सुनसरीको महाकुम्भ मेलामा बेहोस भई ढलेका ४ जनाको उद्धार
सुनसरी । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्यधिक गर्मीका कारणले बेहोस भएका ४ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
सोही नगरपालिका–१० बस्ने ३० वर्षकी रिना पोख्रेल, काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४५ वर्षीय अच्युत चौलागाई, उदयपुर जिल्लाकी ५६ वर्षीया मञ्जु खतिवडा र सर्लाही जिल्लाका ५० वर्षीय सन्तोष त्रिपाठी महाकुम्भ मेला जाने क्रममा बेहोस भएका थिए ।
उनीहरू अचानक बेहोस भएपछि सुरक्षा बेस चतराबाट खटिएको ११ जनाको विपद् उद्धार टिमले उद्धार गरी सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्थायी स्वास्थ्य शिविरमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि चतरा अस्पताल पठाएको हो ।
गत चैत्र २७ बाट यही वैशाख २८ गते सम्म सञ्चालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बलले मेला अवधिभर निःशुल्क स्वास्थ्य शिविर सहित विपद उद्धार टिम समेत परिचालन गरेको छ ।