महाभूकम्प : जसले चराको घर पनि खाेस्याे – Nepal Press

महाभूकम्प : जसले चराको घर पनि खाेस्याे

देखिन छाडे रैथाने चरा, सुनिन छाड्याे चिरबिर

काठमाडौं । २०७२ साल बैशाख १२ अर्थात ९ वर्षअघि भूकम्पले १४ जिल्लाका घरहरुमात्र भत्काएन, चराहरुको घर(गुँड)हरु पनि भत्काइदियो । भूकम्पले भत्काएको मान्छेको घर त विस्तारै बने । तर, चराहरुको घर बनेन, तिनीहरु विस्थापित भए, गाउँघरबाटै हराउन थाले ।

भूकम्पपछि धमाधम भूकम्पप्रतिरोधी नयाँ घर त बने । तर, मानिसका घरमा गुँड लगाएर बस्ने चराहरुले बास पाएनन् । भूकम्पप्रतिरोधी घरमा चराहरुले गुँड बनाउने ठाउँ नै पाएनन् ।

पहिले माटो जोडाइका घर बनाउँदा चराहरुको लागि पनि गुँड लगाउन मिल्ने छुट्टै प्वालहरुको व्यवस्था गरिन्थ्यो । त्यस्तै घर बनाउँदा खट प्रयोग गर्दाका प्वाल त्यत्तिकै छाडिन्थ्यो । जहाँ चराले आफूअनुकूल गुँड बनाउँथे ।

तर, अहिले बन्ने सिमेन्ट जोडाइका घरमा सबै प्वाल टालिन्छ, चराको लागि छुट्टै प्वाल राख्न त परै जाओस् । घर बनाउँदा चराचुरुंगीका लागि गुँड बनाउने ठाउँ छोड्न बिर्सेकाहरु अहिले आफ्नो वरिपरि चराचुरुंगी नभेटेकोमा खल्लो महसुस गर्छन् ।

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका- ४ कोटगाउँका रमेश धिताल अचेल गाउँमा चरा-भंगेराहरु देख्न छोडेको बताउँछन् ।

उनको भूकम्पअघि परम्परागत ढुंगामाटो, काठले बनेको घर थियो । उक्त घरको दलिन, भित्तालगायतका प्वालमा भंगेरा, सारौ, परेवा, चमेरो, गौथलीलगायतले गुँड लगाएर बस्ने गरेको थियो । तर, त्यो घर भूकम्पले भत्कायो । चराहरुले पनि घर बास गुमाए ।

भूकम्प गएको केही वर्षपछि रमेशले इँटा र सिमेन्ट लगाएर ढलान घर बनाए । त्यतिञ्जेल उनलाई घरेलु चराहरुको लागि अनुकूल हुनेगरी घर बनाउनुपर्छ भन्ने ख्याल नै भएन, । मानिसले घर बनाउँदा तिनीहरुको लागि पनि बास चाहिन्छ भन्ने हेक्का भएन ।

जुन सम्झेर अहिले उनलाई पछुतो लाग्छ । धितालले भूकम्पयता सारौ, भंगेरा, गौथली देख्न त परको कुरा आवाजसम्म सुन्न नपाउँदा निरस लागेको बताए ।

पुरानो घरमा भँगेरा गुँड बनाएर बसेको सम्झिएका धिताल भन्छन्, ‘पहिले पहिले घरघरमा चराहरुको गुँड हुन्थ्यो । बिहान उठ्नेबित्तिकै चराहरुको आवाज सुन्न पाइन्थ्यो । आँगनमा खेलिरहेका हुन्थे । अहिले गुँड त परको कुरा चरा नै देख्न मुस्किल भइसक्यो । चराचुरुङ्गी नदेखेको धेरै भयो । कस्तो शून्य लाग्न थालेको छ । सिजनअनुसार चराचुरुङ्गीको चिरबिर सुनिन्थ्यो । अहिले कहाँ गए होलान् तिनीहरु ?’

रमेशको कुरामा सहमति जनाउँछन् रैथानेका सुन्दर सापकोटा पनि ।

‘पहिलेका घरको संरचना अहिलेको भन्दा भिन्न थियो । ढुङ्गा, माटो, काँचो इँटा र काठ आदिले बनेका हुन्थे । घरका भित्ताहरुमा चराहरुकै लागि प्वाल राखिन्थे, जहाँ भँगेराहरूले गुँड बनाउँथे र बिहानबेलुका भँगेराको चिरबिर आवाज सुन्न पाइन्थ्यो’, सुन्दर भन्छन् ।

उनी आफ्नो गाउँमा भूकम्पअघिसम्म घरैपिच्छे चराचुरुङ्गीको गुँड रहेको बताउँछन् । तर, अहिले कुनै पनि घरमा चराको गुँड बनाउन मिल्ने ठाउँ नै नभएको सुन्दर बताउँछन् ।

सानो छँदा घरको आँगनमा भँगेरासँग खेलेको सम्झँदै उनी भन्छन्, ‘हामीले बनाएको घरको कारण चराचुरुङ्गी विस्थापित भएको रहेछ, चालै पाएनौं । अहिले घरेलु चराचुरुङ्गी देख्नै मुस्किल भयो ।’

अधिकाश ठाउँमा अहिले ढुंगा र माटोको जोडाइको घर देख्न मुस्किल छ । भूकम्पपछि सरकारले दिएको राहत रकमले ढुंगा माटोले बनाएको घर पास नगरिदिने समस्याले अधिकांशले इँटा सिमेन्टले घर बनाए ।

कहींकतै ढुंगा माटोले घर बनाए पनि एक तलेमात्र बनाउँदा चराचुरुङ्गीको लागि गुँड बनाउन समस्या भयो ।

चराविद्हरुका अनुसार घरका भित्तामा गुँड लगाएर बस्ने चराचुरुङ्गीहरु उचाइमा आफ्नो गुँड बनाउँछन् । ग्रामीण क्षेत्रका पुराना र परम्परागत खरको छानो हुने घरगोठहरूमा चराचुरुङ्गीका लागि बस्न र लुक्न उपयुक्त प्वालहरू हुन्थे । तर, अहिले बन्ने सिमेन्ट प्रयोग भएका घरहरू अनुकूल छैन ।

भूकम्प प्रभावित ठाउँमा मात्र होइन, कं्रकिटले बनेका घरहरु चराचुरुङ्गीको लागि उपयुक्त छैन । त्यसैले घरेलु चराहरु विस्थापित भएका छन् । उपयुक्त बासस्थानको अभावमा घरेलु चराचुरुङ्गी लोपोन्मुख छ । शहरमा चराचुरुङ्गीलाई गुँड बनाएर बस्नै नदिन तार जालीहरु राख्नु पनि एक कारण रहेको चराविद्हरु बताउँछन् ।

अहिले शहरी क्षेत्रमा चराचुरुङ्गीले गुँड लगाएका घरमा फोहोर गर्ने भन्दै त्यहाँ गुँड हटाउन बर्ड स्पाइकर अर्थात काँडेतार लगाउने गरिएको छ । अझ शहर केन्द्रित ठाउँहरुमा चराहरुको बासस्थान हराउँदै गएको छ ।

घरमा गुँड लगाउन नपाएका चराहरु रुखहरुमा गुँड लगाउने गर्थे । तर, अहिले कहींकतै भएका रुखहरुमा पनि झिलिमिली बत्ती राख्ने गरिएको छ । जसको उज्यालोको कारण चराहरुले रुखमा समेत गुँड लगाउन छोडेका छन् ।

चराचुरुङ्गी प्रेमी राजाराम तण्डुकार पहिले घर बनाउँदा चराको लागि अनिवार्य रुपमा गुँड राखेर बनाउनुपर्ने चलन रहेको सम्झन्छन् ।

उनले सामाजिक सञ्जालमा आफ्नो गुनासो पोखेका छन््, ‘पहिले घरमा प्वाल राख्ने गरिन्थ्यो । अहिले फोहोर हुन्छ भनेर राखिँदैन । चराको गुँड राखेर घर बनाउनुपर्छ भन्नुहुन्थ्यो हाम्रो हजुरबुबा तथा बा । प्वाल राख्ने चलन त गयो गयो, रुखमा झिलिमिली बत्ती राख्ने चलन पनि आयो ।’

घर अगाडिका रुखमा बत्ती राख्नु गलत भएको बताउँछन् उनी । उनी प्रश्न गर्छन्, ‘चराचुरुङ्गी बस्न पर्दैन ? रुखमा राति राति रुखमा बस्ने चराचुरुङ्गीलाई कति असर गर्छ यसले ? रुखलाई पनि असर गर्छ । डाक्टरहरुले सकेसम्म राति बत्ती निभाएर सुत्नु भन्छ । नेचुरली जाने भनेको त राति अँध्यारो हो । दिउँसो उज्यालो । यो रुखमा बत्ती किन राख्ने ?’

ठूला घर बने पनि मान्छेको दिलोदिमाग साँघुरिँदै गएको उनको टिप्पणी थियो ।

पक्षीविद् हेमसागर बराल भन्छन्, ‘भँगेरा विशेषगरी घरका खट प्वाल तथा अन्य त्यस्तै सुरक्षित स्थलमा रहेका प्वालमा गुँड बनाइ बस्छ । पहिला मानव बस्ती वरिपरि टन्नै देखिने यो चराको संख्या पछिल्लो केही वर्षयता घटदै गएको छ ।’

ध्वनि प्रदूषण, बासस्थलको अभाव, कृषिमा अत्यधिक किटनाशक विषादीको प्रयोगले पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने चराचुरुङ्गी घट्दै गएको सामुदायिक विपद् व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष जगन्नाथप्रसाद कुर्मी बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेका घरमा चराचुरुङ्गीलाई गुँड बनाउन पहिले जस्तो प्वाल र सुविधा छैन । बिजुली बत्तीको झिलीमिली र रङ्गरोगनको गन्धले पनि तिनलाई त्यहाँ बासस्थल बनाउन सहज छैन । गुँड बनाउन खरपातको अभाव, शहरीकरण र बढ्दो ध्वनि प्रदूषणले पनि तिनलाई असहज छ ।’

कुर्मी थप्छन्, ‘किसानको साथी भनेर चिनिने चराचुरुङ्गीले घरको जुठ्यानमा रहेका खाना आदिका साथै अन्नबालीमा लाग्ने हानिकारक कीरा फट्यांग्रा तथा लार्भा खाई कृषि उत्पादन बढाउनसमेत सहयोग गर्छन् ।’

विस्थापित चराको घर बनाइदिने हो भने फर्केर आउने चराविद् बरालको भनाइ छ ।

उनको भनाइ

पुराना परम्परागत घरआँगनमा चराको लागि पनि बासस्थान हुन्थ्यो । अहिले भूकम्पपछि खालि टिन ठोकेर ट्रस राखेर बनाउने घरहरुमा चराहरुको लागि ठाउँ हुँदैन । आधुनिक घरहरुमा अहिले चराको लागि ठाउँ नै छैन । मानिसको आसपास बस्ने चराहरु विस्थापित भएका छन् । गौंथलीले घरमै गुँड लगाउँछ, रुखमा लगाउँदैन । तिनीहरु विस्थापित नै हुन्छन् । घर नपाएपछि रुखतिर नजाने केही चराहरु हुन्छन् ।

लाटोकोसेरो रुखमा पनि जान सक्छ । गोठे लाटोकोसेरो घर वा गोठमै बस्ने हो । तिनीहरु रुखको टोड्कातिर जाने सम्भावना कम हुन्छ । कमन मैना जंगलतिर बस्न सक्दैन । घर भँगेरा पनि धेरै टाढा जान सक्दैन । घर भयो भने घरतिरै बस्छ । वनमा उसले प्रतिस्पर्धा गरेर अरु चराहरुसँग गुँड लगाउन सक्दैन । धेरै संख्यामा छैन ।

तर, केही चराहरु छन् । विस्थापित भएका चराहरुलाई मानिसले घरहरु बनाउँदा आफू बस्नुको साथसाथै त्यस्ता चराहरुको लागि पनि केही ठाउँ बनाइदिने, चरामैत्री घर बनाइदियो भने उनीहरुलाई पनि फाइदा पुग्छ । फेरि फर्केर आउन सक्छन् । मानिसले घर बनाउँदा अलिकति स्थान दिनुपर्‍यो ।

नेपालमा हालसम्म ८९० बढी प्रजातिका चरा पाइन्छन् । तीमध्ये केही चराचुरुङ्गी मानिसको घरमा गुँड लगाएर बस्न रुचाउँछन् । पुरानो र परम्परागत चराचुरुङ्गी मैत्री घर नहुनु, रुख विरुवा विनाश हुनु, प्रदूषण, चेतनाको कमी, आहाराको कमी, बालीनालीमा प्रयोग हुने विषादी तथा यिनीहरुलाई संरक्षण गर्नुको सट्टा मार्ने, छोप्ने र शिकार गर्ने प्रवृत्तिले पनि घरेलु चराको संख्यामा कमी आएको छ ।

नेपाललगायत विश्वबाट नै लोप हुन लागेको चराचुरुङ्गीको संरक्षणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमका साथै दिवस मनाउने गरिएको छ । यस्तै भँगेरा संरक्षण गर्ने उद्देश्यले प्रत्येक मार्च २० का दिन विश्व भँगेरा संरक्षण दिवस मनाउने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *