ती सुवास, यी सुहाङ
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग जोडिएका कयौं सम्झना टेप रेकर्डरको उहिलेको क्यासेटभित्रको रिलझैँ बेला-बेला फन्को मार्न आउँछन् । उहाँसँग मेरो भेट र संवाद राजनीतिक र व्यक्तिगत भलाकुसारीभन्दा व्यवसायिक भेटमा बढी भयो ।
संविधानसभाको पहिलो निर्वाचन र पछिका विभिन्न निर्वाचनमका क्रममा पनि उहाँसँग भेटघाट भइरहन्थ्यो । देशको दीर्घकालीन विकास, सवै प्रकारका विभेदहरूको अन्त्य, समतामूलक समाज निर्माणका विषयमा धेरै कुराकानी हुन्थे । कहिले रेकर्डेड, कहिले अफ द रेकर्डमा संवादका सिलसिलाहरू चल्थे ।
उहाँका ‘ईभेन्ट’ हरू हामी पूर्वेली सञ्चारकर्मीहरूका लागि पर्खाइका विषय बन्थे । हिमशिखर टेलिभिजनको समाचारीय नेतृत्वको हिसाबले सकेसम्म धेरै कार्यक्रममा पुग्ने प्रयास रहन्थ्यो । आधा घण्टादेखि एक घण्टा सम्मका अन्तर्वार्ता प्राय: पूर्व भ्रमणका क्रममा बन्थे । उम्मेदवार हुँदासमेत उहाँको ध्येय केबल आफूमात्र जित्नेमा नभई समुदाय र राष्ट्रको जीतका सन्दर्भ जोडिएर उत्तर आउँथे । केही उत्तर लम्बेतान लागेर बीचैमा काटेर पुच्छ्रे प्रश्न जोडिहालौं पनि नलाग्ने, कुरा सुनिरहुँ लाग्ने ।
इलाम २ प्रवेश गर्दा सामान्यतया उहाँको अस्थायी मुकाम दमक हुन्थ्यो । संविधानसभा अध्यक्षको पदावधि सकिएपछि पनि दमक र आसपासमा उहाँको उपस्थिति उति नै प्रतीक्षाको विषय बन्ने गरेका थिए । तर कुनै पनि भेटमा निजी विषयले प्रवेश पाएनन् । सधैँ सबै विषय एउटा सञ्चारकर्मी र एउटा राजनीतिज्ञको बीचमा हुने व्यवसायिक संवादमा सीमित रहे ।
पहिचानको मामिला देखाएर कतिपयले नेता नेम्वाङलाई आक्षेप लगाउँछन् । तर, किरातहरूका महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गराएर समग्र नेपाली र नेपाली जातिका महागुरुको सम्मानित उचाइमा उनै नेम्वाङको अगुवाइ र भूमिका रह्यो । संविधानसमा समावेशीता र समतमूलक समाजको निर्माणका लागि उनले खेलेका भूमिकाको प्रभाव देखिन थालेको छ ।
त्यो क्षेत्र, यो क्षेत्र
नेता नेम्वाङ निर्वाचित हुँदै आएको इलाम २ को अधिकांश भाग ग्रामीण भेग छ । साना र ठूला खोला-खोल्सीहरूले जेलिएको छ । ६० को दशकसम्म पनि चुलाचुली, महमाई, लारुम्बा, माङसेबुङलगायतका क्षेत्रमा बर्खा भरिका लागि अन्न, औषधि, कपडाको जोहो वैशाख-जेठमै गर्नुपर्थ्यो । बाढी आउँदा विद्यालय नै जान नपाउने अवस्था थियो । स्वास्थ्य उपचारको प्रमुख गन्तव्य दमक र बिर्तामोड आउँदा कयौं गर्भवती र सुत्केरीको ज्यान धरापमा पर्ने गरेको थियो । सिँचाइ सुविधा अभावमा किसानहरू आकाशे झरीमा निर्भर थिए । कृषि उपजले बजार पाउन सकेको थिएन । दैनिक उपभोग्य वस्तु खरीद पनि सहज थिएन ।
तर, पछिल्लो दुई दशकमा यहाँको अवस्था फेरिएको छ । २०७७ फागुन १६ दमकबाट मदन भण्डारी राजमार्गमा पर्ने ३१ वटा पुलको केपी शर्मा ओलीद्वारा शिलान्यास हुँदा ५ ओटा इलामका थिए । रतुवा, बुकुवा, विधुवा, चाँजु र बागद्वारा खोलामा बन्ने पुलले मदन भण्डारी राजमार्गसँगै सो क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्यो ।
पार्टीहरूले युवालाई अवसर दिएनन्, बुढाहरूको मात्रै पार्टी भयो भनेर आलोचना गर्ने फेरि एउटा शिक्षित, शालीन र लामो भविष्य बोकेको युवालाई मौका दिँदा पनि चर्को आलोचना ?
तराईसँग जोड्ने द्रुत मार्गहरू पक्की बनेका छन्, केही बन्ने क्रममा छन् । ठूला-ठूला मोटरेबल पुलले तराई र पहाडको मीत लगाएको छ । दानावारी हुँदै खुदुनाबारीबाट बिर्तामोड नजिकिएको छ । मोरङतर्फ नुनसरीमा बनेको झोलुङ्गे पुलले आउजाउ सजिलो बनाएको छ ।
यस्ता साना पुल, पुलेसामात्र होइन गाउँगाउँमा पनि कालोपत्रे सडकहरूले पहाडमा लाली ल्याएका छन् । अटोरिक्सा र सिटी रिक्सा गाउँ गाउँ छिरे । दूध, स्कुस, सिमलेले भाउ पाएको छ । सडक ‘कनेक्टिभिटी’ ले पहाडमात्र हैन, ग्रामीण बासिन्दाको आङमा नयाँ लुगा पनि फेरिएका छन् । यी योजना कार्यान्वयन गराउन दिवंगत नेता नेम्वाङको योगदान कति थियो ? कि त्यही माटोले, भूगोलले र जनताले उत्तर दिन्छन्, कि त समयले ।
‘गेम चेन्जर’ योजना
साविक मेची अञ्चलको सपना बनेको झापाको दमकबाट इलाम छिचोल्दै पाँचथरको रवि जोड्ने फाल्गुनन्द मार्ग तीव्ररूपमा बनिरहेको छ । केही खण्ड कालोपत्रे बनिसक्यो । ठूलाठूला पुल बनिसकेका छन् । पूर्ण हुन बाँकी छ । यो साविक मेचीको ‘गेम चन्जर’ योजना हो । यो पूरा हुन साथ दक्षिणी इलामका बासिन्दाले मात्र नभएर झापा-मोरङले पनि लाभ लिनेछ । झापाको गौरीगञ्ज नाका हुँदै दमकबाट यही बाटो भएर राँके हुँदै मेची राजमार्गमा मिसिएर ओलाङ्चुङ्गोला जोडिने अवसरको ढोका खुल्छ । यो चीन-नेपाल र भारतलाई जोड्ने सक्ने रणनीतिक महत्वको सडक पनि हो ।
यही सडकको पक्की कार्य शिलान्यासका क्रममा नेम्वाङले भनेका थिए, ‘यो सडक यहाँका बासिन्दाको सपनाको सडक हो, अब यो विपनामा परिणत हुँदैछ । यो एउटा सडकमात्र होइन, गेमचेन्जर योजना पनि हो ।’ सडकको विस्तारसँगै चेप्टी र चेपटीहरू पर्यटकीय क्षेत्र बनेका छन् । दर्जनौ साना ठूला व्यवसाय तिनमा आश्रित भएर सञ्चालन भइरहेका छन् । औषधिमूलो सहज भएको छ, विद्यालय वा उच्च शिक्षाका लागि धाउन बाटो छोटिएको छ । इलामको दक्षिणी भेगमा बिराम लाग्नुअघि नै ओखती र मर्नु अघि नै कात्रोको जोहो गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । ‘चेन्ज’ सुरू भइसकेको छ ।
नेता नेम्वाङको पहलमा सम्पन्न भएको अर्को ‘गेमचेन्जर’ कार्यक्रम चुलाचुलीको भूमिसम्बन्धी समस्या समाधान पनि हो । दशकौंसम्म भूमिहीन भएका थिए त्यहाँका बासिन्दा । जोतभोग भए पनि धनीपुर्जा थिएन । जसले वित्तीय संस्थामा जग्गा धितो राखेर समेत उद्यम चलाउन पाएका थिएनन् । २०६४ सालमा इलाम चुलाचुली अव्यवस्थित बसोबास समाधान आयोग गठन भयो । त्यही आयोगमार्फत भूमि समस्या समाधान भयो, स्थानीयले धनीपुर्जा पाए । अहिले चुलाचुलीको काया बदलिएको छ । कुटिर उद्योग, कृषि फार्म गाउँ गाउँमा छन् । पक्की सडक र विद्युतको पहुँचले गाउँमा पैसा छिर्न थालेको छ । भूमि स्वामित्वको यहाँका बासिन्दाको जीवनशैलीमा आएको परिवर्तन पनि लोभ लाग्दो छ ।
पहिचानको मामिला
पहिचानको मामिला देखाएर कतिपयले नेता नेम्वाङलाई आक्षेप लगाउँछन् । तर, किरातहरूका महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गराएर समग्र नेपाली र नेपाली जातिका महागुरुको सम्मानित उचाइमा उनै नेम्वाङको अगुवाइ र भूमिका रह्यो । संविधानसमा समावेशीता र समतमूलक समाजको निर्माणका लागि उनले खेलेका भूमिकाको प्रभाव देखिन थालेको छ । भाषा, संस्कार, संस्कृतिको संरक्षणबाट मात्र कुनै पनि समुदायको असली पहिचान संरक्षण हुन्छ भन्नेमा उनी दृढ थिए । समावेशीताको बलियो जग बसाल्न उनले खेलेको भूमिकाकै कारण विद्यालय तहमा भाषिक समावेशीताको अभ्यास शुरू भएको छ । बालबालिकाहरूले मातृभाषामा पठनपाठन गर्न पाएका छन् । समावेशी समाज निर्माणका लागि उनले संविधान लेखन कार्यदेखि नै लिएको अगुवाइ र अडान कसरी पहिचानविरोधी थियो ?
पछिल्लो दुई दशकमा यहाँको अवस्था फेरिएको छ । २०७७ फागुन १६ दमकबाट मदन भण्डारी राजमार्गमा पर्ने ३१ वटा पुलको केपी शर्मा ओलीद्वारा शिलान्यास हुँदा ५ ओटा इलामका थिए । रतुवा, बुकुवा, विधुवा, चाँजु र बागद्वारा खोलामा बन्ने पुलले मदन भण्डारी राजमार्गसँगै सो क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्यो ।
सुहाङमाथिको अपेक्षा
जति सुवास नेम्वाङसँग भेटघाट र संवाद भए, सुहाङसँग छैन । खास भेटघाट र चिनजान पनि छैन । तर, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट उनलाई चिन्दा उनीमा बुवाको झझल्को मेटाउने गुण छ । ‘बाघको न्यास्रो लागे बिरालोको अनुहार हेर्नु’ भन्ने नेपाली कथन पनि छ । नेपाली राजनीतिमा एउटा शान्त, सन्तुलनकारी, मृदुभाषी नेताको ‘बाघ छवि’ बनाएका सुवास पुत्र सुहाङले पिताको विरासत थेग्ने अपेक्षा धेरैको छ । तर, राजनीतिको मूल प्रवाहमा ‘बिरालो’ बनेर प्रवेश पाएका सुहाङलाई अहिले नै बुवाको वजनदार छवि देखाएर अत्याइ हाल्नु हुँदैन । उनको उम्मेदवारी र प्रतिष्पर्धा केवल व्यक्तिगत होइन । उनी नेकपा एमालेका सम्पत्ति हुन् ।
बुवाको अगुवाइमा सुरू भएका विकास निर्माणका योजना पूरा गर्ने र यस क्षेत्रलाई थप समृद्धशाली बनाउने अभिभारा सुहाङमा छ । तर, यो उनी एक्लैले गर्ने होइनन् । सिंगो भूगोल, पार्टी र संगठनले उनलाई दरोगरी उभ्याउनु पर्छ । बुवाको शालीन र मृदुभाषी शैलीलाई उनले जीवन्त राख्नुपर्छ । लामो दौडको घोडाको रूपमा उनी मैदानमा छिरेका छन् ।
गणतन्त्रमा पनि बाबुको मृत्युपछि छोरोलाई अघि सारेर राजतन्त्रको झल्को दिने ? भन्ने सुहाङमाथि लगाइएको मुख्य ‘लाञ्छना’ हो । तर, के नेताको छोरो हुनु नै राजनीतिमा आउन नपाउने अयोग्यता हो र ? उनी त जनताबाट अनुमोदित हुन चुनावी मैदानमा होमिएका छन् । अनि फेरि पार्टीहरूले युवालाई अवसर दिएनन्, बुढाहरूको मात्रै पार्टी भयो भनेर आलोचना गर्ने फेरि एउटा शिक्षित, शालीन र लामो भविष्य बोकेको युवालाई मौका दिँदा पनि चर्को आलोचना ? त्यसैले आलोचनालाई पन्छाउँदै, बाधाहरूलाई भत्काउँदै अघि बढेका सुहाङलाई विचलित हुने र बाटो मोड्ने छुट छैन ।