विश्वविद्यालय मेरै पालामा सुधार हुन्छ : प्रधानमन्त्री प्रचण्ड
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरुमा रिक्त रहेका पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।
मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले खुल्ला प्रतिस्पर्धाको आधारमा पदाधिकारीको नियुक्तिको टुङ्गो लाग्ने बताए । उनले खुल्ला प्रक्रिया बाट प्रकृया अघि बढाइएकोले केही समय ढिलाई भएको बताए ।
उनले सरकारले विश्वविद्यालय सुधारका लागि विभिन्न प्रयास थालेको बताए । उनले भने, ‘आफ्नै पालामा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रक्रियाको थालनी भएको हुन्छ ।’
उनले खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने काम त्रिभुवन विश्वविद्यालयबाट कार्यान्वयनमा ल्याइएको खुल्ला प्रतिस्पर्धात्मक प्रणालीलाई पूर्वाञ्चल विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयहरुमा पनि लागू गरिएको उनले बताए । उनले पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयार गरी मेडिकल कलेज सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री दाहालले बिशेषत जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको सम्वर्द्धन गर्नुपर्ने बताए ।
१२ औं दिक्षान्त समारोहमा ७ हजार ८५६ विद्यार्थी दीक्षित भएका छन् । जसअन्तर्गत स्नातक तहमा ६ हजार ५६८, स्नातकोत्तर तहमा १ हजार २८५ र एम फिलमा ३ जना विद्यार्थी दिक्षित भएको विश्वविद्यालयले जनाएको छ ।