एसिसि प्रिमियर कप सेमिफाइनल- ब्याटिङ र बलिङ चार्टमा नेपालभन्दा यूएईका खेलाडीको प्रभाव
काठमाडौं। एसिसि प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा शुक्रबार साविक विजेता नेपालले यूएईसँग खेल्दै छ। ओमानमा नेपाली समयअनुसार दिउँसो पौने १२ बजे सुरु हुने यो भिडन्तलाई एसियाली एसोसिएट क्रिकेटमा ‘एल क्लासिको’ पनि भन्ने गरिन्छ।
एसियाली एसोसिएट क्रिकेटमा सँधै उपाधि दावेदार रहने यी दुई टोलीबीच हुने उच्च प्रतिस्पर्धा, तनावलगायत कारणले यसलाई एल क्लासिको भन्ने गरिन्छ। जारी प्रतियोगितामा नेपाल समूह ए का चार वटै खेल जितेर विजेताका रुपमा सेमिफाइनल पुगेको हो। यूएई भने समूह बी मा ४ मध्ये तीन खेलमा जित हात पार्दै अगाडि बढेको हो। उसले ओमानसँग पराजय ब्यहोरेको थियो।
नेपाल र यूएई अन्तिमपटक गत नोभेम्बरमा आयोजित विश्वकपको एसियाली छनोटको सेमिफाइनलमा भिडेका थिए। नेपालको मुलपानी क्रिकेट मैदानमा भएको त्यस खेलमा नेपालले जित हात पारेको थियो। दुवै टोली प्रतियोगिताको उपाधि नै जितेर एसिया कपका लागि छनोट हुने प्रयासमा छन्। त्यसलाई कायम राख्न शुक्रबारको खेल जित्नैपर्ने हुन्छ।
प्रतियोगितामा यूएईका आसिफ खान ४ खेलमा ३ अर्धसतकसहित २ सय ११ रन जोडेर सर्वाधिक रन जोड्ने ब्याट्सम्यान रहेका छन्। उनको स्ट्राइक रेट पनि १७१।५४ रहेको छ। यूएईकै एलिसान सराफु सर्वाधिक रन जोड्नेको सूचीमा तेस्रो स्थानमा छन्।
उनले चार खेलमा २ अर्धसतकसहित १८७.१२ को स्ट्राइक रेटमा एक सय ८९ रन बनाएका छन्। पाचौँ स्थानमा रहेका यूएईका कप्तान मुहम्मद वासिमले १८८.०९ को स्ट्राइक रेटमा एक सय ५८ रन जोडेका छन्।
आसिफ शेख नेपालका लागि सर्वाधिक रन जोड्ने ब्याट्सम्यान हुन्। उनले १२९.८९ को स्ट्राइक रेटमा एक अर्धसतकसहित एक सय २६ रन जोडेका छन्। उनी सर्वाधिक रन जोड्नेको सूचीमा ११ औँ स्थानमा छन्। दीपेन्द्रसिंह ऐरीले ४ खेलमा एक सय २१ रन जोडेका छन् २४६.३४ को स्ट्राइक रेटमा। रोहित पौडेलले ८७, कुशल भुर्तेलले ६८ र गुल्सन झाले ५६ रन जोडेका छन्।
बलिङतर्फ यूएईका आयान अफजल खान र नेपालका अविनाश बोहराले समान ७र७ विकेट लिएका छन्। उनिहरु प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा क्रमश छैटौँ र सातौँ स्थानमा छन्। आयानको इकोनोमी ५.४ छ भने अविनाशको ७.९२दीपेन्द्रसिंह ऐरी ६ विकेट लिएर नवौँ स्थानमा छन्।
उनको इकोनोमी ६.१ छ। ललित नारायण राजबंशीले ६.१४ को इकोनोमीसहित ५ विकेट लिएका छन्। मुहम्मद वासिम यूएईका दोस्रो सर्वाधिक विकेट लिने बलर हुन्। उनले ७.०७ को इकोनोमीमा ५ विकेट लिएका छन्। अलि नासरले ५ र बासिल हमिदले ४ विकेट लिएका छन्। नेपालका करन केसीले ३ र गुल्सन झाले २ विकेट हात पारेका छन्।