`कोरिया रिटर्न´शाखा अधिकृत: जसले मासु पसलदेखि केमिकलसम्मका दुःख बेसाए (भिडिओ) – Nepal Press

`कोरिया रिटर्न´शाखा अधिकृत: जसले मासु पसलदेखि केमिकलसम्मका दुःख बेसाए (भिडिओ)

काठमाडौं । भनिन्छ, कोसिस गर्नेहरू कहिल्यै हरेस खाँदैनन् । र कोसिस गर्नेहरूकै जित हुन्छ । यसैको उदाहरण हुन्, बालकृष्ण लिम्बु ! बालकृष्णले लोकसेवाको अधिकृतमा छैटौंपटकमा निकाले । त्यो पनि उमेर हदका कारण अन्तिम परीक्षामा । यदि छैटौंपटकमा नाम ननिकालेका भए बालकृष्णको जीवनको चक्र अर्कै हुन्थ्यो । उनको जीवनको लय र रुटिन अर्कै हुन्थ्यो । सपना र योजनाहरू अर्कै हुन्थे ।

अहिले अधिकृतको ६ महिने तालीम लिइरहेका बालकृष्णको कथा भने तेह्रथुमबाट-काठमाडौं, काठमाडौंबाट-कोरिया र कोरियाबाट-काठमाडौंको लामो सफरबाट सुरु हुन्छ । यो यात्रामा बालकृष्णले सम्झिरहने मिति दुईवटा छ । एउटा सन् २०१२ को अप्रिल १४ । यो मितिमा अन्तर्राष्ट्रिय श्रमिकको रूपमा कोरिया उडेका थिए । र सन् २०१७ को जनवरी ४ । यो मितिमा ‘अब कोरियाले पुग्यो, सरकारी अधिकृत बन्छु’ भनेर नेपाल फिरेका थिए । र नेपाल फिरेको छ वर्षपछि छैटौंपटकको परीक्षामा अधिकृतमा नाम निकाले ।

घरायसी मजदुरदेखि कसाइसम्म 

बालकृष्णको यो लामो श्रंखलाबद्ध यात्राको सुरुवात तेह्रथुमबाट हुन्छ । पिता कार्यालय सहयोगी थिए । आमा गृहिणी । पाँच जनाको परिवार । दुःखजिलो गरेर चलाइएको परिवार । जहाँ अभाव र गरिबीको उपस्थिति नौलो भएन ।

पूर्वी नेपालको राई लिम्बु समुदायका युवाहरूको राष्ट्रिय सपना हो,- लाहुरे । पढाइमा औसत रहेका बालकृष्णलाई पनि लाहुरे–सपनाले गिजोल्ने नै भयो । गाउँमा ब्रिटिस लाहुरे भएकाहरूको शान, इज्जत, प्रतिष्ठा नै छुट्टै थियो । ब्रिटिस लाहुरे हुनु भनेको एउटा पूर्ण प्याकेज सहितको समाजमा सम्मानित व्यक्ति हुनु थियो ।

लाहुरे हुन चाहनेहरू १६ वर्ष पुगेपछि लाहुरे यात्राको सुरुवात हुन्थ्यो । रिजनल सेलेक्सनका लागि धरान जानुपर्ने । बालकृष्ण पनि लगातार चारपटकसम्म तेह्रथुमबाट धरान झरे । एजेकेसनमा पास भए पनि फिजिकल पास गर्न सकेनन् ।

जनयुद्ध पूर्वमा व्यापक रूपमा फैलिरहेको थियो । यही सिलसिलामा २०६१ सालमा तत्कालीन शाही सेनाले उनलाई घरमै मरणासन्न हुने गरी पिट्यो । बालकृष्ण सम्झन्छन्, ‘त्यसरी मलाई नकुटेको भए म फिजिकल पनि कटाउँथेँ, लाहुरे पनि हुन्थेँ ।’

तर, नियतिले बालकृष्णको यात्रा अर्कै तय गरिदिएको थियो । लाहुरे हुन नसकेकाहरूले पढाइलाई बिगार्छन् । तर, बालकृष्णको हकमा पढाइ निरन्तर रह्यो । घर नजिकैको म्याङलुङ क्याम्पसबाट प्लस २ पास गरे । ब्याचलर पनि त्यही क्याम्पसबाट पास गरे ।

पढाइको सवालमा बालकृष्ण औसत मात्रै थिए । औसतमा पनि अति औसत १ जस्तो:– स्कुलदेखि मास्टरसम्मै कहिल्यै रेगुलर पास भएनन् । एसएलसीमा दुई विषय लाग्यो । प्लस २ मा दुई विषय । ब्याचलरमा ३ विषय । र मास्टर्समा एक विषय ब्याक पेपरको रूपमा पास गरे ।

पढाइ कमजोर हुनुको आन्तर्य खोल्छन् बालकृष्ण, ‘गाउँतिर धनाढ्य मान्छेको खेतमा मंसिरदेखि माघसम्म धान बोक्न जानुपर्थ्यो । दैनिक १७० ज्यालाले कापी कलम किनेर पढ्नुपर्ने । यही कारण पनि पढाइमा म औसत विद्यार्थीको रूपमा रहेँ ।’

एकातिर घरायसी मजदुरी बाध्यता थियो । अर्कातिर पढेरै केही गर्छु भन्ने आत्मविश्वास । मजदुरकै रूपमा मात्रै रहन्न भन्ने विश्वास बोकेरै पढिरहेका थिए बालकृष्ण । यही कारण तेह्रथुमको सदरमुकामको एक नीजि विद्यालयमा अंग्रेजी शिक्षकको जागिर माग्न समेत गए । तर, चाहिएको खण्डमा बोलाउने भनेर स्कुलले आश्वासन मात्रै दियो ।

यसपछि केही समय रेडक्रस सोसाइटीमा युथ भोलेन्टेयरको रूपमा काम गरे । यो जागिरको अवधि सकिएपछि १० महिना मासु पसलमा कसाइ बने ।

काठमाडौंबाट कोरियासम्म

बालकृष्णलाई थाहा थियो,– कसाइको कामले देखेको सपना पूरा हुँदैन !

काठमाडौं बसेर जेठो दाइ पढ्दै थिए । घरमा आम्दानीको नाममा पिताको कार्यालय सहयोगीको न्यूनतम सरकारी तलब । गाउँबाट फुत्किन खोजिरहेका थिए बालकृष्ण । केही विशाल उडान भर्न खोजिरहेका थिए । तर, कहाँ जाने ? केका लागि जाने ? किन जाने ? गएर के गर्ने ?

एक दिन एकजना साथीले सुझाव दिए, ‘तिमी त ट्यालेन्ट छौँ । सहर गएर कोरियन भाषा पढ्यौ भने एकैपटकमा नाम निकालेर कोरिया जान सक्छौ ।’

गाउँको साँधुरो चौघेरोबाट बाहिर निस्कन खोजिरहेका बालकृष्णलाई साथीको सल्लाहले पिन्च गर्‍यो । घरमा पितालाई भने, ‘म काठमाडौं गएर कोरियन भाषा पढ्नुपर्‍यो ।’

पिताले विश्वास नै गरेनन्, ‘तैंले नाम निकाल्दैनस् होला ।’

पिताले हौसला देलान् कि भन्ने आशमा योजना सुनाएका बालकृष्णलाई पिताले नै पत्याएनन् । चार दिनसम्म पितासँग बोलचाल पनि गरेनन् । यसो हुँदा पिताले खर्च दिने सम्भावना टरेर गएको थियो ।

तर, ठूलोबुवाका छोरा अगाडि सरे । काठमाडौंसम्मको टिकट काटिदिए । आमाले हिँड्ने वेला हातमा एक हजार थमाइन् । र बालकृष्ण कोरिया–सपना लिएर पहिलो पटक सबैभन्दा लामो बसको यात्रामा निस्किए, २०६७ सालमा ।

कीर्तिपुरको ट्याङ्लाफाँटमा दाजुको कोठा थियो । दाजु मास्टरर्स पढिरहेका थिए । बालकृष्ण कीर्तिपुरकै एक इस्टिच्युटमा कोरियन भाषा पढ्न सुरु गरे । दिनमा १४–१५ घण्टासम्म पढे । अन्ततः उनले कोरियन भाषामा नाम निकाले । काठमाडौंबाट कोरियासम्मको उडान भर्ने भए ।

कोरियनहरू ‘हामी’मा विश्वास गर्छन्

२०१२ मा बालकृष्ण कोरिया पुगे ।

तीन दिनको ट्रेनिङ गराइयो । लगत्तै काममा खटाइयो । काम थियो घडीका पार्टस बनाउनुपर्ने । केमिकलको प्रयोग गरेर काम गर्नुपर्थ्यो ।

बालकृष्ण सम्झन्छन्, ‘केमिकल मेरो शरीरले सहन सकेन । शरीरभरि राताराता ढाब्राहरु देखिए । ती ढाब्राहरु असाध्यै चिलाउँथे । तर, शरीरले केमिकल सहेन भनेर कसैलाई भनिनँ । के थाहा, त्यसो भनेको भए यसले काम गर्न नजान्ने रहेछ भन्ने छाप कोरियनमा पर्न सक्थ्यो ।’

समय बित्दै गयो । बिस्तारै बालकृष्णको केमिकललाई शरीरले पचाउँदै गयो । हातमा कामको बानी पर्दै गयो । केमिकलमा चोबलिएको पन्जाले पसिना पुछ्दा बेलाबेला अनुहारमा राता ढाब्रा आउन छाडेनन् । त्यही वेला उनले बुझेका हुन्, ‘ओहो १ विदेश त नेपालभन्दा धेरै फरक रहेछ ।’

बालकृष्ण काम गर्ने कम्पनीमा एक ६५ वर्षीय कोरियन कामदार पनि थिए । ती कामदार पनि युवा बालकृष्ण जत्तिकै खट्थे । एक दिन बालकृष्णले सोध, ‘तपाईँ पाको उमेरको भइसक्नुभयो । तपाईँको देशमा सामाजिक सुरक्षाको प्रबन्ध पनि राम्रै छ । तर तपाईँ यो उमेरमा पनि निरन्तर काम गरिरहनु भएको छ, किन ?’

ती कोरियनको जवाफ थियो, ‘आगामी पुस्ताका लागि। हामीले धेरै मिहेनत गरेर यो देशलाई थर्ड वर्ल्डबाट फस्ट वर्ल्डमा ल्यायौँ । अब यसलाई आगामी पुस्तामा हस्तान्तरण गर्न हामीले सक्ने वेलासम्म काम गर्नुपर्छ जस्तो लाग्छ ।’

कोरियामै बालकृष्णले बुझे, कोरियनहरू ‘हामी’ भन्ने शब्दमा धेरै विश्वास राख्छन् । तर, नेपालमा भने ठीक उल्टो छ । नेपालमा व्यक्तिवादी सोच छ । कोरिया–नेपालबीच सबैभन्दा ठूलो भिन्नता नै यही लाग्छ बालकृष्णलाई ।

‘नेपाल फिरेर शाखा अधिकृत पढौँ कि के हो ?’

कमाइको हिसाबले कोरिया राम्रो गन्तव्य हो । हरेक नेपालीहरू कोरियाका लागि मरिहत्ते गर्छन् । बालकृष्ण त कोरिया पुगेरै राम्रो कमाइ गरिरहेका थिए ।

तर, गएको एक वर्ष नपुग्दै एउटा दुर्घटनामा परे । शरीरका चारवटा हड्डी भाँचिए । अस्पतालको बेडबाट उनले निर्णय लिए, ‘भिसा सकेर नेपाल फिरेपछि अब म कहिल्यै विदेश फर्कन्नँ ।’

अस्पतालमा उपचारपछि उनी पुनः काममा फर्किए । यता नेपालमा उनका दाइ नायब सुब्बामा नाम निकाल्न सफल भए । त्यसको नौ महिनामै शाखा अधिकृतमा नाम निकाले । दाइको प्रगतिले बालकृष्णलाई लोभ्यायो, ‘नेपाल फर्किएर निजामती सेवामा लागौँ कि के हो ?’

दाइसँग सल्लाह लिए । दाइको सुझाव थियो, ‘बीचमै छाडेर नआइजा । गर्न पाउने वेलासम्म त्यही काम गर । फर्केर आएपछि तयारी गर्दा हुन्छ । चार पाँच वर्षमा त सजिलै नाम निस्कन्छ ।’

बालकृष्ण कोरिया गएको पनि चार वर्ष पूरा भइसकेको थियो । कोरियामा विदेशी मजदुरले चार वर्ष १० महिना काम गर्न पाउँछन् । तर, समय तीन महिना बाँकी रहँदै दुई महिनाको तलब लिएर कोरिया घुम्न निस्किए । सोचे, ‘अब म यो देश कहिल्यै फर्कन्नँ । आएको वेला घुम्छु । यहाँको विकासलाई नजिकबाट नियाल्छु । शिक्षा प्रणाली कस्तो रहेछ बुझ्छु ।’

‘अनि विश्वस्त भएँ म नेपाल सरकारको शाखा अधिकृत भएँ’ 

बालकृष्ण २०१७ जनवरी ४ मा नेपाल फर्किए ।

पुसमा फर्किएका उनले कोरियाबाटै अनलाइन फारम भरेका थिए । नेपालबाट किताब मगाएर थोरबहुत अध्ययन पनि गरेका थिए । र, बालकृष्णले पहिलो पटक शाखा अधिकृतको परीक्षा दिए ।

परीक्षा दिनुअघि दाइलाई भनेका थिए, ‘टिक लगाउने परीक्षामा आजसम्म म फेल भएको छैन । आजको जाँच त पास गरिहाल्छु ।’

सय प्रश्नमा ६८ वटा मिलाएको भ्रममा बसेका बालकृष्णको नाम निस्किएन । पुनः अर्को वर्षको परीक्षाको तयारीमा लागे । मास्टर्सका लागि कलेजमा भर्ना पनि भए । स्वअध्ययनले मात्रै लोकसेवा कठिन होला जस्तो लागेपछि इन्स्टिच्युटमा भर्ना भएर पढ्न थाले । तर, दोस्रो पटकमा पनि नाम निस्केन ।

तेस्रो पटक, चौथो पटक, पाँचौंपटक… सबै परीक्षामा असफल भए ।

र छैटौंपटक उमेर हदका कारण अन्तिम पटक परीक्षा दिए । नतिजा आउने दिन चाँडै नै सुतेका थिए । रातको नौ १० बजेतिर दाइले फोन

गरे, ‘रिजल्ट हेरिस् ?’

‘के को ?’

‘लोकसेवाको लिखित परीक्षामा तेरो नाम निस्किएको छ, रिजल्ट हेर् त !’

बालकृष्णले हत्तपत्त रिजल्ट हेरे । निद्राहरू सबै भागे । बिहानको चार बजेसम्म कयौंपटक आफ्नो नाम हेरिरहे । नाम हेर्‍यो, आफैँलाई पत्यार लाग्दैन । अनि पुनः हेर्‍यो । मास्टर आइडी रुजु गर्‍यो । बुवा र हजुरबुवाको नाम हेर्‍यो । घरी रोल नम्बर हेर्‍यो । आफ्नो नाम निस्केकै रहेछ भनेर विश्वस्त हुन बालकृष्णलाई सिंगो एक रात लाग्यो ।

र बिहानीपख विश्वस्त भए, ‘म नेपाल सरकारको शाखा अधिकृत हुने भएँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर