नयाँ वर्ष चहलपहल : ठमेल-पाेखरामा ८० प्रतिशत होटल बुकिङ – Nepal Press

नयाँ वर्ष चहलपहल : ठमेल-पाेखरामा ८० प्रतिशत होटल बुकिङ

काठमाडौं । नयाँ वर्ष २०८१ मा देश तथा विदेशबाट आउने पर्यटकहरुले होटल व्यवसायहरुको राम्रो व्यापार बढाउने संकेत गरेको भन्दै व्यवसायीहरु आशावादी देखिएका छन् ।

काठमाडौं तथा पोखराजस्ता पयर्टकीय नगरहरुमा एक साता अगाडिदेखि नै नयाँ वर्षको चहलपहल बढेको देखिएसँगै व्यवसायीहरु आशावादी भएका हुन् ।

विगतमा वर्षहरुका तुलनामा यस नयाँ वर्षमा स्वदेशी पर्यटकहरुको संख्यामा भने केही गिरावट आएको होटल व्यवसायीहरुको दाबी छ ।

यद्यपी, नयाँ वर्षको अवसरमा काठमाडौंको पर्यटकीय नगरीका रुपमा रहेको ठमेलमा सबै होटलहरु ८० प्रतिशतसम्म बुकिङ भइसकेको ठमेल पर्यटन विकास परिषद् अध्यक्ष भविश्वर शर्माले बताए । नयाँ वर्षका लागि ठमेल क्षेत्रमा विभिन्न कार्यक्रमहरुले पुरै ठमेल क्षेत्रभरी नै चहलपल बाक्लो रुपमा बढीरहेको उनको भनाइ छ ।

शर्माले भने, ‘नयाँ वर्षको व्यापारका लागि सबै व्यवसायीहरु उत्साहित रहेका छन् । ठमेलको व्यपार तथा व्यसायमा नयाँ वर्ष एकदमै महत्वपूर्ण रहँदै आएको छ । यो पयर्टनहरुको आवतजावत बढी हुने सिजन पनि हो । करिब ८० प्रतिशत होटलहरु सबैतिर बुक भइसकेको अवस्था रहेको छ । अहिले नेपाल सरकारबाटै लागू गराइएको २४ सै घण्टा व्यवसाय खुलाउने कुराले पनि सकारात्मक प्रभाव परेको छ । यसको मतलब एकैचोटी व्यपार बढ्ने भन्ने हुँदैन । बिस्तारै रात्रिकालीन व्यवसायहरुलाई व्यपार गर्नका लागि सजिलो हुदै जाने हो ।’

देश तथा विदेशबाट आउने पर्यटकहरुको आवतजावत संख्यात्मक रुपमा पहिलेभन्दा निकै बढेको ठमेत पर्यटन विकास परिषद्का कोषाध्यक्ष पुण्यराम लगेजुले बताए । उनका अनुसार ठमेलमा कार्याक्रमहरुले मानिसहरुको आवतजावतमा वृद्धि भइरहेको छ । व्यवसायीहरु पनि उत्साहित भइरहेका छन् ।

उता पर्यटन राजधानी घोषित शहर पोखरामा नयाँ वर्षका लागि चैत महिनाभरी नै करिब ८० प्रतिशतको हाराहारीमा होटलहरु बुक हुँदै गइरहेको होटल सहाराका सञ्चालक चक्र सुवेदीले बताए । जसमा तुलनात्मकरुपमा विदेशी पर्यटक नै बढी भएको उनको भनाइ छ । यातायातको असुविधा, आर्थिक मन्दीलगायत कारणले स्वदेशी पर्यटक भने यसपटक कम भएको सुवेदीको बुझाइ छ ।

सुवेदीले भने, ‘नयाँ वर्ष २०८१ का लागि चैत महिनाभरी नै ८० प्रतिशत कोठाहरु बुक हुँदै गइरहेका छन् । नयाँ वर्षको चहलपहल पनि बढ्दै गरहेको देख्न सकिन्छ । तर, यस वर्ष स्वदेशी पयर्टकहरुको आवत जावत कम देखिएको छ । यसको मुख्य तीन कारणहरु रहेका छन् । पोखराको बन्दै गरेको सडक खण्डले गर्दा यातायातबाट आउने मानिसहरुमा कमि आएको हो । अर्को आर्थिक मन्दीले गर्दापनि मानिसहरुले खर्च कम गरेका हुन् । अर्को भनेको मानिसहरुको मनोविज्ञान हो । मानिसहरुको मनोविज्ञानले गर्दापनि खर्च गर्ने घुम्न जानेकुरामा अलिक सोचविचर गर्छ । कोरोना पछि मानिसहरु एकाएक बाहिर आएपछि मनोवैज्ञानिक कुरामा खोरभित्र रहेको बाघ जस्तै अवस्था हो । गत वर्ष हामीले ४० प्रतिशत स्वदेशी पयर्टकहरुलाई सेवा दिएका थियो भने यस वर्षमा स्वदेशी पयर्टक २० प्रतिशत मात्रै रहेका छन् ।’

त्यस्तै, नयाँ वर्षको एक साता अगाडिदेखि नै पोखरामा पर्यटकहरुको चहलपहल बढ्दै गएको रोलिङ स्टोन्स रक बार पोखराका सञ्चालक रोशनजंग कार्की बताउँछन् । हरेक नयाँ वर्षमा पोखरा शहरको रंगीन दृष्यमा पर्यटकहरु झुम्ने गर्दछन् । यस वर्षका लागि पनि पोखरा शहरको रंगीन दृष्यमा पयर्टकहरु झुम्नका लागि तत्पर रहेको उनको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर