरें । बुढा मानिसले एउटा हातले डोरी समाते, अर्को हातले जकेटबाट प्लास्टिक झिकेर दिसा सोहरेर लिएर हिँडे उपयुक्त बिनको खोजीमा । त्यस्तै दृश्य सिङ्नी पार्कमा पनि देखें । काठमाडौंमा मेरो घर अगाडि बिहानपख कसले कुकुरलाई ल्याएर दिसा गराउँछ थाहा छैन । तर, पचासौं पटक बेल्चाले सोहोरेको छु । मैले कक्षा ९ मा नागरिकशास्त्र पढ्नुपर्थ्यो । प्रध्यापकले वारम्बार भन्ने गर्नुहुन्थ्यो, देश विकसित, सभ्य र सुसंस्कृत हुन् सरकार र अन्य निकायहरूले गरेर मात्र हुँदैन, नागरिकमा नागरिक सचेतना चाहिन्छ । मैले पाठ सम्झें, गुरुलाई सम्झें ।

हाम्रा पर्व र उत्सवहरूलाई गौरवपूर्ण, भव्य र सुसंस्कृत बनाउन चाह्यौं भने हामी पनि अवश्य सक्छौं । आआफ्ना पर्वहरुलाई ग्लोरीफाइ गर्नु हाम्रो कर्तव्य पनि हो । यसका लागि हामीसँग सकारात्मक सोच, प्रतिबद्धता र व्यवस्थापनका निम्ति थोरै र अत्यावश्यक स्रोत र साधन भए पुग्छ । हामी नेपालीहरू २०८० साललाई बिदा गरेर २०८१ सालमा प्रवेश गर्दैछाैं । हामीसँग राजधानीको धरहरा छ र भुईंं मान्छेहरूको विकासलाई बेवास्ता गर्दै फेसनकै रूपमा देशभर बनाइएका सयौं भ्यूटावर छन् । हामीले पनि ती ठाउँहरूलाई प्रकाशपुञ्जले झकिझकाउ पारेर उज्यालो र संगीतमय वातावरणमा २०८० लाई बिदाइ र २०८१ लाई स्वागत गरे कसो होला ? विदेशका सबै कुरा अनुशरण गर्नैपर्छ भन्ने मेरो मान्यता होइन । तर, आफ्नो परम्परा र संस्कृतिलाई बढावा दिने सन्दर्भमा अन्य देशका राम्रा अभ्यास र अनुभवहरुबाट सिक्नु गलत किमार्थ हुनेछैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *