आशिष अविरल: संगीत कारखानाका ‘हिट मेसिन’
काठमाडौं । १० हजार हाराहारी गीतको एरेन्जर, दर्जनौं सुपरहिट गीतको संगीतकारका साथमा गीतकार र झण्डै आधा दर्जन सुपरहिट गीतका गायक । साढे दुई दशकको सांगीतिक करियरमा आशिष अविरलले बनाएको परिचय हो यो ।
यस वर्ष सम्झनुपर्दा साढे तीन करोड बढी दर्शक/स्रोता कमाएको ‘ऐंचो पैंचे’ फिल्मको ‘काले केटा’ । स्वर आशिषकै, संगीत, एरेन्ज, मिस्किङदेखि मास्टररिङसम्म आशिषकै !
केही वर्ष पछाडि फर्कने हो भने ‘ए मेरो हजुर ३’को ‘परान परान’, बीचमा ‘छुनुमुनु’ । करोडौं दर्शकमाझ गायकको रुपमा समेत जाने कोसिस हो यो आशिषको ।
अझै केही वर्ष पछाडि फर्कने हो भने ‘नाईं मलाई था छैन’, ‘माया लुकी लुकी’ जस्ता डान्सिङ गीतका संगीतकार । योभन्दा थोरै पछाडि फर्कने हो भने ‘छातीमा हात राखेर’ जस्ता जातीय विभेदविरुद्धको गीतको गीतकार, संगीतकार पनि आशिष नै । योभन्दा थोरै पछाडि २०६३/६४ सालतिर फर्कने हो भने ‘वास्ना’ एल्बमका संगीतकार ।
आशिषले संगीतको जुन विधामा हात हाले, डेब्युमै सफलता पाए । जस्तो- संगीतकारको रुपमा पहिलो एल्बम ‘वास्ना’को गीत नरेन्द्र प्यासीद्वारा स्वरबद्ध ‘तिमीविनाको जीवन’ र ‘तिमीले दिने माया’को प्रसिद्धी । सुगम तथा मेलोडियस गीतहरु छाडेर नृत्य गीतको विधामा जाँदा पनि पहिलो गीत नै हिट, ‘मेरो दुनियाँ बेग्लै छ’ । ‘ए मेरो हजुर ३’ बाट फिल्ममा प्रवेश गर्दा पनि ‘परान’ र ‘जिन्दगी नै भन्दिनँ म’ दुवै गीत हिट ।
त्यो मुरली केटो
‘हिट मेसिन’को परिचय बनाएका आशिषको यात्रा भने बाग्लुङबाट सुरु हुन्छ ।
आशिषका बुवा गाउँमा बाजा बजाउने काम गर्थे । उपल्लो जातका मान्छेहरुको बिहे कार्जेमा बाजा बजाउनु उनको बुवाको बाध्यता थियो । सानो कलिलो केटो आशिष पनि बासँग बाजा बजाउन जान्थे ।
बिहेमा जसले बाजा बजाएर माहोल रमाइलो बनाइरहेको छ, उसैले अपमान भोग्नुपर्ने ! जन्तीले दुर्व्यवहार गर्ने ! त्यो दुर्व्यवहारको शिकार आशिषका बुवा, काकाहरु वर्षौंदेखि पर्दै आएका थिए । तर, कलिलो केटो आशिषलाई भने मनपरेन ।
आशिष सुनाउँछन्, ‘केटाकेटी नै थिएँ । तर, मलाई त्यस्तो व्यवहार मनपरेन । त्यसपछि जन्तीमा जान छाडें ।’ जन्तीमा बाजा बजाउन जान छाडे पनि आशिषको जीवनमा संगीतको सुर भने चढिसकेको थियो ।
एक दिन स्कुलमा आशिषले मुरली बजाए । स्कुलका विद्यार्थीहरु सबै हल्लाखल्ला गर्दै थिए, मुरली बज्न सुरु गरेपछि सबै शान्त बने । मुरलीको धुनमा सबै मुग्ध बने, ताली पिटे ।
यसपछि स्कुलकै रामचन्द्र सरले आशिषलाई एउटा जिम्मेवारी थपिदिए, ‘आजदेखि तिमीले स्कुलमा सबैलाई गीत गाउन सिकाउने ।’ सरले आशिषको नाम पनि जुराइदिए, ‘मुरली केटो’ ।
त्यही मुरली केटो एसएलसी दिएपछि काठमाडौं आइपुग्यो । डोरेमी स्टुडियोमा संगीत सिक्यो । कलेज पढ्यो । बीचमा गायक बन्न आएका उनको स्वरमा थोरै समस्या देखियो । बिरामीसमेत भए । यसपछि भने उनको यात्रा एरेन्जर र संगीतकारको रुपमा मोडियो ।
‘वास्ना’ एल्बमदेखि ‘डान्सिङ हिट’ हुँदै चलचित्रसम्म
२०६३-६४ साल । आशिष एरेन्जर हुँदै संगीतकार हुने तरखरमा थिए । यसका लागि उनले गीतका ट्र्याकहरु तयार गरे । ट्र्याकमा बारहरु बनाएर बाजा भरे । तर, शब्द केही छैन । गीतको शीर्षक पनि तय भएको छैन ।
आशिष सुनाउँछन्, ‘मान्छेहरु छक्क पर्थे । गीतको शब्द छैन, ट्र्याकहरु रेडी भयो ।’
गीतको शब्दभन्दा पहिला ट्र्याक निर्माण हुनुमा आशिषको आफ्नै विवशता थियो । नयाँ संगीतकार, ठूल्ठूला गीतकारले पत्याउने कुरा थिएन । कसैसँग माग्ने आँट पनि थिएन । त्यसैले पहिला ‘मेलोडी बनाउँछु’ भनेर बनाएका थिए । शब्द नभएका कारण ट्र्याक पनि एक, दुई, तीन भनेर नाम दिएका थिए ।
गीतको ट्र्याक तयार भएपछि आशिषले गीतकार आनन्द अधिकारीलाई गुहारे । आनन्दले शब्द भरिदिए । नरेन्द्र प्यासीलाई गुहारे । नरेन्द्र पनि स्वर भर्न तयार भए । अढाईतीन वर्षको मेहनतपछि आशिषको जीवनकै पहिलो एल्बम तयार भयो, ‘वास्ना’ ।
‘वास्ना’ त्यही एल्बम बन्यो, जसले नरेन्द्रलाई ‘के भूल भयो र’ पछि पुनः कमब्याक गरायो । ‘वास्ना’ त्यही एल्बम भयो, जसले आशिषलाई युवा संगीतकारको रुपमा स्थापित गरायो । एल्बमको क्यासेटको चक्का नै एक लाख प्रतिभन्दा बढी बिक्री भयो ।
आशिष सम्झन्छन्, ‘मलाई त त्यो वेलाको समय फ्यान्टासी जस्तो लाग्छ । म त्यसवेला अनामनगरमा बस्थें । त्यहाँबाट रत्नपार्क, न्युरोड जाँदा गाडीमा मेरै गीतमात्रै बजिरहन्थ्यो । आरबीटीमा जसलाई फोन गरे पनि मेरै गीत बज्थ्यो । सपना हो कि विपना हो लाग्थ्यो ।’
यसपछि आशिषले प्रमोद खरेलसँग मिलेर ‘म बाँचेकै हो तिमीसँग माया लाउन हो’मा सहकार्य गरे । शिव परियारसँग ‘आत्मालाई साक्षी राखेर’ गीतमा सहकार्य गरे ।
२०७० सालपछि भने आशिष डान्सिङ गीततर्फ छिरे । उनको पहिलो हिट गीत थियो, ‘मेरो दुनियाँ बेग्लै छ’ । यसपछि लगातार सुपरहिट डान्सिङ गीतहरुमा काम गरे, ‘माया लुकी लुकी’, ‘नाईं मलाई था छैन’ लगायत ।
‘सुरुबाटै दुःखी गीतप्रति मेरो लगाव भएन । गीत सुनेर मान्छेले आत्महत्या गर्यो रे भनेको सुन्दा नमीठो लाग्थ्यो । यार, गीत संगीत भनेको त मान्छेलाई जीवन दिने पो हुनुपर्छ । मृत्यु दिने गीत पनि के गीत ! मर्नलाई उक्साउने रचना पनि के रचना’, आशिष भन्छन्, ‘मलाई के लाग्यो भने मान्छे रमाउनु पनि पर्छ । हाम्रोमा बिहे, पार्टीतिर जाँदा अंग्रेजी, हिन्दी गीतमात्रै बज्थे । नेपाली गीत बज्दा पनि केहीलाई नाच्न गाह्रो हुने । सांस्कृतिक रुपमा गीत संगीत, भाषा अतिक्रमित हुन्छ, अनि देश कसरी रहन्छ त ?’
मेलोडियस र डान्सिङ गीत एक-अर्काबीचमा पूर्ण फरक हुन्छ । मेलोडियस गीतले मान्छेलाई कसरी इमोसनल बनाउने भन्ने हुन्छ । डान्सिङ गीतले चाहिँ कसरी नचाउने भन्ने हुन्छ । यही कारण डान्सिङ गीत धेरै टेक्निकल हुने र मेलोडियस गीत इम्प्रोभाइज टाइपको हुने आशिष बताउँछन् ।
उनी भन्छन्, ‘डान्सिङ गीतमा म्याथम्याटिक्स बढी हुन्छ । बिटमा कति एग्रेसन दिने, कति रिजोलुसन गर्ने, के के गर्ने भन्ने विषय अलि बढी टेक्निकल हुन्छ । हामी शास्त्रीय संगीत सिकेर आएका संगीतकारलाई अलि अप्ठेरो हुन्छ डान्सिङ गीतमा काम गर्न । तर, म एरेन्जर पनि भएकाले धेरै अप्ठेरो परेन ।’
यसपछि आशिष चलचित्रमा प्रवेश गरे । यहाँ पनि उनी डेब्युमै हिट भए, गायकको रुपमा । यसैको पछिल्लो उदाहरण हो, ‘काले केटा’ ।
असफलताको स्वाद पनि चाखेका छन् आशिषले
आशिषलाई लगभग थाहा हुन्छ, कुन गीत हिट हुन्छ । तर, कहिलेकाहीँ उनको अनुमान पनि फेल खाइदिन्छ । त्यसैले आशिष सफलमात्रै भएका छैनन् । उनको असफलताको श्रृंखला पनि लामो छ ।
उनी सुनाउँछन्, ‘हिट हुने गीत लगभग थाहा हुन्छ । तर, कहिलेकाहीँ अनुमान गलत हुन्छ । चल्दैन भनेको गीत त चल्दैन नै । चल्छ भनेको गीत पनि नचल्नसक्छ । कहिलेकाहीँ राम्रै छ भनेको गीत मजाले चलिदिन्छ ।’
एक पटक विश्व नेपालीले गाएको गीत ‘टेस्ट गरौं’ मजाले नै चल्छ भन्ने लागेको थियो आशिषलाई । पक्कै हिट हुन्छ भनेको गीत फ्लप भइदियो । अर्का गायक प्रताप दासले गाएको ‘झ्याम्म झ्याम्म’ भन्ने गीत पनि चल्छ भनेर सोचेका थिए । तर, गीत चलेन ।
गीत चल्नुमा राजनीतिक अवस्था, जनताको मनस्थितिलगायत धेरै कुराले सरोकार राख्ने भएकाले पनि कुनै कुनै बढी नै अपेक्षित गीत नचल्ने आशिषको अनुभव छ । अनि गीत नचल्दा कस्तो महसुस हुन्छ ?
आशिष हाँसेर सुनाउँछन्, ‘फ्रस्टेसन नै हुन्छ नि ! गीत रिलिज भएको लगभग एक महिना जति चलेन भने डिप्रेसन नै होला जस्तो हुन्छ । कोही बोलेको कुरा पनि सुन्न मन नलाग्ने, कसैलाई भेट्न पनि मन नलाग्ने । त्यहाँबाट निस्कन लगभग अर्को गीत नै चाहिन्छ ।’
आशिषले गायकको रुपमा ‘ए मेरो हजुर ३’ मा पहिलो पटक गीत गाए ‘परान’ । अहिलेसम्म ५९ मिलियनले हेरिसकेको गीत त्यसवेला रिलिज हुँदा धेरैले ‘बुढोको स्वर’ भनेर कमेन्ट गरेका थिए । यस्तो कमेन्ट आशिषका लागि अपेक्षित नै थियो । तर, विस्तारै दर्शक-स्रोताले उनको स्वरलाई सहज रुपमा लिए ।
यही गीत आशिष सहभागी पार्टीहरुमा बज्थे । आशिषलाई कसैले बालै दिँदैन थिए । कसैले फलानोले यो गीत गाएको भनेर पनि भन्दैन थिए । आफैंले गाएको भनेर भन्न पनि मिलेन । आशिष सुनाउँछन्, ‘त्यस्तो वेला मलाई कस्तो लाग्थ्यो भने यो गीत मैले गाएको होइन, कुनै इन्स्ट्रुमेन्ट बजिरहेको हो । मैले गाएको गीत त बजेकै छैन । मैले गाएको भए मेरो नाम आउने थियो ।’
केही समय यो चरणबाट गुज्रिएपछि आशिषले महसुस गरे, पानी उम्लन पनि सय डिग्री चाहिन्छ । तर, पानी त ४०-५० डिग्रीमै तातो हुन्छ, ७०-८० डिग्री पुग्दा पोल्छ । उम्लन त सय डिग्री नै चाहिन्छ । आशिष हाँसेर थप्छन्, ‘कलाकारिताको चर्चा हुन पनि सय डिग्री पुग्नुपर्ने रहेछ । चरण चरणमा डोज दिँदै जानुपर्ने रहेछ । अहिले आइपुग्दा दर्शक-स्रोताले केही नोटिस गरे जस्तो लाग्छ । ‘काले केटाले’ चाहिँ ५०-६० डिग्रीमा पुगेको हो कि झैं लागिरहेको छ ।’
भाइरलहरुलाई आशिषको सुझाव
आशिषले यो अढाई दशकको करियरमा धेरै प्रकारका कलाकारसँग सहकार्य गरे । रातारात भाइरल भएर आएकाहरुसँग पनि काम गरे । लामो समय साधना गरेर आएका कलाकारसँग पनि काम गरे ।
रातारात सेलिब्रेटी भएका र लामो साधना गरेर आएकासँग फरक चाहिँ के हुँदोरहेछ ?
आशिष सुनाउँछन्, ‘रातारात हिट भएका गायकगायिकाहरु एकदमै चाँडै फ्रस्टेसनमा जान्छन् । विस्तारै आएकाहरु धेरै उतारचढाव थाहा भएकाले धेरै हिट हुँदा मात्तिने पनि कम हुन्छ । असफल हुँदा आत्तिने पनि कम हुन्छ । एकाएक भाइरल भएकाहरु एकाएक गुमनाम हुन्छन् ।’
कुनै समय भाइरल भएका, तर अहिले गुमनाम भएकाहरु आशिषसँग ठोक्किन आइपुग्छन् । आशिषलाई सोध्छन्, ‘यतै बसौं कि विदेश जाऔं कि साह्रै गाह्रो भयो ।’
आशिषको सल्लाह हुन्छ, ‘भाइरल ज्वरो तीनचार दिन हुन्छ । त्यसपछि ज्वरो आउँदैन । त्यसैले गर्दा तिम्रो आगमन जसरी भएको थियो, त्यो सही तरिकाले भएको थिएन । त्यसवेला सबैको ध्यानाकृष्ट भएको थियो । तर, ध्यानाकृष्ट भयो भन्दैमा कच्चापदार्थ नै बेच्नु भएन नि ! तपाईंसँग सम्भावना छ । तपाईंमा केही न केही भएरै जनताले मन पराएका हुन् । त्यो गलत होइन । तर, अब चन्दनको रुख रहेछ भने पनि काठलाई स्कल्पिङ गर्नुपर्यो नि ! र पो बहुमूल्यमा बिक्री हुन्छ । सुन त सुन हो, तर गहना बनाएर लगाउन त्यसको प्रक्रिया हुन्छ । काँचो सुन त बेच्यो, खायो सक्कियो नि ! त्यसैले तपाईंले आफूलाई क्राफ्टिङ गर्नुपर्छ । त्यसको छुट्टै प्रक्रिया हुन्छ । प्रक्रियामा जानैपर्छ ।’
आशिष थप्छन्, ‘म प्रायः भाइबहिनीहरुलाई के भन्छु भने उहाँहरुले कुनै गायकगायिकाको जस्ताको तस्तै कपी गर्नुहुन्छ । दुईचार पटक राम्रै सुनिन्छ । तर, त्यसपछि हरेक पटक त्यही दोहोरिन्छ । एउटै चिज धेरै पटक दोहोरिएको राम्रो सुनिँदैन ।’
उनका अनुसार यही कारण उनीहरु चल्न छाड्छन्, डिप्रेसनमा जान्छन् । आशिषको सल्लाह कतिपयले सकारात्मक रुपमै लिने गर्छन् । कतिपयलाई चाहिँ आफू भाइरल भएकामा रिस उठेकाले भनेको हो भन्ने पनि लागेको हुनसक्ने उनको अनुमान छ । किनभने उनीहरुमा इनिसियल अटेन्सनले उन्मत्तता छाएको हुन्छ । त्यस्तो वेला मान्छेले आफू परिपरि कमै देख्ने बताउँछन् ।
त्यसैले आशिष भन्छन्, ‘सफलता भन्ने चिज नै चढ्ने चिज रैछ । सफलताले मान्छेलाई अहंकारी बनाउँछ । त्यो ममा पनि लागू हुन्छ । एक पटक मैले आफैंले महसुस गर्दा पनि ‘ह्या’ भन्ने भाव आउँथ्यो । तर, त्यो होइन रहेछ । उकालीओराली आउँछ । त्यसैले सफलतामा माथि पुगेको वेला मान्छेले अहंकार देखायो भने ‘ए भाइ तँ यहाँ बस्न लायक छैनस्, तल आइज’ भनेर पिट्दै पिट्दै ल्याएर धुलाइ हान्छन् । अनि ‘अब फेरि चढ्न सुरु गर’ भन्छन् । सबैको हकमा यो लागू हुन्छ ।’
भाइरल भाइहरुसँग भेट हुँदा आशिषको प्रश्न हुन्छ, ‘ए भाइ यो के गर्या !’
भाइहरुको जवाफ हुन्छ, ‘यही भए नि गर्नुपर्यो दाइ ! जे गरे नि चल्दैन, अलिअलि कुटिखेलो गर्नैपर्यो ।’
आशिष भन्छन्, ‘मैले छुनुमुनु गीत सन् २०१७ मै तयार गरेको थिएँ । ५ वर्षपछि निकालें । अहिले चलेको ‘काले केटा’ पनि चार वर्ष अगाडि बनाएको हो । एक जना गायकका लागि बनाएको थिएँ, तर अहिले निस्कियो । ‘परान’ पनि तीनचार वर्ष पहिला बनाएको थिएँ । मेरो काम यसरी बन्छन् भने अरुको पनि समय लाग्ला नि ! आज बनाएर भोलि निकालेर पर्सि ल्याउँदा गीत कस्तो हुन्छ होला ? दुई दिनमा बच्चा जन्मन्छ त ?’
एआईले संगीतकारको जागिर खाइदिन्छ त ?
अहिले संसारभर एआईको चर्चा छ । एआईले उपन्याससमेत लेखिसक्यो । नयाँ संगीत तुरुन्त कम्पोज गरिदिन्छ । शब्द आफैं लेखिदिन्छ । जे भन्यो त्यही गायकको आवाज निकालिदिन्छ । यसलाई लिएर संसारभरका स्रष्टा-सर्जकले आन्दोलन पनि गरिरहेका छन् ।
आशिषलाई पनि लाग्छ, ‘एआईले प्रारम्भिक रुपमा असर गर्छ नै । एआईमा पनि कसै न कसैले डाटाको प्रयोग गरेर चिज बन्ने हो ।’ कलाकारको आवाज दुरुस्त निकालिदिने, संगीतकारको शैली नक्कल गरिदिने कुराले प्रारम्भिक रुपमा असर गरेपछि यो स्याचुरेट हुँदै एउटा ठाउँमा पुगेर रोकिने आशिषको अनुमान छ ।
उनी भन्छन्, ‘पहिला पहिला स्याम्पल म्युजिक आउँथ्यो । सबैले त्यही म्युजिकलाई प्रयोग गरे । त्यसरी प्रयोग भएपछि अब लाइभ म्युजिक हुँदैन होला भन्ने अनुमानहरु चले । तर, स्याम्पल म्युजिक प्रयोग गर्दा हजारौंको संख्यामा प्रयोग भयो । त्यस्ता संगीत चेतन अवस्थामा सुन्दा फलानो गीतमा प्रयोग भएको छ भन्ने थाहा नहुने भयो । तर, हाम्रो दिमागले अवचेतनमा यी सबैको हिसाबकिताब राखिरहेको हुन्छ । दिमागमा त त्यसको डाटा छ । त्यसो हुँदा कतै न कतै सुनेको हो कि भन्ने जानकारी दिमागले राख्छ । यसपछि नयाँ गीत सुन्दा पनि दिमागलाई मोनोटोनस हुने भयो र सुन्न नचाहने भयो । मान्छेले थाहा नपाएरै भित्रभित्रै गीतहरु रिजेक्ट गर्दै गए ।’
एआई पनि एउटा विन्दुमा पुगेर यस्तै अवस्थामा पुग्ने आशिष बताउँछन् । उनलाई लाग्छ, ‘यो लामो समयसम्म जाँदैन ।’