‘डिग्री माइला’की डिग्री होल्डर हिरोइन
काठमाडौं । चलचित्र क्षेत्रमा कलाकारहरुको अभिनयमा दक्षता हुनसक्ला । जीवन्त अभिनय गरेर दर्शकलाई मोहित बनाउन सक्ने क्षमता हुनसक्ला । वा अभिनयमा कमजोर भएका कलाकार पनि होलान् । कतिपय कलाकार कमजोर अभिनयका कारण दर्शकबाटै आलोचित समेत हुने गरेका छन् ।
तर, चलचित्र क्षेत्रमा पढेका कलाकारहरु भने भेटिन मुस्किल छ । पढेका मान्छे खोज्ने नै हो भने पनि औंलामा गन्दा सकिन्छन् । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको ‘डिग्री माइला’को एक पत्रकार सम्मेलनमा निर्देशक रामबाबु गुरुङले डिग्री पढ्ने सपना बुनेर ‘डिग्री माइला’ बनाएको बताएका थिए ।
उनले भनेका थिए, ‘कलेज पढ्ने भन्ने छुट्टै सपना थियो । तर डिग्री पढ्छु भन्ने सपना त्यतिबेला थिएन । किनभने पढाइमा रुचि कम थियो । बरु विद्यार्थी संगठनमा, राजनीतिमा, त्यहाँको आन्दोलनमा गइयो ।’
दयाहाङले पनि कला साहित्यले आकर्षण गरेकाले पढाइ यतिकै छाडेको बताएका थिए । तर, ‘डिग्री माइला’को टीममा अभिनेत्री आँचल शर्मा भने अपवाद हुन् । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत के एण्ड के कलेजबाट जेण्डर स्टजिडमा मास्टर डिग्री गरेकी छन् ।
सन् २०२२ मा मास्टर डिग्री सकाएकी आँचल पढाइलाई लिएर भन्छिन्, ‘कुनै पनि कुराको ज्ञान हुनु आफैंमा बेफाइदा कहिल्यै हुँदैन । कम्तीमा दुई प्रतिशत भए पनि केही न केही सिकिन्छ ।’ तर, समाजले सर्टिफिकेटले अनावश्यक रुपमा ठूलो बनाइदिएको र पढेर मात्रै मान्छे ज्ञानी हुन्छ भन्ने विश्वास आफूमा नरहेको उनले बताइन् ।
‘मैले त्यस्ता हजारौं मान्छे भेटेकी छु, जो केही कुरा बुझ्दै बुझ्दैनन् । जो सिभिलाइज्ड नै हुँदैनन् । कोहीकोही त्यस्ता मान्छे पनि भेटेकी छु, जोसँग केही नपढीकनै धेरै कुराको ज्ञान हुन्छ’, आँचल भन्छिन्, ‘पढाइ महत्वपूर्ण छ । कलेज, युनिभर्सिटी गएरै पढ्नुपर्छ भन्ने म मान्दिनँ । तर पढ्यो भने केही कुरा चाहिँ सिकिन्छ ।’
पढाइले थोरै भए पनि विचारमा, दृष्टिकोणमा बदलाव आउने कुरामा विश्वास गर्छिन् आँचल । तर, कलाकारितामा लागेपछि धेरै मान्छेले पढाइलाई सँगै लिएर जान गाह्रो हुने भएकाले आँचलको सुझाव छ, ‘मेरो पनि सुटिङ कहिले कहाँ पर्थ्यो, कहिले कहाँ । नियमित कलेज गइरहन भ्याइनँ । तर, मलाई लाग्छ, जे काम गर्नुहुन्छ, सय प्रतिशत त्यो कामलाई दिनुस् । अभिनय गर्ने मान्छेले थिएटर जानु भनेको पढ्नु नै हो । किताबकै किरा हुनुपर्छ भन्ने म मान्दिनँ ।’
चलचित्र क्षेत्रमा पनि मान्छेहरुसँग भेटघाट हुँदा स्क्रिप्ट कस्तो छ ? कसरी काम गर्नुहुन्छ ? लगायत सोधिने भएकाले कति पढेका छन् भनेर सर्टिफिकेटको भरमा कसैको मूल्यांकन गर्ने कुरा नआउने शर्मा बताउँछिन् ।
नेपाल प्रेससँगको कुराकानीमा आँचलले ‘डिग्री माइला’को अनुभव पनि शेयर गरिन् । दयाहाङसँग काम गर्दाको अनुभूति बताइन् । ‘नाइ नभन्नु ल’ सिरिजबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी आँचलले थिएटरमा काम गरेका कलाकारसँगको अनुभूति बेग्लै भएको बताइन् ।
‘थिएटरतिर काम गर्ने कलाकारले पात्रमा बढी नै ध्यान दिएको पाएँ मैले । हामी त दुई महिना वर्कसप मात्रै गर्छौ’, आँचल भन्छिन् ।
हामीले सोध्यौं, थिएटरमा काम गरौं, सिकौं लाग्दैन ?
आँचल भन्छिन्, ‘अहिले आएर चाहिँ थिएटर गर्ने कुरा निकै गाह्रो लाग्छ । समय छुट्याऊ, फेरि पढ । थिएटरबाट आउनुभएका दाइहरुलाई अभिनयको प्राक्टिकल र थ्योरी पनि राम्रोसँग थाहा हुन्छ । त्यो कुरा नयाँ पात्रमा निकाल्न सक्नुहुन्छ । हामी पात्रलाई लिएर केही समय हिँडेपछि त्यसलाई बिर्सिदिन्छौं ।’
थिएटरबाट नआएका कलाकारले चाहिँ पात्रमाथि राम्रोसँग काम गर्न नसक्ने हो र ?
थिएटरबाट नआएका कलाकारले पनि राम्रो गर्न सक्नुहुनछ । तर, दुई महिनाको वर्कसप र दशौं वर्षको पढाइ फरक हुन्छ । थिएटरमा उहाँहरु दिनै त्यही माहौलमा बसेर भिज्नुहुन्छ । दुई महिना डान्स सिकेको मान्छे र दशौं वर्ष डान्स सिकेको मान्छेमा फरक हुन्छ । थिएटरबाट आउनुभएकाहरुलाई बेसिक थाहा हुन्छ । हामीलाई गाह्रो हुन्छ । हामी एउटा पात्रमाथि बुझ्छौं, बिर्सिदिन्छौं । उहाँहरुले भने पात्रमा आफूलाई ढाल्ने भन्दा पनि आफ्नो जीवनमा त्यो पात्रको शैली नै ढालिसक्नुभएको हुन्छ ।
थिएटरमा जाऊँ जस्तो कहिलेकाहीँ लाग्दैन तपाईंलाई ?
जाँदा एकदमै राम्रो कुरा हो । जानेको कुराले बेफाइदा कहिल्यै गर्दैन । समय मिल्यो भने अझैं पनि जाँदा धेरै राम्रो हो ।
खासमा ‘डिग्री माइला’ कस्तो फिल्म हो ?
जहिल्यै पनि हाम्रो अरुलाई दोष दिने बानी छ । अरुमाथि औंला उठाउने बानी छ । तर, हामीलाई आफ्नो कमजोरी सच्याउन आउँदैन । राजनीतिकै कुरा गर्नुस् न, फलानोले यसो गरिदिनुपर्ने, फलानोले देश बनाइदिनुपर्ने भन्छौं । तर, हाम्रो तर्फबाट खै त योगदान ?
हामी अर्काको चिजबिज औंल्याइदिन सिपालु छौं । डिग्री माइलामा माइला किन घमण्डी भयो ? उसको अहम किन सृजना भयो ? यो समाजले उसको अहम त्यहाँ पुर्याउन कति इँटा थप्यो ? माइला त्यस्तो हुनुमा कतै न कतै हामी पनि दोषी छौं ? यो फिल्म सटायरिकल छ । अलिकति समाजलाई व्यंग्य हानेको छ । धेरैजसो हामीलाई नै व्यंग्य छ ।
तपाईंले चाहिँ वास्तविक जीवनमा घमण्डी, सन्काहा मान्छे भेट्नुभएको छ कि छैन ?
भेटेकी छु । घटना त नभनौं । तर, ती घटना सम्झदा के सोच्छु भने त्यो घमण्डको सृजना कहाँबाट भयो त ? त्यो मान्छेको स्कुलिङ नै त्यस्तै भयो कि ? समाजले नराम्रो घटना घटाएर पो त्यस्तो भयो कि ? यी सबैको पछाडि कारण छ नि त । हामी मान्छेलाई औंल्याउने होइन, कारण खोज्नतिर लाग्नुपर्छ ।
मैले ठूल्ठूला गफ दिने मान्छेहरु भेटेकी छु । अगाडि बसेर ठूल्ठूला गफ दिइरहेका हुन्छन् । तर, मलाई थाहा भइसकेको हुन्छ, त्यो गफ हो भनेर । ए अँ अँ भन्दिन्छु । टाउको हल्लाइदिन्छु । त्यस्तो मान्छेसँग मुस्किलले पाँच मिनेट मात्रै बस्न सक्छु । मलाई गफ हानेको हो भनेर थाहा नहुँदासम्म सुन्न मजा आउला । तर, जब गफ हो भनेर थाहा हुन्छ, अनि सुन्नै मन लाग्दैन ।
त्यस्ता मान्छेलाई सुझाव दिनुहुन्न ?
हामी यस्तो संसारमा बाँचेका छौं, हामीलाई कसैले नराम्रो भन्यो भने हामी सुन्न पनि चाहँदैनौं । हामीलाई कसैले केही औंल्याइदियो भने बुझ्न पनि चाहँदैनौं । यतिका वर्ष गफ गरेर आएको मान्छेलाई मैले दुई मिनेट सम्झाउँदा परिवर्तन हुने कुरा होइन । त्यसका लागि निज व्यक्तिलाई नै सेल्फ रियलाइजेसन हुनुपर्छ ।