कर्णालीको कथा व्यथा समेटिएको सुरज पण्डितको ‘रातो किताब’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो)
काठमाडौं । कर्णालीका कथा व्यथा समेटेर ल्याएका म्यूजिक भिडियो ‘रेलको बाटो’को अपार सफलता प्राप्त गरेको तीन वर्षपछि गायक एवम सर्जक सुरज पण्डितले अर्को कर्णालीको कथा व्यथा समेटिएको म्यूजिक कोशेली ‘रातो किताब’ सार्वजनिक गरेका छन् ।
बजेट र अर्थनीति सँग सम्बधित एउटा सरकारी किताबलाई इंगित गर्दै पण्डितले दोस्रो पटक कर्णालीको कथा व्यथा समेटिएको ‘रातो किताब’ म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।
म्यूजिक भिडियोमा स्वर गायक पण्डितकै रहेको छ भने लिरिक्स र म्यूजिक पनि उनकै रहेको छ । लिरिक्स करेक्सर रमेश दाहालले गरेको गीतमा म्यूजिक एरेन्ज उदयराज पौडेल, मिक्सिङ मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् भने असिस्टेन्ट मिक्सिङको काम किरण सुनारले गरका छन् ।
रेकडिस्ट कमल मगर र गोविन्द अनेक, गितार अनुप दास, सारंगी हेमन्तकान्छा रसाईली रहेको गीत प्रिज्मा स्टुडियोमा रेकर्ड भएको हो । माता त्रिपुरासुन्दरी मिडिया हव प्रालीको उत्पादन तयार पारिएको म्यूजिक भिडियो निर्देशन लक्ष्मण सुनारले गरेका हुन भने अभिनय लक्ष्मण देवकोटा, सुस्मिता कुँवर र बसन्त उदासको रहेको छ ।
‘रातो किताब’बारे गायक एवम सर्जक पण्डितले भने, ‘यसलाई अलि फराकिलो परिभाषामा भन्दा यो जनताको किताब हो । जहाँ जनताका वास्तविक आवश्यकता र चाहानालाई समान र न्यायिक हिसाबले सम्बोधन गरिनुपर्ने हुन्छ । तर, बिडम्बना नेपालको परिस्थिति यसो हुन सकेन र यो भुइँमान्छेका सपना पूरा गर्ने जनताको आफ्नो किताब नबनेर सिमित मान्छेका स्वार्थ पूरा गर्ने पकेटको किताब बन्न पुग्यो । अब यस्तो नहोस भनेर यस परिस्थितिलाई खबरदारी गर्नका लागि रातोकिताब जस्तो सांगीतिक सिर्जनाको परिकल्पना गरिएको हो । आशा छ यो साँगितिक प्रस्तुती सबैजनाले मनपराइदिनुहुने छ र सम्बन्धित जिम्मेवार निकायसम्म पनि यो आवाज पुग्ने छ । उठाउन खोजिएका कुरालाई मनन गर्नुहुनेछ ।’
गीतका शब्द
चिठीमा लेखी पठाइदेउ हुलाकी दाईसंग
आउदैछ भने नुन चामल पर्खी बसौला
मै हिडी जाना सक्न्या नाई तिमी गाउँ फर्की आउदैनौ
आउदैँछ भने सिटामोल पर्खी बसौला
सुकिलो लुगा लाउनेले गरिबी मेरो देखेन
रातो किताबको पानामा ब्यथा मेरो लेखेन
गाउ बाट रित्तो हात गएको कसरी भयो अमिरा
गगनै चुम्ने छ अरे सहरमा अहिले महल
सहरको खबर पठाइदेउ हुलाकी दाईसंग
आउदैँछ भने जीवनजल पर्खी बसौला
गरिबका भान्सा हरुले पर्खी रहेछन सामल
के खानु बिहान बेलुकी पकाउने छैन चामल
स्वदेशमै रमाउछु भन्ने मन बिलासी रहर जागेन
भन्सुन गर्ने नहुदाँ पढेको कामै लागेन
पाइन्छ भने पठाईदेउ हुलाकी दाईसंग
गरिबी पुछ्ने त्यो रुमाल पर्खी बसौला