इलाम २ को उपचुनावमा ‘पहिचान फ्याक्टर’ : कोशी नामकरणमाथिको त्यो बबण्डर – Nepal Press

इलाम २ को उपचुनावमा ‘पहिचान फ्याक्टर’ : कोशी नामकरणमाथिको त्यो बबण्डर

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पहिचानको मुद्दा जोड तोडका साथ उठेको छ । राप्रपाबाहेकका सबै पार्टीहरु पहिचानको पक्षमा काम गरेको भन्दै भोट मागिरहेका छन् ।

यस क्षेत्रमा ‘पहिचानवादी’ मतदाताहरु कति हुन् भन्ने कुनै विश्वसनीय आँकडा छैन । तर, कोशी प्रदेशको नामाकरणको विरोध गर्नेहरुले आफूलाई ‘पहिचानवादी’ भनेर प्रचारित गरिरहेका छन् । एमाले र कांग्रेस पनि पहिचानवादी मतदाता रिझाउने कसरतमा छन् । कोशी नामाकरणको समर्थनमा रहेका मतदाताहरुको उल्लेख्य संख्यालाई दलहरुले ध्यान दिएको पाईंदैन ।

इलाम क्षेत्र नम्बर २ मा जनसंख्याको हिसाबले जनजातिहरूको मत बढी छ । पहिचान पक्षधरले ५ दिनपछि हुने उपनिर्वाचनलाई जनमतसंग्रहकै रुपमा लिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिङ थेगिम कट्टर पहिचानवादीका साझा उम्मेदवार हुन् । उनी पहिचान सहितको प्रदेश नम्बर १ पुन नामाङ्कन अभियान समितिका संयोजक समेत थिए ।

प्रदेशको नाम कोशी राखेपछि सुरु भएको आन्दोलन र यसको नेतृत्व गरेको सङ्घर्ष समितिले उपनिर्वाचनलाई प्रतिष्ठाको रूपमा लिएर निर्वाचनको मिति नतोकिँदै साझा उम्मेदवार उठाउने निर्णय गरेका थियो । धरानमा भएको भेलाले साझा उम्मेदवार उठाउने निर्णय गरे पनि इलाम क्षेत्र नम्बर २ को निर्वाचनमा पहिचानको मुद्दा उठाउने उनी मात्रै एक्ला उम्मेदवार भने होइनन् ।

अरु पनि साझा उम्मेदवार

पहिचानवादीका ४१ वटा घटकले डकेन्द्रसिंह थेगिमलाई इलाम २ मा साझा उम्मेदवार बनाएको घोषणा गरे पनि पहिचानको कुरा गर्ने अरू पनि उम्मेदवार छन् । थेगिमसँगै जनमत पार्टीबाट उम्मेदवार भएका प्रेमदिप थाम्सुहाङ्ग समेत आफूलाई असली पहिचानवादी भन्दै इलाम क्षेत्र नम्बर २ का मतदाता समक्ष पुगिरहेका छन् ।

प्रदेशको नाम किराँत लिम्बुवान राख्नुपर्छ भनेर सबैभन्दा पहिला आफूले नै आवाज उठाएको दाबी उनको छ । उनी प्रदेशको नाम पहिचानको आधारमा राखिनु पर्ने माग सहितको आन्दोलनमा सहभागी भएका थिए ।

थाम्सुहाङ्ग जस्तै मङ्गोल नेसनल अर्गानाइजेशनका मनीपामो लिम्वू पनि मैदानमा छन् । ०७९ को निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सो पार्टीले १६६१ मत पाएको थियो ।

उनले बनाएको चुनाव प्रचार सामग्रीमा लेखिएको छ, ‘लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारलाई संस्थागत गर्न चाहनेहरु मङ्गोल नेसनल अर्गनाइजेसनको मित्र शक्तिहरू हुन् ।’

तर ४१ वटा घटकहरू एक भएकाले डकेन्द्र नै साझा उम्मेदवार भएको नागरिक उन्मुक्ति पार्टीका उपमहासचिव पदम अधिकारी दाबी गर्छन् । उनलाई जातीय संस्थाहरु किराँत याक्थुंग चुम्लुङ, किराँत राई यायोख्खाको समेत साथ रहेको दाबी गरिएको छ । तर जातीय संस्थामा पार्टीको होल्ड हुँदा मत कता जान्छ भन्ने चाहीँ आगामी निर्वाचनले देखाउनेछ ।

यो क्षेत्रबाट जनता समाजवादी पार्टीले समानुपातिक तर्फ ९०६ मत पाएको थियो । सो पार्टीसमेत अहिले डकेन्द्रको पक्षमा मत माग्ने हिँडिरहेको छ ।

जातीय र धार्मिक जनसंख्याको वितरण

इलाम क्षेत्र नम्बर २ को जातीय र धार्मिक मतको हिसाब हेर्दा आदीवासी जनजातिको मत धेरै देखिन्छ । २०७८ सालको जनगणना अनुसार समग्र इलामा सबैभन्दा बढी राईहरुको जनसंख्या २०.८ प्रतिशत देखिन्छ ।

राई पछि दोस्रो जनसंख्या याक्थुङ् लिम्बुहरूको रहेको छ । इलाममा कुल जनसङ्ख्याको १६.१ प्रतिशत लिम्बुहरू बसोबास गर्छन् । त्यसपछि क्रमशः १३.९ प्रतिशत क्षेत्री र १२.७ प्रतिशत ब्राम्हणहरुको बसोबास छ ।

क्षेत्री बाहुनपछि तामाङ, मगर र नेवारहरूको बसोबास गरेको जनगणना २०७८ ले देखाउँछ । इलाममा ७.१ प्रतिशत तामाङ, ५.२ प्रतिशत मगर र ३.८ प्रतिशत नेवारहरू बसोबास गर्छन् ।

धर्मका हिसाबले इलाममा सबैभन्दा बढी हिन्दु धर्म मान्नेहरू नै छन् । इलाममा ४४.२ प्रतिशत हिन्दु, ३६.२ प्रतिशत किराँत, १६ प्रतिशत बौद्ध र ३.५ प्रतिशत क्रिश्चियनहरु बसोबास गर्छन् ।

इलाम क्षेत्र नम्बर २ मा ६ वटा पालिकाहरू रहेका छन् । तीमध्ये माई नगरपालिकाका भने दुईवटा मात्रै वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् । यी पालिकाहरूको जातीय र धार्मिक मतको हिसाब हेर्ने हो भने पहिचानको कुरा गर्ने जातीय मत यो क्षेत्रमा बढी रहेको देखिन्छ ।

यो निर्वाचन क्षेत्रमा पर्ने फाकफोकथुम गाउँपालिकामा २१.८ प्रतिशत जनसंख्या याक्थुङ्ग लिम्बुहरूको रहेको छ । लिम्बुपछि २० प्रतिशत क्षेत्री, १६.३ प्रतिशत राई, १०.५ प्रतिशत मगर र ९.५ प्रतिशत ब्राह्मणको जनसंख्या रहेको छ ।

माङ्सेवुङ् गाउँपालिकामा भने झण्डै आधा जनसंख्या लिम्बुहरूको रहेको जनगणना २०७८ ले देखाएको छ । यहाँ ४२.२ प्रतिशत लिम्बुहरू, ३३.८ प्रतिशत राई र ७.९ प्रतिशत क्षेत्रीको जनसंख्या रहेको छ ।

यसै निर्वाचन क्षेत्रमा पर्ने चुलाचुलीमा पनि लिम्बुकै जनसंख्या बढि रहेको देखिन्छ । त्यसपछि राई, ब्राह्मण र क्षेत्रीको बसोबास छ । यो पालिकामा कुल जनसंख्या मध्ये २६.६ प्रतिशत लिम्बु, २६.१ राई, ११.९ प्रतिशत ब्राह्मण, ८.८ प्रतिशत क्षेत्रीको जनसंख्या रहेको छ । इलाम क्षेत्र नम्बर २ मा पर्ने इलाम नगरपालिकाका १२ वटा वडामध्ये ११ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् ।

इलाम नगरपालिकामा जातीय जनसंख्याको कुरा गर्ने हो भने सबैभन्दा बढी क्षेत्रीहरूको बसोबास रहेको छ । ५० हजार ८५ जनसंख्या रहेको इलाममा सबै भन्दा बढी १९.५ प्रतिशत क्षेत्रीको जनसंख्या रहेको छ । यसपछि क्रमशः क्षेत्रीको १८ प्रतिशत, राइको १५ प्रतिशत र लिम्बुको १२.५ प्रतिशत जनसंख्या रहेको छ ।

पहिचान फ्याक्टर कति बलियो ?

पहिचानको आन्दोलनमा सडकमा चर्का नारा लाग्ने गरे पनि ब्यालेट पेपरमा भने पहिचानको मुद्दा सँधै कमजोर देखिने गरेको छ । २०४६ सालको आन्दोलन पछि नै यो क्षेत्रका सडकमा जातीय नारा उग्ररूपमा लाग्न थालेको हो । जनमुक्ति पार्टीले सेतामगुरालीका नाममा आन्दोलन सुरु गरे पनि सो पार्टीको चुनावी इतिहास भने राम्रो छैन ।

उसले प्रतिनिधि सभामा कहीँ पनि विजय हासिल गर्न सकेको छैन । ०७९ को निर्वाचनमा पनि सहभागी भएको सो पार्टीले अपेक्षाकृत मत हासिल गर्न सकेन । इलाम क्षेत्र नम्बर २ मा पनि सो पार्टीका उम्मेदवार केपी पालुङवाले १२७२ मत पाएका थिए ।

कोशी प्रदेशमा लामो समयदेखि कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पहिचानको मुद्दा उठाउँदै आएको छ । संविधान सभाको पहिलो निर्वाचनदेखि चुनावमा सहभागी भएको सो पार्टीको जनमत भने निरन्तर घट्दो गएको निर्वाचनको आँकडाले देखाउँछ ।

पहिलो संविधान सभामा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई दुई जना सभासद् संविधानसभामा पठाउने गरी जनमत प्राप्त भएको थियो । सो निर्वाचनमा मञ्चलाई ७१ हजार ९५८ मत समानुपातिकतर्फ आएको थियो भने प्रत्यक्षतर्फ ३६ हजार ६० मत आएको थियो ।

२०७० मा भएको संविधानसभाको निर्वाचनमा भने सो पार्टीलाई एक जना पनि सभासद् पठाउने मत आएन । लिम्बुवान पक्षधर राजनीतिक शक्तिहरूलाई जम्मा चार हजार २०२ मत प्राप्त प्राप्त भएको थियो भने समानुपातिकतर्फ १३ हजार ६५५ मत प्राप्त भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।

२०७४ प्रदेश सभा निर्वाचन पछि भने एक मञ्चले समानुपातिक तर्फबाट प्रदेश सभामा एक सिट प्राप्त गरेको थियो । मञ्चका तर्फबाट विष्णुमाया तुम्बाहाम्फे प्रदेश सभा सदस्य भएकी थिइन् । उनी पछि राज्यमन्त्रीसमेत भइन् ।

२०७९को निर्वाचनमा भने सो पार्टीले प्रदेश सभामा एक जना पनि सदस्य पठाउन सक्ने गरी मत पाएन । प्रदेश सभामा सो पार्टीलाई समानुपातिकतर्फ २६ हजार ५३१ मत आएको थियो । यस्तै पहिचानकै कुरा गर्ने मंगोल नेसनल अर्गनाइजेसनलाई २५ हजार ३८७ र जनमुक्ति पार्टीलाई ५ हजार ९३७ मत आएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले २ वटा वडाध्यक्ष जितेको थियो । उसले इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्ष जितेको तथ्याङ्कले देखाउँछ । यस्तै पाँचथरको कुम्याक गाउँपालिका–१ मा लिम्बुवानका नेता देवेन्द्र लावती वडाध्यक्षमा विजयी भएका थिए । यद्यपि उनी स्वतन्त्र रूपमा चुनाव लडेका थिए ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा भने सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले दुईवटा वडाध्यक्ष जितेको छ । दुईवटै स्थानीय तहको निर्वाचनमा मञ्च विजयी भएको चुलाचुलीको वडा नम्बर १ मा पनि वैशाख १५ गते निर्वाचन हुँदै छ ।

पहिचानवादीको मत तान्न कांग्रेसको कसरत

१७ फागुन २०७९ मा प्रदेश सभाले प्रदेशको नाम कोशी राख्यो । प्रदेश सभामा रहेका ९३ जना प्रदेश सभा सदस्य मध्ये ८२ जनाले कोशी नामको पक्षमा मत हाले । ४ जनाले विपक्षमा मतदान गरे भने छ जना प्रदेशसभा सदस्यहरू अनुपस्थित भए ।

दुई तिहाइ भन्दा बढी प्रदेश सभा सदस्यको समर्थनमा नामाकरण गरिएपछि प्रदेशमा आन्दोलन सुरु भयो । विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बु लाजेहाङ्गको १० चैत्र २०७९ मा उपचारका क्रममा मृत्यु भयो ।

नामकरणपछि जातीय संस्थाहरु र पहिचानको नाममा आन्दोलन गरिरहेका पार्टीहरू प्रदेश नम्बर १ पुन नामाकरण संयुक्त सङ्घर्ष समितिको नाममा एक भए । उनीहरूले कोशी पक्षमा मतदान गर्ने ८२ जना प्रदेश सभा सदस्यहरूलाई गाउँ प्रवेशमा नै रोक लगाए । एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र महेश बस्नेतलाई समेत गाउँ प्रवेश रोक लगाउँदै विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरे ।

लामो समयको आन्दोलनपछि तत्कालीन हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले वार्ता समिति बनायो । तत्कालीन मन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा बनेको वार्ता समितिसँग दुई पटक वार्तासमेत भयो । तर वार्ता टुङ्गोमा पुग्न सकेन ।

हिक्मतको सरकार फेरिएसँगै मुख्यमन्त्रीमा नियुक्त भएका केदार कार्की नेतृत्वको सरकारले पुन वार्ता समिति बनायो । भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगु नेतृत्वको वार्ता समितिसँगको वार्तापछि ९ बुँदे सहमति भएको छ ।

नौ बुँदे सहमति आफू नेतृत्वको सरकारले गरेको भन्दै काँग्रेसका उम्मेदवार डम्बर खड्का मतदाता समक्ष पुगिरहेका छन् । उनले काँग्रेस पहिचानको पक्षमा रहेको पुष्टि गर्न प्रदेशका १४ जना जिल्ला सभापतिहरूले निकालेको विज्ञप्तिका विषयमा सार्वजनिक भाषणहरूमा बोल्दै आएका छन् । आन्दोलनपछि कोशी नामका विषयमा पुनर्विचार गर्न माग गर्दै १७ जेठ २०८० मा विज्ञप्ति जारी गरिएको थियो ।

यस्तै २ साउन २०८० मा काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले पनि नामकरणका विषयमा भइरहेको आन्दोलनको सम्बोधन गर्न भन्दै विज्ञप्ति जारी गरेका थिए । अहिले निर्वाचन क्षेत्रमा मतदाताका माझमा पुग्दा कांग्रेस यिनै मुद्दाहरू लिएर जाने गरेको छ ।

एमाले भन्छ- पहिचानको मुद्दा हामीले स्थापित गरेका हौं

पहिचानवादी मतदाता रिझाउन एमाले पनि प्रयासरत छ । एमालेका तत्कालीन उपाध्यक्ष सुभाष नेम्वाङले धरानमा गरेको अन्तिम भाषणमा भनेका थिए, ‘पहिचानको दुनियाँमा, समावेशीताको सन्दर्भमा यो देशमा हामीले जति काम गरेका छौं, त्यति अरू कसैले पनि गर्नुभएको छैन ।’

अहिले उनै नेम्वाङको मृत्यु पछि सो क्षेत्रमा निर्वाचन हुन लागेको हो । पहिचानको आन्दोलन चर्किएका बेला युवा संघ कोशी प्रदेशको अधिवेशन उद्घाटनका लागि उनी धरान आएका थिए ।

उनले धरानमा भनेका थिए, ‘कसैलाई मैले हेपेको होइन, हामीले मौका पायौँ, गरेर देखायौँ । भन्नुस्, धर्मनिरपेक्षता कसले घोषणा ग¥यो ? धर्मनिरपेक्षता हामीले घोषणा ग¥यौं । जेठ ४ गते धर्मनिरपेक्षता घोषणा भयो, यहाँहरूको आशीर्वाद र शुभकामनाले ।’

उनले महागुरु फाल्गनन्दलाई आफ्नै पहलमा राष्ट्रिय विभूति घोषणा गरेको समेत अन्तिम भाषणमा भनेका थिए । अहिले उनका छोरा सुहाङ्ग चुनावी एमाले–माओवादीका तर्फबाट उम्मेदवार छन् । उनी बुवाले पुरा गर्न नपाएका काम पुरा गर्न राजनीतिमा आएको मतदाता समक्ष बताउने गर्छन् ।

एमाले स्थायी कमिटी सदस्य तथा शिवमाया तुम्बाहाम्फे पहिचानको मुद्दा स्थापित गर्न एमाले लागेको दाबी गर्छिन् । एमाले नेतृत्वको प्रदेश सरकारले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द तथा किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मस्थल अगौटेबारी इभाङ्को विकासको लागि गुरु योजना बनाउन बजेट विनियोजन गरेको उनले बताइन् ।

सोही सरकाले फाल्गुनन्दनको तपस्या स्थल खत्रक्पा, देउमाई–९, ज्ञानप्राप्ति स्थल फुलुङ्गि माङ्सेवुङ–३ र बाह्रधार्ने माई नगरपालिका–१ को विकास, संरक्षण र प्रवद्र्धनका निम्ति विस्तृत गुरुयोजना तयार गर्न आवश्यक बजेट विनियोजन गरिएको समेत उनले स्मरण गरिन् ।

एमालेले तमोर, अरुण र सुनकोशीको त्रिवेणीमा अवस्थित किराँत समुदायको ऐतिहासिक सांस्कृतिक महत्वको खुवालुङ्गलाई ‘खुवालुङ्ग सांस्कृतिक सम्पदा क्षेत्र” कायम गरी सो क्षेत्रको बृहत्तर विकासका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक व्यवस्था गरेको भन्दै प्रचार गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर