मनमोहनसँगको दुर्लभ अन्तर्वार्ता- राजसंस्था र भारतदेखि एमालेको नयाँ पुस्ताबारे मिलेको भविष्यवाणी
मनमोहनले भनेका थिए- आफ्नो मान्यताभन्दा बाहिरको समीकरण वामपन्थीहरुलाई जहिल्यै हानिकारक हुन्छ, एमालेको नेतृत्व सम्हाल्न युवा पुस्ताले विचार, योजना, मूल्यमान्यता र कूटनीतिको उचित कौशल देखाउनुपर्छ
काठमाडौं । सार्वजनिक कार्यक्रमबाहेक मनमोहन अधिकारीसँग मेरो भेट जम्माजम्मी तीन पटक भयो । काठमाडौंको गल्फुटारबाट अलि अगाडि गएपछि केही माथि भित्तामा मनमोहनको एकतले घर थियो । त्यस घरमा मैले मनमोहनको अन्तिम अन्तर्वार्ता गरेको थिएँ ।
अन्तिम अन्तर्वार्ता भन्नाले मैले मनमोहनसँग गरेको चाहिँ अन्तिम भनेर बुझौं । त्यसपछि पनि अरु पत्रकारले सम्भवतः मनमोहनसँग अन्तर्वार्ता गरे होलान् । बालकुमार नेपाल सम्पादक रहेको सूर्योदय साप्ताहिकको पहिलो वार्षिकोत्सवको सन्दर्भमा २०५५ असोजतिर मैले मनमोहनसँग लामो अन्तर्वार्ता रेकर्ड गरेर एक पेज उतारेको थिएँ ।
त्यही अन्तर्वार्ता २०५६ साल वैशाख १३ गते मनमोहनको निधन भएपछि पत्रिकामा पुनः प्रकाशित भएको थियो । २०५६ सालको निर्वाचनमा काठमाडौं १ र ३ बाट एमालेको उम्मेदवार बनेका तत्कालीन अध्यक्ष अधिकारीको नेतृत्वमा बहुमतको सरकार बनाउने अभियानमा एमाले थियो ।
अचानक गोठाटारमा बेहोस भएर ढलेका मनमोहन फेरि फर्किएनन् । यस पटक बैशाख १३ गते मनमोहन स्मृति दिवसका सन्दर्भमा उनलाई सम्झिने क्रममा २५ वर्षअघि मैले उनीसँग गरेको अन्तर्वार्ताको अर्काइभ फेला पर्यो । विस्मृतिमा गइसकेको यस अन्तर्वार्ताभित्र आजको राजनीति र कूटनीतिलाई समेत निर्देशित गर्ने धेरै दूरदर्शी दृष्टिकोण भेटियो ।
नेपालको मात्र नभएर दक्षिण एसियाकै पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०५४ साल फागुनमा एमाले विभाजन गर्न देशी विदेशी शक्तिले के के गरे भन्ने कुरादेखि गैरकम्युनिष्ट पार्टीहरुसँगको सत्ता समीकरण वामपन्थीलाई कसरी हानिकारक हुन्छ भन्ने कुरा पनि प्रष्टसँग बोलेका थिए ।
भारतसँग उत्ताउलो अभिव्यक्तिले होइन जिम्मेवार कूटनीति र भारतकै जनताको समर्थन लिएर कालापानीलगायतका समस्या समाधान गर्नुपर्छ भन्ने मनमोहनको विदेश नीति आज पनि उत्तिकै सान्दर्भिक छ । उनले नेपालमा राजतन्त्रको भविष्य र एमालेको नीतिबारे पनि त्यस अन्तर्वार्तामा धेरै बताएका थिए ।
साथै आफूपछिको एमालेका युवा पुस्तालाई समेत उनले सधैंका लागि अनुकरणीय विचार दिए ।
मनमोहन अधिकारीको २५ वर्षअघि त्यस दुर्लभ अन्तर्वार्ताका कतिपय राजनीतिक र कूटनीतिक प्रसंग आज पनि उत्तिकै समय सान्दर्भिक भएकाले ती प्रसंगहरुलाई प्रिन्ट संस्करणको अर्काइभबाट अनलाइनमा उतारेर पाठकका लागि प्रस्तुत गरेका छौं । यसका साथै इतिहासको त्यो जीवित दस्तावेज अन्तर्वार्ताको प्रिन्टलाई पनि साथमै राखेर यसको आधिकारिकता प्रमाणित गरिएको छ ।
अन्य पार्टीसँगको समीकरण वामपन्थीलाई हानिकारक
माले र कांग्रेस मिलेर सरकारमा गए भने तपाईंहरुको पार्टीलाई राजनीतिक र सांगठनिक रुपमा असर गर्छ कि गर्दैन ?
यहाँ धेरै मान्छेले राजनीति र संगठनलाई अलग अलग राख्ने गरेका छन् । तर, त्यस्तो होइन । गतल राजनीतिले कसरी संगठन हुन्छ ? यो कन्सेप्ट हाम्रा लिडर्समा पनि होला- माले सरकारमा गएपछि उनीहरुले संगठन बनाउँछन्, बलिया हुन्छन् भन्ने । तर हेर्नुस्, म त भन्छु माले भाइ कांग्रेस भएर झन् पतन हुन्छ । जनताले हामीले भन्दा बढ्ता बुझेका छन् ।
जुन कांग्रेसको विरुद्ध ५० वर्ष हामीले संघर्ष गर्यौं, यो शक्तिसँग हाम्रो कुनै पनि कुरा मिल्नै सक्दैन । त्यो शक्तिसँग मिलेर गएपछि जनताले नै छुट्याउँछन् । देखिहाल्नु भयो नि आफ्नो मान्यताका आधारमा भन्दा बाहिर गएर समीकरण गर्नुको परिणाम लेफ्टहरुलाई जहिले पनि हानिकारक हुन्छ ।
लोकेन्द्रसितको (लोकेन्द्रवहादुर चन्द)समीकरणमा देखिहालियो नि ! शेरबहादुरको सरकार गिराउनलाई ज्यानै फालेर लोकेन्द्रलाई प्रधामनन्त्री, अर्को फटाहालाई अर्थमन्त्री त्व शरणम् गरेर दियो अनि पाइयो इनाम । त्यसभन्दा अगाडि माफियाले सम्पर्क पनि गरेका थिएनन् । जब गए वामदेवहरु सरकारमा माफियाले पट्याए र त्यसकारण अराजनीतिक तरिकाबाट सत्तामा जाँदाको परिणाम भोग्न परेकाले म त्यस्ता समीकरणको विरोधमा छु ।
तपाईंले भारतको वरिष्ठ व्यक्ति देवेन्द्र बाबुसित एमाले फुटाउने भारत पनि हो भन्नुभएछ, त्यसको पुष्टि गर्न सक्नुहुन्छ ?
यो कुरा के हो भने मान्छेले आफ्नो कोठामा कुरा गर्दा जति ओपन कुरा गर्छ, त्यो पब्लिकमा जाने किसिमिले कुरा गर्नुहुँदैन । तर, म यति निश्चित भन्छु यहाँका पार्टीहरुले एउटा कुराको विषयमा चनाखो के हुनुपर्छ भने यहाँका पार्टीहरु सग्लो रुपमा रहन नसकून्, रोल प्ले गर्न नसकून्, विकसित भएर आउन नसकून् भन्ने शक्ति नेपालभित्र र बाहिर ठूलो जरो गाडेर बसेको छ ।
जुन कांग्रेसको विरुद्ध ५० वर्ष हामीले संघर्ष गर्यौं, यो शक्तिसँग हाम्रो कुनै पनि कुरा मिल्नै सक्दैन । त्यो शक्तिसँग मिलेर गएपछि जनताले नै छुट्याउँछन् । देखिहाल्नु भयो नि आफ्नो मान्यताका आधारमा भन्दा बाहिर गएर समीकरण गर्नुको परिणाम लेफ्टहरुलाई जहिले पनि हानिकारक हुन्छ ।
हाम्रो नौ महिनाको सरकार पनि तिनै शक्तिले ढालेका हुन् । उनीहरुले नै आफ्नो इन्टेन्सनअनुसार कसैले बनाउन नसक्ने खालको समीकरण बनाए । तपाईंहरुलाई पुरानो स्थिति थाहा छैन, ७ सालदेखि ५५ सालसम्म हेर्नुस्, यहाँको राजनीति पछाडि विदेशी शक्तिहरुले काम गरिरहेका छन् । यो यथार्थ बुझेर हामी कम्युनिष्टहरुले काम गर्न सक्यौं भने हामी अड्न सक्छौं । त्यो यथार्थ धेरै हदसम्म हाम्रो एमाले पार्टीले बुझेको छ ।
नेपाल भारत समस्याबारे : नाकाबन्दी लगाउँदा कोही बोल्छ ? त्यसैले भारतसँग कूटनीति र जनसमर्थनको नीति
कालापानी समस्यालाई कसरी समाधान गराउनुपर्छ भन्नुहुन्छ ?
हेर्नुस्, हामीहरुको तुलनामा इण्डियाको खेल्न सक्ने धेरै फिल्ड छ । इण्डियालाई गलाउने सम्बन्धमा डिप्लोम्याटिक र बुद्धिको लडाइँ लड्नुपर्छ । वास्तवमा प्रभावित पारेर जनमत सिर्जना गर्न सक्यौं भने भारतले त्यहाँबाट सेना हटाउनुपर्छ । कालापानीको बारेमा पछि पो मलाई थाहा भयो, तत्कालीन नेपाली पक्षले बद्मासी गरेको रहेछ नि त ! पञ्चायतकालमै आएर बसे हुन्छ भनेर अनुमति दिएको रहेछ । लेखेर दिएको छ रे ! सुगौलीको सन्धिले आधारभूत रुपमा नेपालको बोर्डर निश्चित गरेको छ । मैले पनि अध्ययन गरेअनुसार कालापानी नेपालकै हो । त्यहाँबाट भारतीय फौज हट्नैपर्छ ।
कतिपयले त अब इण्डियाविरोधी आन्दोलनको सिर्जना गर्नुपर्छ भनेका छन् । यसबारे तपाईंको धारा के छ ?
हेर्नुस्, हाम्रो देशमा इण्डियाको विरुद्ध बोल्ने र आन्दोलन सञ्चालन गर्ने २ वटा दृष्टिकोण छन् । हाम्रो आफ्नो स्थिति हेरेर अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि हामीलाई सहयोग गर्ने वातावरण बनाएर आफ्नो क्षमता र कुरा प्रस्तुत गर्नुपर्छ । भारतको विरोधका नाममा २-४ वटा जुलुस निकालेर, १-२ वटा कालो झण्डा देखाएरमात्र समस्या समाधान हुनेवाला छैन । किनकि भारतको हाम्रो नेपालप्रतिको जुन गलत दृष्टिकोण छ, त्यसलाई हटाउन भारतको जनतासमेतको समर्थन हामीले लिनुपर्छ । त्यहाँको संसदमा पनि यो कुरा उठाउन सक्नुपर्छ । त्यहाँका पार्टीहरुलाई पनि यो कुरामा सहमत गराउन सक्नुपर्छ ।
यति गर्न सक्यौं भने हामी सफल हुन्छौं । नत्र उसले नाकाबन्दी गर्दियो भने कोही बोल्छ ? पहिले ४६ सालमा नाकाबन्दी गर्दा अमेरिका पनि बोलेन । बंगलादेश पनि बोलेन, पाकिस्तान पनि बोलेन र चीन पनि बोलेन । यो बडो डेलिकेट कुरा छ । भारत र हाम्रा मतभेदहरुलाई समाप्त गर्न हाम्रो पार्टीले प्रस्तुत गरेको नीति नै ठीक छ ।
शेरबहादुरको सरकार गिराउनलाई ज्यानै फालेर लोकेन्द्रलाई प्रधामनन्त्री, अर्को फटाहालाई अर्थमन्त्री त्व शरणम् गरेर दियो अनि पाइयो इनाम । त्यसभन्दा अगाडि माफियाले सम्पर्क पनि गरेका थिएनन् । जब गए वामदेवहरु सरकारमा माफियाले पट्याए र त्यसकारण अराजनीतिक तरिकाबाट सत्तामा जाँदाको परिणाम भोग्न परेकाले म त्यस्ता समीकरणको विरोधमा छु ।
हाम्रै पार्टीको सरकारको बेलामा हामी गएर दिल्ली, बम्बै, कलकत्ता, हरियाणा जताततै राम्रो वातावरण बनायौं र कुरा राख्यौं । जुन कुरा कसैले उठाउन सकेका थिएनन् । कुरा स्वयं इण्डियन सत्ताधारीहरुले नै भनेका छन् मलाई, तपाईंमात्र यस्तो प्रधानमन्त्री हो, जसले यस्तो अडान राख्नुभयो भनेर । यहाँ त जुलुस निकाल्छन् इण्डियाको विरुद्धमा अनि पछि इण्डियन दूतावासमा लुसुक्क छिरेर सलाम गर्छन् । यो कुरा मलाई थाहा छैन ? यस्तो व्यक्तिहरु एक फोन आयो भने कर्कलाको पात जस्तो गलिहाल्छन् । त्यसैले भारतसितका हाम्रा मतभेदहरुलाई समाप्त गर्ने बाटो भनेको कूटनीति र भारतका जनतासमेतलाई सहमत गराउनुपर्छ ।
भारतले यसरी नेपालमा थिचोमिचो गरिराख्नुको कारण के होला ?
हाम्रो कमजोरी । हामी नेपालीले शुरुदेखि नै २००७ सालको क्रान्तिले ल्याएको परिवर्तनअनुसार अडान लिएर बसेका भए यस्तो हुन्थ्यो ? उसले तौलियो । नेपालीहरुलाई जो आए पनि आफ्नो कब्जामा लिन्छु भन्ने अहंकार पनि गरिहाल्यो । हाम्रो पार्टीलाई मात्र उसले कब्जामा लिन नसक्ने भएकाले विभाजनका खेलहरु पनि भए ।
एमालेको भविष्यबारे
एमालेको युवा नेतृत्वप्रति तपाईं कति विश्वस्त हुनुहुन्छ ?
हेर्नुस्, मुख्य कुरा के हो भने अब आउने २-४ वर्षको अवधि त अहिलेदेखि नै युवाहरुले कम्युनिष्ट आन्दोलनको नेतृत्व हामी गर्छौं भन्ने साहस लिएर त्यसअनुसारको क्षमता देखाए, त्यो मान्यताअनुसार गएर कम्युनिष्ट आन्दोलनलाई झन् उचाइमा पुर्याउने बेला आइसकेको छ । अबको नेतृत्व भनेकै युवा पुस्ताको हो । पुरानो भनेको त म एक जनामात्र छु । म पनि रोगी भइसकेको मान्छे, कति दिन पो बाँँच्छु र ! मेरो प्रण के छ भने अन्तिमसम्म देश र जनताको पक्षमा कम्युनिष्ट पार्टीमा बसेर लडाइँ लड्ने । अब भोलि नेतृत्व सम्हाल्न युवा पुस्ताले चाहिने किसिमको ठोस कूटनीति, विचार, योजना, मूल्यमान्यता र व्यवहार अपनाउनु पर्छ । युवा नेतृत्वका धेरै साथीहरुको काफी क्षमता देखिएको छ ।
फेरि एमालेमा यस्तो विभाजन र अराजकताको अवस्था आउन नदिन के गर्नुपर्ला ?
त्यो त म आफैं भनिरहेको छु । तपाईंले जुन कुरा सोध्नुभयो, त्यो कुरा म गाउँगाउँमा जाँदा जनताले भन्ने गर्छन् । अध्यक्ष कमरेड तपाईं चाहिँ पुरानो मान्छे, यहाँसम्म पार्टीलाई ल्याउनुभयो, तपाईं पनि हुनुहुन्छ, सूर्य चिह्न पनि छ । हामी त एक भएरै लाग्छौं भन्छन् ।
भारतको विरोधका नाममा २-४ वटा जुलुस निकालेर, १-२ वटा कालो झण्डा देखाएरमात्र समस्या समाधान हुनेवाला छैन । किनकि भारतको हाम्रो नेपालप्रतिको जुन गलत दृष्टिकोण छ, त्यसलाई हटाउन भारतको जनतासमेतको समर्थन हामीले लिनुपर्छ । त्यहाँको संसदमा पनि यो कुरा उठाउन सक्नुपर्छ । त्यहाँका पार्टीहरुलाई पनि यो कुरामा सहमत गराउन सक्नुपर्छ ।
फेरि एक पटक बहुमतको सरकारको प्रधानमन्त्री भएरमात्र छाड्छु भन्नुभएको थियो, पार्टी फुटेपछि त्यो प्रणमा परिवर्तन भयो कि ?
निश्चित रुपमा मैले आफ्नो जीवनमा यहाँसम्म आएपछि एउटैमात्र उद्देश्य बाँकी छ, त्यो के भने यो पार्टीलाई बहुमतमा पुर्याउने । मेरो त अब धेरै बाँच्नु पनि छैन । तर, पार्टीलाई बहुमतमा पुर्याएरै छाड्छु । निश्चित रुपमा फुटको पीडा मलाई छ । विश्वका कम्युनिष्टहरुले मलाई चिठी पठाउँछन्, खबर गर्छन्, सोध्छन्- पार्टी किन फुट्यो भनेर । विश्वकै कम्युनिष्ट पार्टीहरु चिन्तित छन् । नेपाल जस्तो देशमा पनि शक्तिमा आएको कम्युनिष्ट पार्टी फुटेकोमा उनीहरुले चिन्ता जाहेर गरिरहेका छन् । हेर्नुस्, नयाँ जनवादी सत्ता प्राप्तिका लागि यो फेज त पार गर्नैपर्छ ।
अन्य वाम पार्टीले तपाईंहरुलाई साम्राज्यवादी भनेर अमेरिकालाई किटेन, विस्तारवादी भनेर भारतलाई किटेन भन्ने आरोप लगाएका छन् । यो आवश्यकता एमालेले देखेन ?
उनीहरुले भनेर हुन्छ ? हामीले हाम्रो डकुमेन्टमा स्पष्ट रुपमा किटेका छौं । पार्टी फुटाउने बहानामात्र हो यो । तपाईं डकुमेन्ट त पढ्नुस् ।
फुटको पीडा मलाई छ । विश्वका कम्युनिष्टहरुले मलाई चिठी पठाउँछन्, खबर गर्छन्, सोध्छन्- पार्टी किन फुट्यो भनेर । विश्वकै कम्युनिष्ट पार्टीहरु चिन्तित छन् । नेपाल जस्तो देशमा पनि शक्तिमा आएको कम्युनिष्ट पार्टी फुटेकोमा उनीहरुले चिन्ता जाहेर गरिरहेका छन् ।
राजतन्त्रको भविष्यबारे : जुन बेला आवश्यक पर्ला, त्यहीबेला राजतन्त्रबारे निर्णय हुन्छ
नेपालको कम्युनिष्ट आन्दोलनको निरन्तरतामा यहाँको राजतन्त्र बाधक हुन सक्दैन ?
हेर्नुस्,नेपालमा अहिलेसम्मको स्थितिको कुरा गर्ने हो भने अहिलेको संविधानभित्र रहेर हामी जहाँसम्म जान्छौं, त्यहाँसम्म राजतन्त्र बाधक हुन सक्तैन । त्यसपछि नयाँ जनवादी क्रान्तिमा जाने बेलामा के होला, यसै भन्न सकिन्न । तर, अहिलेदेखि नै राजतन्त्र फाल्नुपर्छ भनेर किन फलाक्ने ? जुन बेला आवश्यक पर्ला, त्यही बेला निर्णय गरौंला । बाधक भयो भने त्यहीअनुसार व्यवहार गरौंला । २० वर्षपछि के होला अहिले कसरी भनने ?
५ दशक त कम्युनिष्ट पार्टीमा बिताउनुभयो, अब त विश्राम लिएर बस्ने बेला भएन ?
यो पार्टीलाई बहुमतमा नपुर्याई विश्राम लिन्न । अब त एक दुई वर्षकै कुरो हो । चुनाव हुन्छ । त्यहाँ आफ्नो भूमिका खेल्छु । हाम्रो पार्टीले बहुमत ल्याउँछ । किनकि हाम्रो इमेज बिग्रेको छैन, संगठन पनि बिग्रेको छैन । पूर्वाञ्चल घुमेर आएँ म । त्यहाँ एक ठाउँ पनि बिग्रेको छैन । मालेहरुको त कहिलेकाहीँ माया लाग्छ । सीपी, आरेक र देवीको झापामा दया लाग्दो स्थिति छ । पश्चिमाञ्चलमा अब वर्षात कम भएपछि म त्यता जान्छु । मेरो उमेर पनि यति भइसक्यो, जहाँसम्म सक्छु त्यहाँसम्म संघर्षरत रहन्छु ।
काठमाडौंमा फेरि सांसदको उम्मेदवार बन्नुहुन्छ ?
३ नं क्षेत्र मेरो हो । मैले चुनावमा भाग लिनुपर्छ । बरु चुनाव जितेर पार्टीले बहुमत ल्याएपछि छाडौंला । अहिले चुनावमा भाग लिइनँ भने अर्कै किसिमको कुरा उठ्न सक्छ । त्यसैले ३ बाट उठ्छु ।
उहाँका भनाई र तत्पश्चातको नेताहरुले सत्ताको लागि गरेका जथाभावी समिकरणलाई अझै बुझिएन भने सबै उपलब्धि मूतको न्यानो बन्न सक्दछ।