सहसचिव शर्मा, अधिकारी र खरेल सचिवमा बढुवा
काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेका प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ रिक्त एक सचिव (उपमहालेखापरीक्षक)मा वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम राया महालेखापरीक्षकमा नियुक्त भएसँगै रिक्त भएको सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका कायममुकायम प्रमुख सचिव शर्माको नाम एकल सिफारिस भएको थियो ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनबाट हुने ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस हुने व्यवस्था अनुसार वरिष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस भएको थियो ।
यस्तै तत्कालीन कायममुकायम महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन पुगेको विशिष्ट श्रेणी (उपमहालेखापरीक्षक)मा महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक एवं प्रवक्ता अधिकारीको नाम एकल सिफारिस भएको थियो । सम्भाव्य उम्मेदवार नै अरू कोही नभएका कारण अधिकारीको नाम एकल सिफारिस भएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि लामो समयदेखि रिक्त रहेको आयोगको सचिव पदमा बढुवाका लागि सहसचिव खरेलको एकल नाम सिफारिस गरेको थियो । उनी लामो समयदेखि कामू सचिवको जिम्मेवारीमा थिए ।