यती एअरलाइन्सको नयाँ वर्ष योजना : २ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उडान – Nepal Press

यती एअरलाइन्सको नयाँ वर्ष योजना : २ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उडान

काठमाडौं । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा यती एअरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ ।

सामाजिक सञ्जालहरुमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरुलाई यतीले हवाई भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो ।

हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एअरलाइन्स मार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यती एअरलाइन्सले जानकारी दिएको छ । हाल एअरलाइन्सहरुले २४ महिनासम्मका शिशुहरुको उडानमा सेवा शुल्क लिंदै आएका छन् ।

यात्रुहरुलाई सुखद उडान यात्राको अनुभव दिन बच्चाहरुको हवाई भाडामा शतप्रतिशत छुट गरिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरुका लागि वैशाख १, २०८१ देखि सीमित समयको लागि लागू गरिएको छ ।

यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरुले यती एअरलाइन्सको चेक—इन काउण्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनु पर्नेछ । यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरुका लागि विशेष काउण्टरमार्फत सेवा दिँदै आइरहेको छ ।

हाल यती एअरलाइन्सले ७ वटा एटिआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४००० भन्दा धेरै यात्रुहरुलाई सेवा दिंदै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर