केकी अधिकारी भन्छिन्- कोभिड नआएको भए ‘बोक्सीको घर’ बनाउने थिइनँ (भिडिओ) – Nepal Press
नेपाल टक

केकी अधिकारी भन्छिन्- कोभिड नआएको भए ‘बोक्सीको घर’ बनाउने थिइनँ (भिडिओ)

काठमाडौं । अभिनेत्री केकी अधिकारीद्वारा निर्मित तथा अभिनित चलचित्र ‘बोक्सीको घर’ को हिजो राजधानीमा भव्य प्रिमियर गरियो । केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र हेरेर निस्किएका चलचित्रकर्मीले केकीको खुलेर तारिफ गरे । उनको कामको चौतर्फी भयो । ३ वर्षअगाडि निर्मात्रीको रूपमा ‘बोक्सीको घर’ बनाउने अठोट लिएकी केकी प्रिमियरमा पाएको तारिफले हर्षित थिइन् ।

केही समयदेखि प्रचारप्रसारको दौडधुपमा व्यस्त थिइन् केकी । आजबाट चलचित्र देशव्यापीरूपमा प्रदर्शन भयो ।

अभिनेत्री केकी अधिकारी निर्मित चलचित्र ‘बोक्सीको घर’ एक सत्य घटनामा आधारित चलचित्र हो । केही समय अघि चलचित्रमा समावेश ‘बुझिन मैले, बुझाइदेउ कसैले’ बोलको गीत सार्वजनिक भएको थियो । गायक प्रकाश सपुतको शब्द-संगीत र गायिका समीक्षा अधिकारीको स्वर रहेको उक्त गीत अत्यधिक रुचाइएको छ । गीतले दर्शकप्रति चलचित्र कस्तो होला भन्ने एक किसिमको कौतुहल जगाएको थियो । गीत राम्रो हुनुको श्रेय केकी समीक्षा र अझै बढी प्रकाशलाई दिन्छिन् ।

गायक सपुतले गीतको शब्द-शब्दमा ज्यान भरेकाले गीतलाई दर्शकले रुचाएको उनको मान्यता छ । निर्माताको रूपमा चलचित्र बनाउने भनेर स्क्रिप्ट हातमा पर्नासाथ सुरुमै केकीले सम्झिएकी पात्र हुन गायक प्रकाश सपुत । यो चलचित्रमा प्रकाश र आफू कुनै न कुनै पाटोबाट जोडिन्छौ भन्नेमा केकी पक्का थिइन् । ३ वर्ष अगाडि फर्किदै केकी सम्झिन्छिन, ‘स्क्रिप्टमा जे छ त्यो उहाँले मनन गर्न सक्नुहुन्थ्यो । त्यसैले स्क्रिप्ट नै उहाँलाई देखाए । उहाँले पनि स्क्रिप्ट मन पराउनुभयो । उहाँले स्क्रिप्ट नै पढनु भएकाले गीत यस्तो बनाउनुपर्छ भनेर समेत बुझाउनु परेन ।’

सुरूमा गीत सार्वजनिक गर्दा दर्शकले यति धेरै माया बर्साउनेमा केकी आफैं अनविज्ञ थिइन् ।

उनी भन्छिन,‘यति धेरै माया गर्दिनुहुन्छ जस्तो लागेको थिएन गीत, शब्द, संगीत र आवाज राम्रो छ भन्नेमा म सय प्रतिशत विश्वस्त थिए । यसमा कुनै शंकै थिएन । तर फिल्म फरक जनराको भएकाले र गीतमार्फत चलचित्रको कथासार बुजाउनुपर्ने भएकाले अरु नर्मल भिडियोमा जस्तो काम गर्न मिलिरहेको थिएन ।’

‘विद्रोहको गीत बनाउनु पर्ने थियो । र, विद्रोहको गीत जहिल्यै सबैसँग कनेक्ट नहुन सक्छ । यो एकदमै गाह्रो कुरा थियो । सबै कुरा सही समयमा भएर होला गीत एकदमै राम्रो भयो,’ उनले सुनाइन् ।

६ महिना वर्कशप र ३० दिनको छायांकनपछि यो चलचित्र तयार भएको हो । चलचित्रको छांयाकन काभ्रेको पिपलटार, सिन्धुपाल्चोक र धादिङमा गरिएको छ । बीचमा फिल्म फेस्टिभलमा पठाउने विषयले चलचित्र रिलिजमा एक वर्ष ढिलाइ भएको थियो । कोभिडको टाइममा निर्माण भएको यसै चलचित्रको लागी केकीले कपाल मुण्डन गरेकी थिइन् । सार्वजनिक पोष्टर, ट्रेलर र टिजर हेर्दा चलचित्र हरर जनराको जस्तो लाग्छ । तर, चलचित्र हरर जनराको नभएको केकी बताउँछिन् ।

‘हाम्रो पहिलो टिजर सर्वजनिक भएदेखि नै सबैले यसलाई हरर मुभी भन्ने ठानिरहनु भएको छ । तर, यसलाई सामाजिक साईकोलोजिकल थ्रिलर भनिन्छ । यो हरर मुभी होइन, यहाँ कुनै भुत आउँदैन । न त यो कुनै आत्माको कथा हो,’ उनी भन्छिन,‘यो जीवित मान्छेको कथा हो । बोक्सी भनिएकाले गर्दा केही थ्रिल देखाउन खोजिएको हो । हामीले सामाजिक विषयमा कथा बनाएका हौं । यो सत्य घटनामा आधारित र कुनै व्यक्तिको कथा हो । यसलाई यसरी नै बुझौँ ।’

‘बोक्सीको घर’ बारे केकीसँगको कुराकानी नेपाल टकमा

– हाम्रो समाजमा अझै पनि यस्ता घटना भइरहेका छन् ?

दुई, तीन हप्ताअघि बाहेकका पत्रपत्रिका हेर्ने हो भने फ्रन्ट पेजमै यस्तो घटनाको समाचार छ । त्यो फेरि यहीँ वरपर काठमाडौं नजिक घटेको घटना हो ।

– गीतमा कालो बिरालोलाई बोक्सीकै रूप हो भने जसरी प्रस्तुत गर्नुभएको थियो । कालो बिरालो बोक्सी नै हुन्छन् भनेर देखाउन खोज्नुभएको हो ?

हाम्रो सोच के हो भने, हामीले अरुलाई हानी नहुने बाहेकका सबै प्रकारको अन्धविश्वासहरूमा प्रहार गर्नुपर्छ भन्ने हो । अरुलाई हानी नहुने कुरा त खासै महत्वको विषय पनि भएन । यो कालो बिरालोलाई लिएर हामीमा जुन भ्रम छ, त्यो देखेर मलाई नै नरमाइलो लागेर आउँछ । हामी कालो बिरालो देख्नेबित्तिकै बोक्सीको अवतार हो जस्तो गछौँ । कालो बिरालोले बाटो काट्यो भने भरसक त्यो बाटै हिँड्न रुचाउँदैनौ । हामीमा बोक्सीले त्यहाँ आफ्नो आत्मा छोडेको हुन्छ रे भन्ने मान्यता छ । हुन त यो हामी नेपालीमा मात्र होइन, बााहिर पनि यस्तै मान्यता छ । बोक्सीविद्या भन्ने चिजसमेत संसारभर केही न केही नाम दिएर, कुनै न कुनै रूपमा व्याप्त छ । ऊ त एउटा बिरालो हो जो कालो छ । विचराको त्यसमा के गल्ती छ ? तर, हामीले उसलाई लिएर यस्ता-यस्ता कथाहरू जोडिदिएका छौं कि उसको जिन्दगी नै बर्बाद गर्दिएका छौ । त्यही भएर यो कालो बिरालोको केसमा सबै नेपालीहरू कनेक्ट गर्न सक्नुहुन्छ भनेर देखाउन खोजेका हौं ।

– तपाईँ चाहिँ कतिको विश्वास गर्नुहुन्छ भुत-प्रेत र बेक्सीको कुराहरू ?

विश्वासभन्दा पनि हाम्रो हुर्काइ नै यस्तै कुराहरू सुनेर भएको छ । अब त ठूलो भयौँ, यो अन्धविश्वास मात्र हो त्यसैले अब यस्ता कुराहरू पालना गर्नु हुदैन भन्ने सोच्न खोज्दासमेत कहीँ न कहीँ हामी अड्किन्छौं । आज पनि हामी अडकिनु भनेको हामीले सिक्दै र सुन्दै आएका कुराहरू बाट हामी पूर्णरूपमा पन्छिन नसक्नु हो । म त काठमाडौंमै जन्मिएर हुर्किएँ त्यसैले बोक्सीका कुराहरू नजिकबाट नियाल्न पाइन । तर, पनि केही कथाहरू सुनेकी छु। म हुर्किँदै गर्दा एउटी आमालाई गरेको व्यवहारहरू म अहिले पनि सम्झिन्छु । म त्यति बेला होस्टेलमा बस्थेँ । छेउमा एउटी आमा हुनुहुन्थ्यो जसले दिएको खानेकुरा कसैले खाँदैन थिए । छेउछाउमा कोही बिरामी भए भने अस्पताल लानुअघि उनले दिएको खानेकुरा खाएको पो थियो कि भनेर सोधिन्थ्यो । यस्ता कुराहरू सुन्दासुन्दा हामीलाई पनि हो कि भन्ने लाग्दो रहेछ । जसले विकराल रूप लिन्छ । सहर भएकाले यो यतिमा मात्र सीमित भयो होला तर गाउँ घरमा यस्ता कुराहरुले चरम सिमा नाघ्छन । विकट गाउँहरूमा अहिले पनि कपाल मुण्डन गर्दिने, गाउँ समाजको अगाडी बेइज्जत गर्दिने, नील डाम बसाउने, गाउँ निकाला गर्ने, मलमुत्र ख्वाइदिने जस्ता कार्यहरू हुन्छन् । जुन सोच्दा पनि आङ जिरिङ्ग जिरिङ्ग हुन्छ । झन् भोग्नेलाई कस्तो हुन्छ होला ?

– चलचित्र बनाउन यही विधा किन रोज्नुभयो ?

मलाई अधिकतमले सोध्ने प्रश्न हो यो । धेरैले यही विषयमा किन चलचित्र किन बनाउनु भयो ? भित्री गाउँको कथा देखाएर चलचित्र बिक्छ र ! वा मान्छेमा जे बिक्छ त्यो पो गर्ने हो त भन्नुहुन्छ । कलाले त त्योमात्र गर्ने होइन नि ! संसारमा एकजना मात्र मान्छेलाई घटेको घटनालाई पनि प्रतिनिधित्व गर्न सक्नुपर्‍यो र त्यो हुनु हुँदैन भन्न सक्नुपर्‍यो । २०१५ मा नाटक हेर्दाहेर्दै मेरो मन छोएको कथा हो यो । त्यसैले यो बनाउँछु भन्ने लाग्यो । यो त्यो बेलाको चर्चित नाटक हो जुन हेर्नको लागी एउटा सीटसम्म खाली थिएन । म पनि सुरूमा हल्ला सुनेरै हेर्न गएकी थिएँ । सुरुमा सुन्दा त मलाई पनि किन यस्तो नाम राखेको होला भन्ने लागेको थियो । सीधै महिलालाई प्रहार गरे जस्तो । किनकी बोक्सी भन्ने शब्द कसैलाई चोट पुर्‍याउन प्रयोगसमेत गर्न मिल्दैन । कानूनी रूपमा यो दण्डनीय छ । तर, दर्शक भएर नाटक हेरेपछि मलाई महसुस भयो कि जुन नाम राखिएको छ त्यो नाम कथाको लागि ५०० प्रतिशत सही नाम हो । हामी सामान्यतया आफूलाई नपरेको कुरा बेवास्ता गर्छौं । हामीलाई परेको छैन के मतलब राख्नु भन्ने सोच्छौं । त्यस्तो प्रवृतिमा प्रहार र प्रश्न हो यो चलचित्र ।

– यो कति लगानीमा बनेको चलचित्र हो ?

हिसाबकिताब गर्ने हो भने त धेरै नै पर्न आउँछ । मानसिकदेखि शारीरिक कति घाटा भएको हुन्छ । मैले यसै चलचित्रको लागी कपाल मुण्डन गरे । जसका कारण मैले एक वर्ष केहीमा काम गर्न पाइन । आफूले हालेको मात्र कुरा गर्ने हो भने त थोरै देखिएला । तर, भित्री रूपमा धेरै लगानी लागेको छ । अंकमा ठ्याक्कै भन्नु पर्दा १ करोडको लगानी लागेको छ । खर्च अझै बढ्दो छ । खर्चको हिसाबकिताब आउन अझ बाँकी नै छ ।

– लामो समयको लागि यो चलचित्र ठीक होला तर व्यापारिक हिसाबमा भने सोचेजस्तो नहुन सक्छ । किन त्यत्रो खर्च गरेर यो जनरामा जोखिम मोल्नुभयो ?

यसमा कोभिडको ठूलो हात छ । आजजस्तो नर्मल समय हुन्थ्यो भने म सायद यो जोखिम लिदिनँ थिएँ होला । त्यति बेला मसँग अलिअलि सेभिङ थियो । कोभिड लामो लम्बिएपछि के गर्ने त भन्ने कुरामा घोटिँदा घोटिँदै मलाई ‘बोक्सीको घर’ को याद आयो । घरमा भने यस्तो परिस्थिति फेरि आउन सक्छ, त्यसैले भएको पैसा जग्गामा लगानी गर वा त्यस्तो ठाउँमा लगानी गर जहाँबाट डबल आओस् भन्ने कुरा गर्नुहुन्थ्यो । तर, मलाई भने त्यो कुरा मनमै कहिल्यै आएन । मलाई म त्यस्तो कथा भन्छु जुन मलाई भन्न मन छ भन्ने थियो ।

मैले यो पैसा यहीँ बाट कमाएकी हुँ । मैले चलचित्रमा काम गरेर, दर्शकले माया गरेर र फिल्म मेकरले विश्वास गरेर दिएको कामले आर्जेको पैसा हो । त्यसैले गए पनि यही चिजमा जान्छ तर भन्न मन लागेको कुरा भन्छु भन्ने लाग्यो । त्यो समय टन्न धन-सम्पत्ति हुनेहरूले समेत कोभिडका कारण ज्यान गुमाउने समय थियो । त्यसैले जिन्दगीमा धनले मात्र ठूलो भूमिका खेल्दैन भन्ने मनसायले यो चलचित्र बनाउने सोच आयो । अहिले फेरि यो समयमा चलचित्र बनाउनु हुन्छ ? भन्ने सोधेको भए चाहिँ म बनाउदिन थिएँ होला ।

– कलाकार हुँदा र निर्माता हुँदामा कतिको गाह्रो-सजिलो हुँदो रहेछ ?

कलाकार हुँदा एउटा मात्र जिम्मेवारी हुन्छ-आफ्नो पात्रलाई न्याय दिने । सबै कुरा तयार हुन्छ । हाम्रो काम भनेको जाने र अनुशासनमा बसेर दिइएको काम सही तरिकाले गर्ने र प्रचारप्रसारको समयमा गएर प्रचार गर्नेमात्र हो । तर, निर्माता हुँदा सबै कुरा ध्यान दिनुपर्छ । प्रि-प्रोडक्सनदेखि लिएर टीम सेलेक्सन र टीम मोटिभेसनसम्मको काम निर्माताको हुन्छ । सबैभन्दा मुख्य भनेको टीम मोटिभेसन रहेछ जसमा हाम्रो ध्यानसमेत गएको हुँदैन । हरेक दिन के सिधिन्छ, कसरी मिलाउने, कसलाई के समस्या परिरहेको सम्मको कुरा एउटा निर्माताको थाप्लोमा हुन्छ ।

स्पोन्सर व्यवस्थापन, छायांकनका हरेक सानासाना कुरादेखि लिएर पछि चलचित्र स्क्रिनमा आउँदासम्मको हरेर कामहरू निर्माताले मिलाउनु पर्ने हुन्छ । त्यतिमा पनि निर्माताको काम नसकिँदो रहेछ । यहाँको काम सकिएपछि अब बाहिर कसरी पुर्‍याउने भन्ने चिन्ता । यो फिल्मले अन्तराष्ट्रिय मूल्य राख्छ भने फिल्म फेस्टिभलमा पठाउनुपर्‍यो । यो हेर्दाखेरि ३ वर्षको काम भएपनि मेरो लागि ५,६ वर्षको काम हुन जान्छ जस्तो लागी रहेको छ ।

– ३० दिनसम्म बोक्सीको भूमिका निर्वाह गर्दा छायांकन सकिएपछि त्यसकै झल्को आउने वा त्यही पात्र मनमा बसेर आफुलाई गाह्रो हुने जस्तो परिस्थिति आयो कि आएन ?

मैले पहिला यस्तो खालको अभिनय नगरेको र प्रशिक्षण नलिएकाले केही समय पात्र मनमै बस्यो। बोक्सी सम्बन्धी केही घटना वा समाचार सुने भने यो त मलाई घटेको थियो भन्ने लाग्छ । सुरुसुरुमा रुखमा चढ्ने दृष्यहरू गर्नुपर्दा यस्तो पनि हुन्छ र भन्ने लाग्थ्यो।  पहिला त आफूलाई साइकोलोजिकल हिसाबले कन्भिन्स्ड गर्ने समय लाग्यो । कन्भिन्स्ड भएपछि त्यसबाट निस्किन पनि केही समय लाग्दो रहेछ ।

– चलचित्र बनाउँदा वा बनाउनुपूर्व कहीँकतै गएर यस विषयबारे रिसर्च गर्नुभयो ?

यो चलचित्र नाटकमा आधारित हो । र, त्यो नाटक रिसर्चमा आधारित हो । यो घटना जसमा घटेको हो सोही व्यक्तिसँगको कुराकानी र रिसर्चपछि यो नाटक बनेको हो । त्यसैले बाँकी केही गर्न परेन । एक त मलाई व्यक्तिगतरूपमा त्यहीँ गएर बुझ्न वा हेर्न गाह्रो हुन्छ । क्षणिकरूपमा त्यो पात्र निभाउँदा त मलाई कति गाह्रो भयो, झन प्रत्यक्षरूपमा त्यस्तो भोगेको वा सहेको व्यक्तिसँग भेट्न मलाई गाह्रो हुन्थ्यो । उहाँहरूले मेरो अगाडि निको भएजस्तो देखाउनु होला तर फेरि गएर उहाँहरुको निको हुन लागेको घाउ कोट्याउन मलाई आँट आएन ।

– चलचित्रलाई गाउँगाउँमा लगेर देखाउनेबारे केही सोच्नु भएको छ ?

सोचेका छौं । पहिला यहाँका दर्शकहरूले हलमा हेर्नुहोस् । त्यसपछि के गर्ने भन्ने सल्लाह हुन्छ । समाजमा यो कथा पुगेन भने चलचित्र बनेको औचित्य हुँदैन । यहीँमात्र देखाउने हो भने यसको ठाउँमा अरु नै जनराको चलचित्र बनाएको भए भइहाल्थ्यो नि !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर