बंगलादेशको राजकीय भ्रमण सकेर सीधै काठमाडौं ओर्लिँदै कतारी राजा
काठमाडौं । कतारी राजा अर्थात् आमिर शेख थामिम बिन हमाद अल थानीले आज बंगलादेशको भ्रमण सकाउने भएका छन् । सोमबार साँझ स्थानीय समयअनुसार ५ बजे बंगलादेश ओर्लिएका राजा थानी राजकीय भ्रमणको लागि त्यहाँ पुगेका हुन् । बंगलादेशी राष्ट्रपति मोहमद शाहबुद्धिनले हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
बंगलादेशले राजा थानीलाई २१ तोपको सलामी दिएर सम्मान गरेको छ । उनलाई बंगलादेश वायु सेनाका ४ युद्ध जहाजले हवाई स्कर्टिङ गरेको कतारी दैनिक गल्फ टाइम्सले लेखेको छ । बंगलादेशको अखबार डेली स्टारका अनुसार सन २००५ पछि कतारी राजाको यो पहिलो बंगलादेशको राजकीय भ्रमण हो ।
सन् २००५ मा तत्कालीन कतारी आमिर शेख हमाद बिन खालिफा अल थानी बंगलादेश आएका थिए । बंगलादेशले कतारी राजासँग विमल्व भुक्तानीमा कतारी ग्यास आयात गर्न तथा बंगलादेशको इन्धन सुरक्षामा सहयोग गर्न माग गरेको डेली स्टारले लेखेको छ ।
नेपालजस्तै बंगलादेश पनि कतारका आप्रवासी कामदार धेरै पठाउने देश हो । कतारमा बंगलादेशका ४ लाख कामदार छन् भने दुई देशको व्यापारिक आयातन ३ अर्ब ६० करोड डलर भएको बताइएको छ ।
बंगलादेशको राजकीय भ्रमण सकेर कतारी आमिर नेपाल आजै आउनेछन् । नेपाली समयअनुसार साढे पाँच बजे उनी आउने कार्यकतालिका सार्वजनिक भएको छ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गर्नेछन् ।