दिशा हराएको नेपाली राजनीति – Nepal Press

दिशा हराएको नेपाली राजनीति

सैद्धान्तिक दृष्टिकोणबाट राजनीतिलाई सबै नीतिहरूको मूल नीति मानिन्छ । तर, आधुनिक अर्थ व्यवस्थाको उदयसँगै राजनीतिमाथि अर्थ राजनीति हाबी भयो । राज्यहरूलाई राष्ट्रिय हितको प्रवर्द्धनकारी संस्थाभन्दा बढी बजार एकाधिकारको संरक्षकको रूपमा विकास गरियो । अर्थ राजनीतिले भूराजनीतिलाई जन्म दियो र संरक्षणसमेत गरिरहेको छ । खासगरी अ‍ैद्योगिक क्रान्तिपछि संस्कृतिमाथिसमेत बजार हाबी भयो । त्यसैको ज्वलन्त उदाहरण हो छिमेकी भारतमा सन् १६०० को दशकमा व्पापार गर्नका लागि पसेको इष्ट इन्डिया कम्पनी सन् १९४७ सम्म आइपुग्दा राजनीतिक शक्ति बनिसकेको थियो र त्यसले भारत र भारतसँग सम्बन्ध जोडिएका मुलुकको संस्कृतिमाथिसमेत निर्मम प्रहार गर्‍यो ।

पछिल्लो समयमा राजनीति आफ्नो गन्तव्यविहीनतामा छट्पटाइरहेको छ । समृद्धि हासिल गरेका भनिएका मुलुक आर्थिक समृद्धिपछि के त भन्ने प्रश्नको भुमरीमा परिरहँदा अधिकांश मुलुकले आफ्नो पहिचान र परिचय खोज्दै छन् । संस्कृति वा राष्ट्रवादतर्फ उनीहरू उत्तेजनापूर्वक अग्रसर छन् । इतिहासमा आर्थिक साम्राज्य फैलाएकाहरू आज संस्कृति वा राष्ट्रियताको पुनः उत्थानको उत्तेजनामा सांस्कृतिक साम्राज्यवादतर्फ उन्मुख भइरहेका छन् । परिणामस्वरूप नेपालजस्ता विकासोन्मुख वा अति कम विकसित मुलुकहरू एकैपटक आर्थिक र सांस्कृतिक साम्राज्यवादको भूमरीमा परिरहेका छन् । साथै पुँजीवादी व्यवस्थाले खडा गरिदिएको वस्तुको मूल्य (महत्व वा आवश्यकताको आधारमा निर्धारित) र त्यसको दाम (नियन्त्रित बजार निर्धारित) को असामञ्जस्यताको भुमरीमा परेर विकासोन्मुख र अति कम विकसित मुलुकहरूले आफ्ना साधनस्रोतको उपयोगसमेत गर्न सकेका वा पाएका छैनन् ।

नेपालले भूराजनीतिक स्वार्थहरूलाई सन्तुलनमा राख्न नसक्नुको कारण साझा राष्ट्रिय हित यकिन गर्न नसक्नु हो जसका कारण सत्तासीन व्यक्ति, दल र समूहहरूले आफ्नो स्वार्थको मात्र रक्षा गर्दछन् । यो राजनीतिक असफलताको एउटा उदाहरण हो ।

नेपालको सन्दर्भमा हेर्दा राजनीति एउटा गम्भीर चक्रमा जेलिएको छ । राज्य प्रभावकारी हुनका लागि राज्यले जनताहरूको सामूहिक हितको संरक्षण र प्रवर्द्धन गर्नुपर्दछ तर सामूहिक हित के हो भन्ने नै अन्यौल हुँदा राज्यले कार्य आरम्भ गर्नै सक्दैन । त्यसैलाई राजनीतिकर्मीहरूको भाषामा राष्ट्रिय हित भनिएको छ तर राष्ट्रिय हित के हो भन्ने साझा धारणा निर्माण हुन सकिरहेको छैन जुन सामाजिक द्वन्द्वको प्रमुख कारण बनिरहेको छ । सामूहिक हित निर्क्योल गर्नका लागि ऐतिहासिक विकासक्रमलाई हेर्नुपर्ने हुन्छ । पौराणिक इतिहास सुनौलो भएतापनि पछिल्लो पाँचसय वर्षलाई हेर्ने हो भने क्रमश: वैदेशिक प्रभाव र हस्तक्षेप बढेको पाइन्छ । आजको दिनमा नेपालले अँगिकार गरेको शिक्षा, स्वास्थ्य, अर्थ, लगायत व्यवस्था र शासन प्रणालीसमेत विदेशी प्रभावमा निर्माण भएको छ ।

अहिले नेपाल पुनः राजतन्त्रात्मक मुलुक हुनुपर्छ भन्ने बहस जबर्जस्ती छेडिदैँछ । राजधर्म पालना नगर्ने व्यक्ति राजा हुन सक्दैन र राजाको पदमा गद्दीशीन व्यक्तिहरूले उहिल्यै राजधर्म छाडिसकेको हुनाले राजतन्त्र त्यतिबेलै राजाहरूको कर्म वा अकर्मण्यताले नै लोप भैसकेको थियो । अहिले राजतन्त्र ढालेर गणतन्त्र ल्याएको भनी गलत भाष्य थोपरेर गणतन्त्रवादीहरू राजाजस्तै हुन खोजिरहेका छन् तर ती व्यक्तिहरूले पनि राजा हुन पहिले राजधर्मको पालना गर्नुपर्छ भन्ने बिर्सिरहेका छन् । राष्ट्रपतिलाई राष्ट्रपति भनौं वा निर्वाचित राजा, सारमा फरक पर्दैन तर चुरो कुरो ती व्यक्तिहरूले राजधर्मको पालना गरे कि गरेनन् भन्ने हो र यही विषय नै नेपाली राजनीतिको मूल जड हो । नेपाली राजनीति र नेपाल राज्यको समस्याहरूको पहिचान र समाधान गर्ने हो भने गोश्वारा समृद्धिको कुरा गरेर हुँदैन । अवस्था र समस्यालाई विशिष्टिकृत गरी त्यसको समाधानका लागि ठोस कदम चाल्नुपर्ने भएकाले निम्नानुसार विषयगत संक्षिप्त चर्चा गरिएको छ जसको आगामी दिनहरूमा एक एक गरी विस्तृत चर्चा गरिनेछ ।

सामाजिक सांस्कृतिक

नेपाल राष्ट्रको ऐतिहासिक निर्माणक्रममा सांस्कृतिक आयाम मूल आयाम भए पनि नेपाल लामो समयदेखि सांस्कृतिक विश्रृखंलताको भुमरीमा परेको छ । पछिल्लो समयसम्म आइपुग्दा संस्कृति विदेशीलाई देखाएर रूपैयाँ आर्जन गर्ने सेवा उद्योगमा रूपान्तरण भएको छ । यही मनोविज्ञानबाट प्रेरित भएर मन्त्रालय गठन गर्दासमेत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय गठन गरिएको छ । संस्कृति मानवीय जीवनको भिन्न आयाम नभई जीवनशैली हो जसले मानिसको सोंचदेखि पूर्वाधार निर्माणसँगै राष्ट्रनिर्माणमा भूमिका खेल्दछ । नेपालको अस्थित्वको एउटै आधार संस्कृति हो र संस्कृतिको एउटै आधार जनसंख्या हो । त्यसैले मन्त्रालय गठनमै पुनः विचार गरी जनसंख्या तथा संस्कृति मन्त्रालय निर्माण गर्नुपर्दछ र सांस्कृतिक पुनः जागरणको अभियान थाल्नु पर्दछ ।

आर्थिक

अर्थतन्त्र राजकीय शक्ति र सार्वभौमशक्तिको मेरुदण्ड हो । यद्यपि अर्थलाई पछिल्लो अवस्थामा जबर्जस्ती मुद्दाकी पर्यायवाची बनाउन खोजिएको छ । सामान्यतः धनी देशहरूको अर्थतन्त्रमा नागरिकहरूले उत्पादन वा सेवा मार्फत धन आर्जन गर्दछन् र त्यसको निश्चित प्रतिशत राज्यलाई दिन्छन् । त्यसैले पृथ्वीनारायण शाहले प्रजा मोटा भए राष्ट्र बलियो हुन्छ भन्नुभएको थियो तर नेपाली अर्थतन्त्रको परिप्रेक्ष्यमा नागरिकबाट करको नाममा आर्थिक शोषण गरेर राजकीय पद वा प्रभावमा रहकाहरूले मोजमस्ती गरिरहेका छन् । उदाहरण, नुन, चामल, सिटामोल खान नपाउने जनताले नेताको विदेशमा उपचार गराइरहेका छन्, करोडौंका गाडीमा सवारी गराइरहेका छन्, आदि । नेपाली अर्थतन्त्र मगन्ते ग्याङ्गजस्तो बनेको छ, संघीय सरकारले विदेशीसँग माग्ने, प्रदेश र स्थानीय तहले संघसँग माग्ने, टोले नेताहरूले स्थानीय तहसँग माग्ने, जनताले टोले नेतासँग माग्ने ।

भूराजनीति र बाह्यशक्ति

सबै देशहरूमा भूराजनीतिक प्रभाव हुन्छ । नेपाल बलियो हुँदा नेपालले विदेशी राजनीतिमा हस्तक्षेप गर्दथ्यो जसको एउटा सानो उदाहरण भारतमा भएको सिपाही विद्रोहमा नेपालले खेलेको भूमिका हो र नेपाल कमजोर हुँदा विदेशीहरू नेपाली राजनीतिमा हस्तक्षेप गर्दछन् । भूराजनीतिलाई सधैँभरी सन्तुलनमा राख्नुपर्ने हुन्छ । बाह्यशक्तिको हस्तक्षेप आधुनिक राजनीतिमा संसारभरी नै हुन्छ । विकसित देशहरूको निर्वाचनमासमेत अर्को देशले आफूले इच्छाएको उम्मेदवार वा दललाई सहयोग गर्ने चेष्टा गर्दछ । भूराजनीति र बाह्यशक्तिले एउटा हैसियतमा पुगेपछि प्रभाव बढाउदै लैजान्छन् र संवेदनशीलता अझै बढ्छ तर नाकामा बसेर भारतबाट फर्किने नेपालीहरूसँग वा अदालतमा मुद्दा मिलाइदिन्छु भनेर वा अन्य कुनै वहानामा रकम असूली गर्न वा शिक्षकलाई कक्षा कोठमामा नपढाउन वा सरकारी डाक्टरलाई सरकारी अस्पतालमा बिरामी नजाँच्न भूराजनीति र बाह्यशक्तिले उक्साएको होइन । नेपालले भूराजनीतिक स्वार्थहरूलाई सन्तुलनमा राख्न नसक्नुको कारण साझा राष्ट्रिय हित यकिन गर्न नसक्नु हो जसका कारण सत्तासीन व्यक्ति, दल र समूहहरूले आफ्नो स्वार्थको मात्र रक्षा गर्दछन् । यो राजनीतिक असफलताको एउटा उदाहरण हो ।

राष्ट्रपतिलाई राष्ट्रपति भनौं वा निर्वाचित राजा, सारमा फरक पर्दैन तर चुरो कुरो ती व्यक्तिहरूले राजधर्मको पालना गरे कि गरेनन् भन्ने हो र यही विषय नै नेपाली राजनीतिको मूल जड हो । नेपाली राजनीति र नेपाल राज्यको समस्याहरूको पहिचान र समाधान गर्ने हो भने गोश्वारा समृद्धिको कुरा गरेर हुँदैन ।

कानून

संस्कृतमा धर्मो रक्षति रक्षितः भनेझैं अहिलेको अवस्था कानूनको रक्षा गर्ने हो भने मात्र कानूनले रक्षा गर्छ भन्ने हो । कानून केही पाश्चात्य दार्शनिकहरूले भने झैं शासकको आदेश होइन । कानून, मानवीय जीवनशैली र प्रकृतिको बीचमा तादम्यता हुनुपर्दछ । नेपालले बनाएको संविधान तथा ऐनहरूले नेपाली समाजको मौलिकतालाई प्रतिबिम्बित गर्दैनन् । नेपालीहरूको जीवनदर्शन र जीवनशैली कानूनी दर्शनसँग मेल खान नसकिरहेकाले नै कानून निर्माण र कार्यान्वयनमा नेपाल असफल भइरहेको छ र समग्र समाज नै संकटोन्मुख छ । नेपालको विकास र समृद्धिलाई लयमा ल्याउन कानून र न्यायको क्षेत्रमा व्यापक सुधार गर्नु आवश्यक छ ।

राजनीति र राजनीतिक दल

आधुनिक समाज व्यवस्थामा राजनीतिक दलहरूको अस्थित्वलाई अस्वीकार गर्न सकिदैन । तर, नेपालको परिस्थिति मानिसहरूले भनेजस्तो राजनीति धेरै भएको अवस्था होइन । बरु नेपालमा राजनीतिको सुरूवात नै भएको छैन । राजनीतिक दल नामका समूहहरूले गरिरहेको गतिविधि राजनीतिकभन्दा पनि आपराधिक र एकाधिकारवादी बढी छन् । राजनीतिक दलका गतिविधिहरू राजनीतिक छैनन् र तिनले आफ्ना सदस्यहरूलाई राष्ट्र निर्माणको कार्यमा संलग्न गराउन सकेका छैनन् । मूलतः ऋषिमुनि, तपस्वीहरूको यस ज्ञानभूमिमा आफ्नो मौलिकतालाई तिलाञ्जली दिएर दूर समाजको नीतिलाई जबर्जस्ती राजनीतिमा स्थापित गर्न खोज्दा ती असफल भइरहेका छन् । राजनीति गर्ने हो भने अब समाज सापेक्ष वस्तुनिष्ठ मौलिक नीतिहरूमाथिको रचनात्मक विचार विमर्श सुरू गर्नु पर्दछ ।

आजको दिनमा नेपाली राजनीति यस्तो मोडमा आइपुगेको छ जहाँ स्वयं नेतृत्वको अथाह चाहना छन् तर उद्देश्य र गन्तव्य छैन । दार्शनिक स्पष्टता छैन । त्यसैले नेतृत्वले एउटा एउटा फण्डाको सिर्जना गरिरहन्छ र जनता अलमलाइरहन्छ । नेपाली राजनीतिलाई आजको दिनमा सही दिशानिर्देश चाहिएको छ जसका लागि प्रत्येक जनताले आफ्नो अस्थित्व र विवेक पहिल्याउनुपर्ने भएको छ । जसरी आज नेपाली राजनीति दिशाहीन भएर विदेशीको इशारामा चलिरहेको छ, त्यसलाई सही दिशामा ल्याउन हामीले जीवनशैलीमा परिवर्तन ल्याउन आवश्यक छ तर त्यसका लागि सार्वजनिक पूर्वाधार, सामाजिक संस्था, कानून र शासन प्रणालीमा व्यापक सुधारको गृहकार्य आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *