मतदातामाझ मिलनः काम गरिनँ भने कान निमोठ्न आउनुस्
इलाम । इलाम क्षेत्र नम्बर २ को उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् मिलन लिम्बू । उनको थातथलो हो माङसेबुङ गाउँपालिकाको इभाङ्ग । इभाङ्गबाट उपचारका लागि दमक झर्न होस् या बिर्तामोड ओर्लिन, सानोतिनो आँट चाहिन्न थियो । उनी सुन्थे दामकबाट रवि राँकेसम्म बाटो कालोपत्रे हुँदैछ । तर, उनले कालोपत्रे भएको देख्न पाएनन् ।
इलामको पश्चिमी क्षेत्रका मिलनलाई देउमाई तरेर आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि सातु सामल लिएर हिँड्न पर्थ्यो । स्कुल पढ्दा खेरि माओवादी सशस्त्र आन्दोलन उत्कर्षमा थियो । उनलाई माओवादीको परिवर्तनको नाराले प्रभाव पार्यो ।
माङसेबुङमा एकसाताअघि घरदैलोमा भेटिएका मिलनले सुनाए, ‘माओवादीले यी सबैको समस्या समाधान गर्छ भन्ने लाग्यो । उनले लिम्बू पारामा भने ‘यो त हैन पो रहेछ नि हाउ !’
केही समय दमकमा बसेर पत्रकारिता गरेका मिलन त्यसपछि भने इटहरीमा आए । ६५-६७ सालतिर इटहरीमा पत्रकारिता गर्दै गरेका लिम्बूलाई इटहरीको भूगोल पनि सानो लाग्यो । त्यसपछि राजधानी काठमाडौं हानिए ।
काठमाडौंमा केही वर्ष उनी नाम चलेका केही टेलिभिजनका स्क्रिनमा देखिए । आदीवासीहरूको हक अधिकार उनको एजेण्डा थियो जुन माओवादी सशस्त्र आन्दोलनका बेला राम्रोसँग जान्ने बुझ्ने मौका पाएका थिए । यही एजेन्डाका कारण उनी आदिवासी जनजाति पत्रकारहरूको संस्था फोनिजका विभिन्न कमिटीमा बसेर काम गरे । उनी फोनिजको महासचिवसम्म भए । उनले माओवादीनिकट प्रेस सेन्टरको सचिवको जिम्मेवारी पनि निभाए ।
काठमाडौं बस्दा उनको माओवादीका शीर्ष नेताहरूसँग राम्रै उठबस भयो । उनी आफ्नो गाउँका मुद्दा र समस्याका बारेमा माओवादीका नेताहरूलाई सुनाउँथे । बेला बेला नेताहरूलाई माङसेबुङ र लारुम्वा पनि नेताहरूलाई ल्याइरहन्थे ।
आफ्नो समुदायका कुरा नेताहरूले बुझुन् भनेर मैले नेताहरूलाई गाउँमा ल्याए । उनले सुनाए, ‘नेतालाई ल्याउनु भनेको त भोट दिलाउनु मात्रै पो रहेछ । नेतालाई गाउँमा ल्यायो, विकास होला समुदायको हित होला भनेको त नेताहरूकै पो हित भयो । गाउँ त जस्ताको तस्तै रहयो’, नेपाल प्रेससँगको कुराकानीमा मिलनले सम्झिए ।
गाउँमा खानेपानी, बाटो, उच्च शिक्षाको समस्या ज्यूँका त्यूँ रहेको भन्दै उनले आफैँले त्यसलाई बदल्ने अठोट लिएर चुनावमा होमिएको बताएका छन् ।
मिलन भन्छन्, ‘अरूलाई भनेर नहुने रैछ । म आफैँ अब किन नेता नबन्ने भनेर पो यता लागेँ ! मै पो नेता हुने रहर जाग्यो ।’
लिम्बूसँग भेट हुँदा इलाम २ मा चुनावी चहलपहल बढिरहेको थियो । घरदैलो अभियानमा व्यस्त मिलन त्यही दिन आफ्नै गाउँ इभाङ्ग जाने तयारीमा थिए । उनका साथमा थिए रास्वपाका स्थानीय नेता, प्रतिनिधिसभा सदस्य अशोक चौधरी र रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईँ ।
कच्ची सडकको धुलोले छपक्क छोपेको रास्वपाको झण्डा गाडीमा फहराउँदै उनीहरूको गाडी इभाङ्गतर्फ लाग्यो । बाटोमा गाडी रोकेपछि उनी कान्ला उक्लिँदै मतदाताको घर चाहार्न थाले ।
एउटा घरमा उनले भोट माग्न सुरू गरे,‘भोट दिनु ल घण्टीमा । लहै सबैले घण्टीमा भोट है ।’
फेरि अर्को कान्ला उक्लिँदै माथ्लो घरमा भेला भएका स्थानीयलाई उनले नमस्कार गर्दै भने,‘यो बाजी घण्टीमा भोट दिन पर्यो । आफ्नै गाउँ ठाउँको भाइ मैदानमा आउँदा भोट दिनु हुन्छ भन्ने आशा छ नि !
एकजना महिलाले भनिन्, ‘अहिले नमस्कार गर्दै आउनु भो भोलीपर्सि त कोट्याउँदा पनि नसुन्ने होला । चिन्दा पनि चिन्नु हुन्न होला । उनले लिम्बूसमक्ष गुनासो पोखिन् । अहिले जसरी आउनु भो भोलि पनि यसरी नै आउनु ल ।’
मिलनले जवाफ फर्काए ,‘यो हातै काटेर फालुम जस्तो लाग्छ नि ! बुढा नेताहरूले बर्बाद गरे, नमस्कार गरे काम गरेनन् । नमस्कार गरेर भोट पाए, काम गरेनन् भनेर ठूलो गुनासो छ । म त काम गर्न पो आएको । यसो गर्नु हुन्न ।’
महिलासँग बिदा भएपछि उनले छेउमै रहेका पुरुषहरूलाई भने, ‘आफ्नै गाउँको दाजुहरूले भोट दिनु भएन भन्ने त गुनासो त नआउला । यसो नि आफ्नै गाउँको सबै भोट खराक खुरुक दिनुस् भन्न त पाउँछु नि !’
त्यसपछि उनी कान्ला ओर्लिएर गाडि चढेर फर्किए ।
बाटामा देखिएका र उनलाई भेट्न कुरेर बसेका मतदाताहरूलाई उनेले आफू इभाङ्ग माङसेबुङ्ग र इलामको परिचय फेर्न चुनावमा होमिएको भन्दै आश्वस्त पार्न खोजे ।
दमक-रवी-राँके सडक नबन्दाका दु:ख, खानेपानी नभएर गाउँ छाड्नु परेका व्यथा स्थानीयले लिम्बूलाई सुनाए । धुलो र हिलोका कारण सडकमा खेप्नु परेको सास्तीका गुनासाका पोकाहरू मतदाताले सुनाइ रहन्थे ।
मतदातालाई मिलनको जवाफ थियो, ‘बुढा नेताहरूले काम गरेनन् भनेरै हो म चुनावमा होमिएको हो । म त यतैको पानी खाएको, यतैको डाँडा चहारेको सबै कथाव्यथा मलाई थाहा छ । काम गर्ने पो मन छ । मलाई जिताउनु होला । ’
झन्डै एक घण्टापछि माङसेबुङ-३ दहगाँउमा पुग्दा कार्यकर्ताले केही स्थानीय भेला पारेका थिए । स्थानीय सामुदायिक भवनको आँगनमा लहरै प्लास्टिकको कुर्सी राखिएको थियो ।
आँगनको डिलमा राखेको कुर्सीमा टुसुक्क बसेर मिलनले भने, ‘काम गरेन भने कान निमोठ्नु पर्दा पनि नजिकै छ पारि भेटिहाल्नु हुन्छ । हुन त तपाईँहरूले आफैँ दिनुहुन्थ्यो । तर, पनि आफ्नैलाई कसरी नमाग्नु ? आफ्नैलाई पनि माग्नु पर्छ । भोलि पर्सि भोट आएन भने किन दिनु भएन भनेर सोध्दा त मागेन त केटा भन्नु हुन्छ भनेर पो आएको ।’
सामुदायिक भवनमा भेला भएकाहरूले स्थानीय समस्याहरू सुनाए । विद्यालयमा समस्या, खानेपानी र बाटो समस्याका प्रमुख बिषय थिए । आधा घण्टा जति स्थानीयसँग गफगाफ गरेपछि लिम्बू पुन: घरदैलोमा लागे ।
इलामको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने माङसेबुङ इभाङ्गका मिलनले उप निर्वाचनको मिति घोषणा भएसँगै काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका थिए । ‘अकबरे उम्मेदवार’ को रूपमा यस क्षेत्रको समस्या समाधान गर्न माओवादीसँगको सबै सम्बन्ध तोड्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका थिए ।
पछि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सार्यो । २०७९ सालको निर्वाचनमा यस क्षेत्रमा रास्वपाबाट उठेका प्रकाश सापकोटा १३८० भोट पाएका थिए । समानुपातिक तर्फ रास्वपाले ४६८६ मत पाएको थियो ।
कृपया अब सबै नेपालीले नयाँ दल र नयाँ उम्मेदवार नै रोजौ।
सबै नेपालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै साथ दिउ।🙏🙏