पर्यटन उद्योगको विकासका लागि कानूनी तथा नीतिगत तहमा उच्च महत्व दिन आग्रह – Nepal Press

पर्यटन उद्योगको विकासका लागि कानूनी तथा नीतिगत तहमा उच्च महत्व दिन आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकिरहेको बताए ।

उनले राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउनुपर्ने बताए । युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नुपर्नेमा जोड दिदै उनले त्यसको सुरुवात नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउनु पर्ने बताए । निर्माण सम्पन्न भएका तर संचालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि संचालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उनको भनाइ थियो ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ्गले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग संचालन हुन नसकेको भन्दै यसको सफल संचालनका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले यूरोपसँगको सिधा हवाई सम्पर्क पुनः जोड्न के कस्ता उपाय अबलम्बन गर्नुपर्छ, सुझाव दिन आग्रह गरे ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले पर्यटन कम लगानीमा धेरै प्रतिफल हासिल गर्न सक्ने क्षेत्र रहेको बताए । सभापति यादवले पर्यटन क्षेत्रको विकास, यसबाट लाभ लिन निजी क्षेत्रबाट सामूहिक रुपमा स्पष्ट सुझाव आउनुपर्नेमा जोड दिए ।

सांसद उदय शंशेर राणाले प्राधिकरणको सुधारका सम्बन्धमा आइकाओले दिएको प्रतिबेदन समितिले माग्दा ९ महिनासम्म नपाएको बताए । उनले नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डको सुधारका लागि समितिले उपसमिति बनाएर विस्तृत रुपमा अध्ययन गर्न लागेको जानकारी गराए ।

सांसदहरु एकनाथ ढकाल, डा। धवल शंशेर राणा, शिशिर खनालले पर्यटन क्षेत्रको समस्या र समाधानका लागि स्पष्ट सुझावका लागि निजी क्षेत्रलाई आग्रह गरे ।

कार्यक्रममा सांसद सुनिता बराल, पर्यटन सचिव डा। दिपक काफ्ले, सहसचिव गोबिन्दबहादुर कार्की, नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकाल, सीएनआई पर्यटन समिति सभापति पम्फा धमला, पर्यटन बोर्ड संचालक समितिका सदस्यहरुलगायत विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर