निजी विद्यालयले शुल्कवृद्धि खारेज नगरे संघर्ष गर्ने वैद्य नेतृत्वको विद्यार्थी संगठनको चेतावनी – Nepal Press

निजी विद्यालयले शुल्कवृद्धि खारेज नगरे संघर्ष गर्ने वैद्य नेतृत्वको विद्यार्थी संगठनको चेतावनी

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न माग गरेको छ । संगठनले बिहीबार एक विज्ञप्ती जारी गर्दै शिक्षण संस्थाले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क उठाउने, अत्यधिक शुल्क वृद्धि गर्ने जस्ता कार्य भइरहेको भन्दै तत्काल फिर्ता लिन ध्यानाकर्षण गराएको हो ।

प्रारम्भिक चरणबाटै प्रवेश परीक्षाको नामबाट विद्यार्थीको पढ्न पाउने अधिकारबाट वञ्चित गर्ने, खेलकुद सामाग्री, कापी किताब लगायत स्टेशनरी सामाग्रीको व्यापार विद्यालय हाताभित्र नै गर्ने जस्ता अनैतिक र अवैधानिक गतिविधि भइरहेको विद्यार्थी र अभिभावकको व्यापक गुनासो आइरहेको संगठनका संयोजक मिलन राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ३१ को उपधारा २ मा उल्लेख भएबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क साथै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिएको भए पनि कार्यान्वयन नभएको संगठनको भनाई छ ।

निजी विद्यालयले गरेको शुल्कवृद्धि तत्काल खारेज गर्न र अन्य अनैतिक गतिविधि नगर्न सबै शिक्षण संस्थालाई विज्ञप्तीमार्फ अनुरोध गर्दै संगठनले यस्ता प्रकारको अवैधानिक गतिविधि बन्द गर्न सरकारलाईसमेत आग्रह गरेको हो । यस्ता कार्य भए गरेको पाईएमा संगठनले कडा संघर्ष गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर