उपन्यास नसकिँदै अस्ताए प्रकट पंगेनी – Nepal Press

उपन्यास नसकिँदै अस्ताए प्रकट पंगेनी

काठमाडौं ।
एउटा फूल भगवानलाई टिपे भइहाल्थ्यो त ?
सिंगै फूलको डाली राख्यौ को आउँदैछ आज ?

साँझमा दियो बालिराख्यौ को आउँदैछ आज ?
हातका औंला चालिराख्यौ को आउँदैछ आज ?

-प्रकट पंगेनी ‘शिव’

साहित्यकार प्रकट पंगेनी ‘शिव’ मंगलबार यस संसारबाट सदाका लागि बिदा भए । निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याएका पंगेनीको भौतिक शरीर यस संसारमा रहेन । पंगेनीले नेपाली साहित्यलाई फैलाउन ठूलो योगदान गरेका थिए ।

साहित्यकार सरुभक्त भन्छन्, ‘विशेष गरेर पोखरेली साहित्यकाशका लागि उहाँको मृत्यु अपूरणीय क्षति हो । यति चाँडै बित्नुहोला भनेर सोचेकै थिएनँ ।’

साहित्यको अलावा पंगेनी अभिनयमा पनि उस्तै दख्खल राख्थे । २०३५ सालबाट पोखरेली साहित्यिक सर्कलमा जोडिएका पंगेनी नाटकमा पनि सक्रिय भएर लागेका थिए । उनले २०३५ सालमै सरुभक्तको लेखन तथा निर्देशन रहेको नाटक ‘एउटा घरको कथा होइन’मा अभिनय गरेका थिए ।

२०३८ सालमा त नेपाल एकेडेमीमा आयोजना भएको राष्ट्रिय नाटक महोत्सवमा सर्वोत्कृष्ट अभिनेताकै अवार्ड जितेका थिए पंगेनीले । ‘गोलार्द्धको कालो आकाश’ शीर्षकको उक्त नाटकमा सरुभक्तकै लेखन तथा निर्देशन थियो ।

३० को दशकमा पंगेनी एसएलसी पास भएपछि कास्कीको देउरालीबाट पोखरा आएका थिए आईए पढ्न । यसपछि पोखराको साहित्यिक माहोलमा छिरेका प्रकट तीर्थ श्रेष्ठ, विजय बजिमय, सरुभक्त, उषा शेरचनलगायत साहित्यकारको नजिकको साथी बनेका थिए ।

कवि तीर्थ श्रेष्ठ सम्झन्छन्, ‘प्रत्येक दिन र साँझ सँगसँगै हुन्थ्यौं । अप्रकाशित सृजना एक-अर्कालाई सुनाएर प्रतिक्रिया माग्थ्यौं । त्यसरी सुरु भएको थियो हाम्रो मित्रता । मलाई त उसको अझै ८-१० वर्ष बाँच्ने उमेर थियो लाग्छ । तर के भन्ने र !’

साहित्यिक लेखनको सुरुवाती चरणमा पंगेनी संवेदनशील कवि भएको श्रेष्ठको बुझाइ छ । बेजोड राम्रा कविता लेख्थे । गीतमा पनि उस्तै दख्खल थियो । पछि मुक्तकमा लागे । गीतमा पनि बेजोड थिए । साहित्यकार भूपीनलाई पनि पंंगेनीका गीति लेखन विशिष्ट लाग्छ । उनका श्रृंगारिक गजल धेरै चर्चित भए पनि गीतहरु साह्रै विशिष्ट हुने गरेको भूपीनको भनाइ छ ।

भूपीनका अनुसार अनुज पुस्तालाई एकदमै माया गर्थे पंगेनी । पंगेनीको बोल्ने शैलीमा पनि मिठास थियो । दुःखमा पनि हाँसिरहने गुणका कारण जो कोही पंगेनीसँग प्रभावित भइहाल्थे । २०५०-५२ तिर पंगेनीको पोखरामा आफ्नै ब्यानर लेख्ने पंगेनी आर्ट मिडिया थियो । लेखनको अलावा ब्यानरहरु पनि एकदमै राम्रो लेख्ने गर्थे ।

अनुजहरुलाई पनि माया गर्ने भएकाले दीपक समीप, भूपीन, सरस्वती श्रेष्ठ ‘सरु’लगायत त्यसवेलाका युवा साहित्यकारहरु पंगेनीसँग नजिक थिए । पोखरेली युवा सांस्कृतिक परिवारले हरेक महिना समता काव्य सन्ध्या नाममा कार्यक्रम गर्थ्यो । अरुले प्रायः कविता सुनाउँथे । तर, पंगेनीले प्रायः गीत सुनाउने गरेको भूपिन बताउँछन् ।

साहित्यकार दीपक समीपका अनुसार पंगेनी पोखरेली भाइबहिनीका लागि अभिभावक नै थिए । अनुज पुस्तालाई लिएर सँगसँगै हिँड्ने, हौसला र प्रेरणा दिने गर्थे । दीपक भन्छन्, ‘हुन त उहाँ गजल लेखेर प्रसिद्ध हुनुभयो । तर, उहाँको गीत लेखनी प्रशंसनीय थियो । उहाँको आख्यानमा पनि राम्रो पकड थियो । धेरै राम्रा कथाहरु लेख्नुभएको छ । उपन्यास लेख्दैछु भन्दै हुनुहुन्थ्यो, प्रकाशित नभई उहाँ जानुभयो ।’

भूपीनका अनुसार २०५३/५४ सालतिरबाट पंगेनीले गजल लेख्न सुरु गरेका थिए । गजलमा पनि विशेष गरेर श्रृंगारिक गजलहरु लेख्थे । धेरै श्रृंगारिक गजल लेखेपछि कवि श्रेष्ठसँग पंगेनीको मतभेद पनि भएको थियो ।

तीर्थ सुनाउँछन्, ‘सस्तो खालको हाहाहुहुमा हिँड्ने गजल लेख्नुभएन भनेर मैले भनेको थिएँ । तर, उनका केही प्रशंसकहरु थिए । अहिले पनि उनका प्रशंसकहरु छन् । तर, हामी समकालीन भए पनि अलि गम्भीर सृजना आओस् भन्ने चाहन्थ्यौं । एउटा जमात भने त्यही गजल लेखेवापत् उसलाई मनपराउने, श्रद्धा र सम्मान गर्ने, प्रेम दर्शाउने खालको थियो । ऊ त्यो जमातको मोहबाट फुत्कन सकेन जस्तो लाग्छ । लोकप्रियताको माखेसाङ्लोबाट आफूलाई उम्काउन सकेन ।’

अभिनय, कविता, गीत लेखन हुँदै गजलमा प्रवेश गरेका पंगेनी गजलबाटै चर्चित भएका थिए । समीप भन्छन्, ‘उहाँ श्रृंगारिक गजलकार भनेर प्रसिद्ध हुनुभयो । उहाँका समसामयिक राम्रा गजलहरु थुप्रै छन् । तर, आम्दानीको स्रोत श्रृंगारिक गजल नै भएकाले यसलाई उहाँले छाड्नुभएन ।’

साहित्यकार उषा शेरचनलाई पनि लाग्छ, गजलमा जति समृद्धि कमाए पनि पंगेनी राम्रा कवि हुन् । तर, गजलको क्षेत्रले उनको कविको क्षेत्रलाई ओझेलमा पार्‍यो । शेरचन भन्छिन्, ‘नाटकमा पनि यति अब्बल थियो कि अहिले फिल्म खेलिरहनुभएको प्रकाश घिमिरेहरु उहाँभन्दा जुनियर हो ।’

साहित्यकारहरुका अनुसार पंगेनीले दुइटा नाममा प्रायः लेख्ने गर्थे । एउटा अन्ना र अर्को इन्दु । अन्ना चाहिँ पंगेनीको काल्पनिक प्रेमिका हो । यो काल्पनिक प्रेमिकाका नाममा फुटकर सृजनाहरु गरिरहन्थे । कवि श्रेष्ठलाई त घरिघरि अन्ना पात्र काल्पनिक नभएर साँच्चिकै हो कि झैं लाग्छ ।

अर्को पात्र इन्दु चाहिँ पंगेनीकी श्रीमती हुन् । इन्दुका नाममा पनि पंगेनी प्रायः लेखिरहन्थे । त्यसैले उनलाई पोखरामा ‘पारिवारिक कवि’ भनेर पनि बोलाइने गरेको साहित्यकारहरु बताउँछन् ।

पंगेनीले ५० को दशकतिरबाट गीत लेख्न थालेको सरुभक्त बताउँछन् । पछि मुक्तकसमेत लेखे । पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष पनि बने । यही संस्थाले २०३५ सालदेखि टिकट काटेर मुक्तक सुन्ने कार्यक्रम चलाएको थियो । सरुभक्त, पंगेनी, श्रेष्ठ, शेरचनलगायत पोखरेली युवा साहित्यकारले पैसा तिरेर कविता सुन्नुपर्छ भनेर अभियान नै चलाएका थिए ।

कविता, गीत, मुक्तक हुँदै विस्तारै पंगेनी श्रृंगारिक गजलतिर लागे । प्रणयमा प्रकट दाइ भनेर कार्यक्रम नै चलाइएको थियो । पछिल्लो समय भने पंगेनी आफ्नै जन्मस्थल देउरालीमा रेस्टुरेन्ट चलाउन कस्सिएका थिए । तर, मणिपाल अस्पतालमा दिवंगत भए ।

पंगेनीका ‘जूनको चिठी जूनालाई’ र ‘यो मन कतै अल्झेको छ’ गीति संग्रह सार्वजनिक छ । ‘अक्षरभरि अक्षता’ कविता संग्रह र ‘प्रणयवेदका ऋचाहरु’ गजल संग्रह प्रकाशित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *