कूटनीतिक मोर्चामा वर्ष २०८०: यी हुन् शीर्ष १७ समाचार
काठमाडौं । वर्ष २०८० सकिएपछिकाे पहिलाे दिन हाे आज । सत्ता गठबन्धनको अदलबदलसँगै परराष्ट्रमन्त्रीहरु फेरि । मन्त्री र उनीहरुको प्राथमिकताले वर्ष २०८० चर्चित रह्यो । प्रधानमन्त्री नफेरिए पनि सत्ता गठबन्धन फेरिँदा नेपालको कूटनीतिक मोर्चामा वर्ष २०८० मा केही गर्व गर्न एवं सम्झन लायक र केही बिर्सन लायक समाचार बने । यहाँ वर्ष २०८० का १७ शीर्ष समाचारमा चर्चा गरिएको छः
१. चार नयाँ देशसँग कूटनीतिक सम्बन्ध
वर्ष २०८० मा नेपालले नयाँ चार देशसँग कूटनीतिक साइनो बनाएको छ । सबैभन्दा पहिले नाउरुसँग २०८० वैशाख २१ गते (सन २०२३ मे ४) कूटनीतिक सम्बन्ध बनायो । २०८० असार ७ गते (सन् २०२३ जुन २२) क्यामेरुनसँग कूटनीतिक साइनो जोडियो । त्यसको भोलिपल्ट नै मार्सल आइल्याण्डस्सँग कूटनीतिक सम्बन्ध स्थापना भयो ।
सबैभन्दा पछिल्लो समयमा कूटनीतिक सम्बन्ध स्थापना भएको देश हो टोङ्गा । २०८० फागुन १८ गते (सन् २०२४ मार्च १)मा १८२औं देशको रुपमा टोङ्गासँग कूटनीतिक सम्बन्ध स्थापना भएको हो । अब नेपालले कूटनीतिक सम्बन्ध बनाउने सार्वभौम देशको संख्या ११ मात्रै बाँकी छ । संयुक्त राष्ट्रसंघमा १९३ देश छन् ।
२. प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण
प्रधानमन्त्रीले २०८० जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । भ्रमणमा दिल्लीका राजनीतिक करिडोरमात्रै पुगेनन् प्रधानमन्त्री, उनी भ्रमण दलमा जोडिएका क्याबिनेट सदस्यहरुसँग उज्जैनको महाकालेश्वर मन्दिर पुगेर गेरुबस्त्रमा पूजाआजा गर्न व्यस्त भए ।
नेपाल–भारत बिजुली व्यापार, अनलाइन कारोबार सहजीकरणलगायतका मुद्दामा प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सहमति गरेका थिए । दुई प्रधानमन्त्रीको साझा पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्रीले नेपाल र भारतको सीमा समस्या भएको औपचारिक रुपमा स्वीकार गरेका थिए ।
३. प्रधानमन्त्रीको चीन भ्रमण
२०८० असोज ५ देखि १२ गतेसम्म प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण गरेका थिए । यो समयमा उनले एसियाली खेलकुदको औपचारिक उद्घाटनमा सहभागिता जनाए । त्यही दिन राष्ट्रपति सी चिनफिङसँग भेटघाट गरे ।
भ्रमणको दौरानमा दुई कुरामा नयाँपन देखियो । पहिलो, नेपालले आफ्नो एक चीन नीतिबाट अगाडि बढेर एक चीन सिद्धान्तमा सहमति जनायो । दोस्रो, प्रधानमन्त्रीले चीन भ्रमण गर्दा नेपालबाट नभएर अमेरिकाबाट गरे । संयुक्त राष्ट्रसंघको महासभामा पुगेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट हङकङलाई ट्रान्जिट बनाएर चीन पुगेका थिए । भ्रमणको दौरानमा उनले नेपाल-चीनको जलवायु सहकार्य, थप सीमा नाका सञ्चालनलगायतका मुद्दामा सहमति गरेका थिए ।
४. युक्रेन युद्धमा नेपाली सहभागिता र सहादत
२०८० जेठ २८ मा नेपाल प्रेसले पहिलो पटक रुसी फौजमा नेपाली भएको समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएसँगै विश्वभरको मिडियामा उक्त समाचार क्रमशः आयो । पछि नेपालीहरुको मृत्युका खबर आउन थाल्यो ।
नेपाल सरकारको आँकडाअनुसार ३३ नेपालीको मृत्यु पुष्टि भएको छ । नेपाल र रुसले परिवारलाई क्षतिपूर्ति दिने सहमति गरेका छन् । मृतक चिन्न परिवारको डीएनए पठाउने काम पनि भएको छ । रुसी फौजमा हराएका परिवारहरु भने लामो समयदेखि आन्दोलनरत छन् ।
५. हमास हमलामा नेपाली दुःख, सरकारी उद्धारका सुख
२०८० असोज २० गते हमासले इजरायलमा हमला गर्यो । हमलामा परेर १० नेपालीले ज्यान गुमाए । बन्धक बनाइएको आशंका गरिएका नेपाली विपीन जोशीको अवस्था अहिलेसम्म जानकारीमा आएको छैन । नेपाल सरकारलाई जोशीको जानकारी तथा सत्यतथ्य पत्ता लगाउन अहिलेसम्म सकस भएको छ । असोज २४ गते नेपाल सरकारले इजरायलबाट नेपालीहरुको उद्धार गरेको घटना भने तारिफयोग्य छ भनेर धेरैले भनेका छन् ।
६. नयाँ सार्क महासचिवको पदस्थापन
२०८० कार्तिक ८ गते सार्क महासचिवले कार्यभार सम्हाले । बंगलादेशका गोलम सरबरले उक्त कार्यभार सम्हालेका थिए । सार्कलाई मृत भनिहाल्नेहरुलाई यो कार्यक्रमले एक हदसम्म भए पनि सार्क जीवितै छ भन्ने सन्देश दियो ।
सन् १९९१ मा बंगलादेशको परराष्ट्र सेवा प्रवेश गरेका सरबर काबिल करिअर डिप्ल्योम्याट हुन् । सार्क महासचिवको हैसियतमा उनले संयुक्त राष्ट्रसंघका महासचिव, विभिन्न सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटघाट गरेका छन् ।
७. संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण
२०८० कार्तिक १२ देखि १५ सम्म नेपाल भ्रमणमा आए संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेस । नेपालको तराईदेखि खुम्बु क्षेत्रसम्म घुमेर उनले जलवायु मुद्दाको वकालत गरेका थिए ।
उपत्यकाका विश्व सम्पदा क्षेत्रमा समेत उनी पुगेका थिए । उनलाई राष्ट्र प्रमुखकै दर्जाको शिष्टाचार दिएको थियो नेपाल सरकारले । कतिपय कूटनीतिक क्षेत्रका जनकारहरुले यसको आलोचना गरेका थिए ।
८. नेपालबाट उत्तर कोरियाको बहिर्गमन
वर्ष २०८० मा नेपालबाट एक नयाँ राजदूतावास घट्यो । त्यो उत्तर कोरियाको हो । झण्डै आधा शताब्दी नेपालमा रहेको आफ्नो दूतावास उत्तर कोरियाले २०८० कात्तिक दोस्रो हप्ता बन्द गरेको घोषणा ग¥यो । योसँगै अब भारतको राजधानी नयाँ दिल्लीमा रहेको राजदूतावासले नेपाल हेर्ने भएको छ । नेपालले भने बेइजिङमा रहेको दूतावासबाट उत्तर कोरिया हेर्दै आएको छ ।
९. पोर्चुगलमा राजदूतावाास खोल्ने निर्णय
२०८० कात्तिक २३ गते नेपालले पोर्चुगलमा दूतावास खोल्ने निर्णय गर्यो । त्योसँगै नेपालको नयाँ दूतावास लिस्बनमा खोल्ने प्रक्रियासमेत अगाडि बढ्यो । सनिल नेपाललाई राजदूतमा सिफारिससमेत गरेको छ ।
१०. विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा नेपालको लज्जास्पद हार
विश्व मञ्चमा नेपालको विजोग प्रस्तुतिको एक विम्ब बन्यो विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको चुनावमा नेपालको लज्जास्पद हार । २०८० कात्तिक १५ मा भएको चुनावमा नेपालका उम्मेदवार डाक्टर शम्भु आचार्यले १० मतमा २ मतमात्रै ल्याएका थिए । उनलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी शेख हसिना वाजेदले पराजित गरेकी थिइन् ।
११. प्रधानमन्त्रीको कतार भ्रमण जस्तै कतारी शेखको नेपाल आगमन रद्द
२०७९ फागुनमा प्रधानमन्त्री प्रचण्डको तय भएको कतार भ्रमण रद्ध भएको घोषणा आएको थियो । प्रधानमन्त्रीको कतार भ्रमण रद्ध भएको अर्को साल २०८० मा भने कतारी शेख नेपाल आउने चर्चा भयो । उनी कात्तिक २० मा नेपाल आउने तय भएको सार्वजनिकसमेत गरियो ।
तर, अन्तिम समयमा आएर शेखको नेपाल भ्रमण रद्द भयो । उनी २०८१ वैशाख १२ गते दुईदिने नेपाल भ्रमणमा आउने भएका छन् । यो भ्रमण भने अहिलेसम्म रद्द भएको छैन ।
१२. अस्ट्रेलियाली मन्त्रीको नेपाल भ्रमण
नेपालीहरुको धेरै बसोबास भएको बाहिरी देश हो अस्ट्रेलिया । अहिले नेपालीहरुको उपस्थितिले त्यहाँको मतदानमा पनि प्रभाव पार्न थालेको छ । त्यसैको फलस्वरुप अस्ट्रेलियाको चासो नेपालमा देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सको काठमाडौं भ्रमण । उनी २०८० जेठ २ र ३ गते (सन् २०२३ मे १६ र १७)मा नेपाल आए । पशुपतिनाथको मन्दिर क्षेत्रमा पुगेर दर्शन गरे ।
१३. प्रधानमन्त्रीको इटाली र युगाण्डा भ्रमण
प्रधानमन्त्री प्रचण्डले इटालीको भ्रमण साउनमा गरेका थिए । साउन ६ देखि १२ सम्म (सन् २०२३ जुलाई २२ देखि २८) मा इटाली पुगेर विश्व खाद्य कार्यक्रमको समारोहमा प्रधानमन्त्रीले सम्बोधन गरेर खाद्य सुरक्षाको कुरा गरेका थिए । उनले भ्रमणको दौरानमा संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेससँग दुई पक्षीय भेटसमेत गरेका थिए ।
माघ ४ देखि ७ सम्म प्रधानमन्त्रीले अफ्रिकी देश युगाण्डा भ्रमण गरे । असंलग्न देशहरुको माघ ५ र ६ गते भएको १९औं शिखर सम्मेलनमा भाग लिन उनी युगाण्डा पुगेका थिए । युगाण्डामा उनले भेटेका अनुहारहरुमा एक भारतीय विदेशमन्त्री एस. जयशंकर पनि थिए । सत्ता परिवर्तन भएसँगै जयशंकरले भारतले ललनटप च्यानलमा दिएको अन्तर्वार्तामा सत्ता फेरिने संकेत प्रचण्डले आफूलाई युगाण्डामा भेट हुँदै दिएको बताएका थिए ।
१४. भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण
२०८० पुस २० गते नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेशमन्त्री जयशंकर फर्किएका थिए । उनको भमणको दौरानमा नेपाल र भारतको दश हजार मेगावाट बिजुली खरिदको सम्झौतामा हस्ताक्षर भएको थियो । नेपाल भ्रमणमा उनले पशुपतिनाथ भ्रमण छुटाएनन् । नेपालका शीर्ष दलका नेताहरुलाई अलग अलग भेटेका उनले मधेश केन्द्रित नेताहरुलाई भने सामूहिक भेटेका थिए । जयशंकरलाई भेट्न नेताहरु उनी बसेको होटलमा लामबद्ध भएर पुगेका थिए । त्यसको आलोचनासमेत भएको थियो ।
१५. नेपाल-बंगलादेश र नेपाल-चीन बिजुली व्यापारको आधार तय
वर्ष २०८० नेपालको बिजुली व्यापारको मुद्दामा स्मरणीय वर्ष रह्यो । भारतसँगको दश हजार मेगावट बिजुली बिक्रीको सम्झौतादेखि चीन तथा बंगलादेशसँग पनि बिजुली बिक्रीको बाटो खोल्न यो वर्ष एक पानी ढलो भयो । उदाहरणको लागि २२० केभीको चिलिमे केरुङ प्रशारण लाइन बनाउन नेपाल र चीनले काम थालनी गरेको प्रधानमन्त्रीको वार्षिक समीक्षमा सार्वजनिक भयो । यस्तै नेपाल र बंगलादेशले पनि २०८० असार २४ गते (सन् २०२३ जुलाइ ८) मा नेपालबाट बंगलादेशमा बिजुली लाने कुरामा सहमति गरेका थिए । पछिल्लो समयमा विश्व बैंकको सिंगापुरमा भएको एक कार्यक्रममा भएको दुई देशका बिजुली अधिकारीहरुको संवादमा नेपालबाट प्रतियुनिट ८ देखि ९ रुपैयाँमा बिजुली बिक्रीको कुरा अगाडि बढेको सार्वजनिक गरिएको छ ।
१६. कोपमा नेपाली सहभागिता
प्रधानमन्त्री प्रचण्डले यूएई पुगेर कोप-२८ मा सहभागिता जनाएका थिए । उनी २०८० मंसिर १२ मा यूएई उडेका थिए भने १७ गते स्वदेश फर्किएका थिए । यूएईमा हुँदा उनले मन्तव्यमा हिमालको हिउँ पग्लिएको कुरा उठाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेससम्मलाई दुई पक्षीय भेट गरेका थिए । उनले यूएईको ५२औं राष्ट्रिय एकता दिवस तथा सायेद दिगोपना अवार्ड समारोहमा पनि सहभागिता जनाएका थिए ।
१७. एघार महिनामा दुई परराष्ट्रमन्त्रीः मन्त्रीको फिनल्याण्ड भ्रमण सूचना डिलिट
२०८० वैशाख ३ बाट नयाँ परराष्ट्रमन्त्रीको रुपमा आएका थिए एनपी साउद । त्योभन्दा अगाडि थिइन् बिमला राई पौडैल । साउदको एक वर्ष पूरा नहुँदै सत्ता गठबन्धन फेरियो र फेरिए परराष्ट्रमन्त्री । परराष्ट्रमन्त्रीको रुपमा १२ वर्षपछि दोहोरिए नारायणकाजी श्रेष्ठ । उनी फागुनमा परराष्ट्रमन्त्री बनेका थिए । परराष्ट्रमन्त्री फेरिएपछि तनाव पनि भएको थियो ।
जस्तैः गत फागुन २२ र २३ अर्थात (२०२४ मार्च ५ र ६)मा फिनल्याण्डमा तय भएको कार्यक्रममा उड्न लागेका साउद रोकिएका थिए । उनी उड्ने सूचना परराष्ट्र मन्त्रालयको वबेसाइटबाटै हटाइएको थियो । फिनल्याण्ड प्रकरणमा मन्त्रीको तय भएको भ्रमण रद्द गर्ने सत्ता गठबन्धन र दिएको सूचना सच्याउनुभन्दा हटाउनमा सक्रिय परराष्ट्र कर्मचारीतन्त्र दुवैले कूटनीतिक अपरिपक्वता देखाएका थिए ।