कक्षा १२ को परीक्षा केन्द्र निर्धारण अब स्वचालित विधिद्वारा हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (र्यान्डम) प्रक्रियाबाट गर्ने भएको छ । स्वचालित विधि हाललाई काठमाडौँ जिल्लाबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याइने छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीलाई दुःख दिने नियतबाट अब केन्द्र निर्धारण नगर्न निर्देशन दिएपछि बोर्डले नयाँ थालनी गर्न लागेको हो ।
यो विधिमा हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याका आधारमा विद्यालय र केन्द्रको दूरी निकालेर विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको छ ।
सकभर औसतमा एक सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी केन्द्र बाँडिएको छ । एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकामा पनि नपर्ने गरी व्यवस्था गरिएको जनाइएको छ । –रासस
राम्राे प्रयास । यश प्रक्रियालाई देशैभरी यथाशिघ्र लागू गर्न सके परीक्षा मर्यादित र विश्वसनिय वनाउन मद्दत पुग्नेथियाे ।भने केन्द्र निर्धारण गर्ने समयमा परिक्षा समितिमा पर्ने अनावश्यक दवावमा कमि आउनेछ ।