घरमै विद्यालयः १२ वर्षमा कक्षा १ पास भइन् बिनिता
चितवन । बिनिता चेपाङ १२ वर्ष पुगिन् । तर, हिँडडुल गर्दिनन् । जन्मजात कमजोर खुट्टा भएकी उनको दुबै खुट्टाले टेक्दैन । चेपाङ समुदायको बाबुआमा त्यसमाथि उनी तलका दुई सन्तानको हेरचाह गर्नुपर्ने अवस्था । त्यसैले बाबुआमाले खुट्टा टेकेर हिँडडुल गर्न नसक्ने बिनितालाई पढाउने सोचेकै थिएनन् ।
बाबुआमाले अपाङ्गता भएकै कारण विद्यालय पठाउने नसोचेपछि उनले पढ्न पाउने कुरै भएन । त्यसैले १२ वर्ष हुँदासम्म उनले विद्यालयको मुख देख्न पाइनन् । १२ वर्ष पुरा भएसँगै बिनिता पढ्न सक्ने भएकी छिन् । तर, विद्यालय गएर भने होइन । विद्यालय नै बिनिताकहाँ पुगेर पढ्न पाएकी हुन् ।
गत वर्ष बिनिताको घरमा पुगेका केही सामुदायिक सचेतकहरुले उनकी आमा धना र बुबा रञ्जन चेपाङलाई अपाङ्गता भएकी छोरीलाई पढाउन घच्घच्याए । छोरीलाई अक्षर चिनाए अपाङ्गताकै अवस्थामा पनि केही गर्न सक्छिन् भनेर सचेत बनाए । त्यसैको फलस्वरुप बिनिताले पढ्न पाइन् । बुधबार बिनिताको घर चितवनको कालिका ९ पुग्दा एकसुरले लेखिरहेकी थिइन् ।
जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख कल्पना काफ्ले सापकोटासहितको घरमा पुगेका एक टोली मानिस पुग्दा पनि आफ्नो ध्यान लेख्नमै केन्द्रित गरिरहेकी थिइन् बिनिता । उनलाई पढाउन विद्यालयकै पोशाकमा थिइन् प्रभा केसी ।
बिनिता चर्तुमुखी माध्यामिक विद्यालय क्षेत्र भित्रकी बालिका हुन् । उनको बहिनी सोही विद्यालयमा कक्षा ४ मा पढ्दैछिन् । बिनितालाई पढाउन सकिन्छ र उनले सिक्न पनि सक्छिन् भन्ने अटिजम केयर चितवन सोसाइटीले एक वर्ष अघि गरेको प्रारम्भिक रुपमा गरिएको समावेशी शिक्षा अन्तरगतको अध्ययनबाट पत्ता लागेको थियो ।
सोही आधारमा बिनितालाई पढाइमा सघाउन सोसाइटीले विमल बहादुर थापालाई घुम्ती शिक्षकको रुपमा राखेको थियो । तर, पढाइमा निकै लगनशील भएपछि उनलाई विद्यासँग जोड्नुपर्छ भन्ने लाग्यो, घुम्ती शिक्षक थापाले भने, — खुट्टाको समस्याले उनको पढाइलाई सिकाउन रोक्नु हुँदैन भनेर बिनिताको घर नजिकैको शिक्षक प्रभा केसीलाई विद्यालयसँग जोड्न प्रस्ताव राख्यौँ ।
चर्तुमुखी माध्यामिक विद्यालयकी बाल शिक्षक केसीको घर बिनिताको घरको एक सय मिटरको दुरीमा छ । उनको अपाङ्गताबारे थाहा भएपनि विद्यालय लैजानेसम्मको तरिका आफ्नो सोचाइमा पनि त्यतिबेलासम्म नभएको केसी बताउँछिन् ।
घुम्ती शिक्षकसँग सल्लाह भएपछि विद्यालयका प्रधानाध्यापकसँग सल्लाह गरि बिनितालाई प्रभा र विमल भएर विद्यालय पनि भर्ना गरिदिए । छोरीमा विस्तारै आफै सफाइ हुने, लुगा लगाउने, पढ्न लेख्न लगायतका परिवर्तन आउन थालेको देखेपछि उनको पढ्ने रुची पनि अभिभावकले भेउ पाए ।
तर, पढ्नको लागि भने विद्यालय जानसक्ने अवस्थामा बिनिता भइनन् । विद्यालयको बस चढेर विद्यालय जान साहारा बिना नसक्ने भएपछि उनीहरुले एउटै उपाय लगाए घरमै पढाउने ।
‘बिनितालाई पढ्न रुची भएपछि विद्यालयको सबै पढाइ जस्तै घरमै पढाउन थालियो, केसी भन्छिन्, — घर नजिक भएकोले बिहान बेलुका मैले समय दिन थालेँ । कक्षा १ मा अघिल्लो वर्ष भर्ना गरिदिएर प्रभाले अन्य विद्यार्थी सरह परीक्षा लिन पनि सहयोग गरिन् ।
प्रधानाध्यापकको स्वीकृतिमा कक्षा १ को परीक्षाको सबै विषयका प्रश्नपत्र घर ल्याएर अन्य विद्यार्थी सरह नै लेख्न दिइयो उनलाई । उनले लेखेका उत्तरपुस्तिका विद्यालयका सम्बन्धित शिक्षकलाई नै जाँच गर्न लगाइयो । शिक्षक प्रभा भन्छिन्, —उनले सबै विषयमा ६० प्रतिशत भन्दा बढी नम्बर ल्याएर पास गरेकी छिन् । उनको छुट्टै फाइल तयार गरि मैले नै राखेको छु ।
कक्षा १ पास भएपछि पुनः कक्षा २ पनि घरै बसेर पढ्न थालिसकेकी छिन् बिनिता । विद्यालय भर्ना अभियान चलिरहेकोले उनको भर्ना सकेर किताबकापी ल्याइदिने शिक्षक प्रभाले बताइन् ।
नजिक विद्यालय नहुँदा दुइवटै खुट्टाले काम नगर्ने अवस्थाकी छोरी घरमै यतिकै राख्नुभन्दा उनले पढ्न सकेको कुराले बुबाआमा भने निकै हर्षित छन् । ‘घरमा यत्तिकै बसिरहने छोरी पढ्न थालेकी छन्, एकदमै खुसी लागेको छ, बिनिताकी आमा धनाले भनिन्, — अहिले त घरमै विद्यालय आएको छ, सँधै यस्तो नहोला । छिटै हिँड्न सक्ने बनाएर छोरीलाई आफै विद्यालय जान सक्ने बनाउन पाए अझ खुसी हुन्थ्यौँ ।