डढेलोले सकिँदै वन, सिंहदरबारलाई रापले छोएन – Nepal Press

डढेलोले सकिँदै वन, सिंहदरबारलाई रापले छोएन

काठमाडौं । बुधबार एकैदिन खोटाङको बराहपोखरी गाउँपालिका र रावाबेंसी गाउँपालिकामा डढेलोको कारण मानवीयसँगै भौतिक क्षति भयो । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा १३ घर, ७ मचान र दुइटा गोठ खरानी भयो ।

बुधबार नै रावाबेंसी गाउँपालिका-१ कुभिन्डेमा डढेलो निभाउने क्रममा जलेर ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भयो । खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैंले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनसम्म सल्किएर डढेलोको रुप दियो, डढेलोमा परेर श्रेष्ठले मृत्युवरण गर्नुपर्‍यो ।

यी दुइटै घटनाको क्षतिको कारण वनमा लागेको डढेलो थियो । १० स्थानीय तह रहेको खोटाङको अधिकांश सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर छ ।

डढेलोले घरमात्र होइन, आगो निभाउन गएको दमकलसमेत जलेको छ । बुधबार रुपन्देहीको तिलोत्तमा- ८ गणेशनगरको जंगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासि आगोको लप्काले टिपेपछि इन्जिनसहितको भाग पूर्ण रुपमा जल्यो ।

मंगलबार सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा ५ घर जल्यो । स्थानीयको खरबारीबाट सल्केको आगो गाईखर्क सामुदायिक वनमा फैलिएर डढेलोको रुप लियो, जुन बस्तीमा छिर्दा ५ घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी डढेलोको कारण ४५ दिनको अवधिमा म्याग्दीको करिब ७०० हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ वटै स्थानीय तहका १११ वनमा डढेलो लागेको छ ।

डढेलोले जिल्लाको ६९३ हेक्टर वन क्षेत्र सखाप भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विष्णु अधिकारीका अनुसार बेनी नगरपालिकालगायत मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको छ ।

त्यस्तै फागुनदेखि वैशाख ११ गतेसम्म तनहुँका २३ वटा सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोका कारण साढे दुई महिनाको अवधिमा ११७.३ हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जिल्लाका १० मध्ये सात पालिकाका वन डढेलो हुनबाट जोगिएको छ ।

भौगोलिक विकटताका कारण आगलागी घटनापछि नियन्त्रणमा लिन कठिनाइ हुने गरेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी वन अधिकृत राजकुमार श्रेष्ठ बताउँछन् ।

बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौं सामुदायिक वनमा लागेको आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ । वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन । ठूल्ठूला काठ, मुढा डढेर अङ्गार बनेका छन् । झाडी सबै जलेर सकिएको छ ।

आगलागीले वनमात्रै जलेन, वन्यजन्तुको बासस्थान नै ध्वस्त भयो । कति चराचुरुङ्गी र वन्यजन्तुसमेत आगोमा परी जले, त्यसको कुनै लेखाजोखा छैन । आगलागीबाट जोगिन भागेका वन्यजन्तु नजिकका गाउँबस्ती पसेका छन् । गाउँमा पसेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन् ।

यसअघि वैशाख ३ गते डढेलोकै कारण गुल्मीमा एक जनाको मृत्यु भएको थियो । मुसीकोट नगरपालिका- १ तल्लो पौनीस्थित सर्वोदय माविको जग्गाको सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर ५८ वर्षीय महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरलले बताए ।

सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घरगोठ जलेको थियो । दर्जनौं चौपाया गोठमै जलेका छन् । हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमै पुगेको थियो ।

यी माथिका घटना बैशाखयताको डढेलोले विकराल बनाएको दृष्टान्त हुन् ।

यस पटक वन क्षेत्रमा लागेको डढेलो हावाहुरीले बस्तीसम्म पुग्यो । जसको कारण अधिकांश जिल्लामा वनमा लागेको आगो बस्तीसम्म आइपुग्दा घरगोठहरु जले ।

मानवीय क्षतिसँगै ठूलो आर्थिक क्षति

फाइल तस्बिर ।

मध्यपहाडी र पहाडी जिल्लामा डढेलोले आक्रान्त बनाइरहेको बेला तराईका जिल्लामा आगलागीले ठूलो क्षति व्यहोर्नुपर्‍यो । १२ बैशाखमा महोत्तरीको मटिहानीमा परालको कुन्युबाट सल्केको आगोले भीषण रुप लिँदा ११० घर पूर्ण रूपमा जलेर खरानी बनायो ।

आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ । मध्याह्नतिर लागेको आगो हावाको बहाबसँगै तीव्र गतिमा बस्ती पसेको थियो । सो घटनामा पाँच वटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएको मेयर हरिप्रसाद मण्डल बताउँछन् ।

बुधबार डढेलोबाट घर जोगाउन पानी भएको बाल्टिन बोकेर धुरीमा बसेको दृश्यले धेरैको ध्यान तान्यो । यो दृश्यबाट नै थाहा हुन्छ आगलागी र डढेलोले मुलुकमा कति त्रास फैलाएको छ भनेर ।

दाङको आमखोली सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तेलिया गाउँमा सल्किएपछि गाउँलेहरु आफनो घर जोगाउन पानीको बाल्टिन लिएर धुरी चढेर बसेका थिए । बस्तीमा आगो फैलन सक्ने देखिएपछि गाउँलेहरु घर जोगाउने प्रयासमा लागेका हुन् ।

तराईमा अधिकांश झुरुप्प परेको बस्ती त्यहीमाथि फुसले छाएको घर भएकाले छिनभरमै ठूलो क्षति हुने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बैशाख १ देखि १२ गतेसम्म डढेलो र आगलागीका ४७९ घटना भइसकेको छ । यस्तै घटनामा परी ८ जनाले ज्यान गुमाइसकेका छन् भने ३१ जना घाइते छन् । १९ करोड रुपैयाँको आर्थिक क्षति हुनुको साथै २९७ घरगोठ जलेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार यस पटक डढेलो धेरै ठाउँमा फैलनुमा हावाहुरीले भूमिका खेल्यो । लामो समय पानी नपरेको र हावा चलिरहेकाले एक ठाउँमा लागेको आगो अर्को ठाउँसम्म पुग्दा थप क्षति भएको उनले बताए ।

सन् २०१२ देखि २०२३ सम्मको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी २०२१ र २०१६ मा डढेलोको घटना बढी भएको थियो ।

त्यस्तै यो ११ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी डढेलो अप्रिल महिनामा लागेको देखिन्छ । यही बीचमा सबैभन्दा बढी डढेलो बर्दिया, सुर्खेत, बाँके, दाङ, कैलाली, चितवन, कञ्चनपुर, पर्सा, सल्यान र डोटीमा लागेको छ ।

यतिबेला डढेलोको पीक आवर चलिरहेको छ । नेपालमा बैशाख दोस्रो सातादेखि डढेलोको जोखिम उच्च (पिक आवर) सुरु हुन्छ । ८० प्रतिशत डढेलो फागुन-चैतदेखि बैशाख-जेठको समयमा लाग्ने गर्छ । चैत-बैशाखको अवधिमा २ हजार डढेलोको घटना भएका छन् । बर्सेनि औसतमा २ हजार ५०० जति आगलागीका घटना हुने गरेको छ ।

पूर्व झापादेखि पश्चिम कैलालीसम्मका वन यतिबेला डढेलोले सिधिँदैछ ।

डढेलो लाग्न नदिन के गर्ने ?

राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा डढेलोविद् सुन्दरप्रसाद शर्मा डढेलोको उच्च जोखिम अझै डेढ महिना रहने बताउँछन् ।

डढेलो लाग्न नदिन उनको सुझाव छ, ‘डढेलोले घरबस्तीमात्र नभई बहुमूल्य जडिबुटीहरु पनि मासिरहेको छ । सुख्खा मौसम सुरु भएदेखि सकेसम्म खेतबारीको सरसफाइ गर्न आगो नलगाउने, यदि लगाउने नै हो भने हावा नचलेको बेलामा सावधानीपूर्वक लगाउने, चुरोटको ठुटो निभाएर फाल्ने, वनमा गोल पोल्ने काम नगर्ने, स्थानीय तहले डढेलोको सम्भावना भएको सामुदायिक वनमा गोठालो राख्नेदेखि समुदायलाई डढेलोबाट हुने हानिबारे सचेत गराउने र वन डढेलो प्रतिकार्य बनाउनुपर्छ । यतिबेला खरबारीमा लगाएको आगो अनियन्त्रित हुनसक्ने भएकाले आफ्नै निजी खरबारीमा पनि आगो नलगाउन सुझाव दिन्छन् ।’

उनी थप भन्छन्, ‘अनियन्त्रित भएर उम्कियो भने हाम्रो घरबस्तीमा पनि आउनसक्छ । नजिकको जंगलमा पनि सल्केर जानसक्छ ।’

एक अध्ययनका अनुसार नेपालमा हुने अधिकांश डढेलो ‘नियोजित’ हो । झण्डै ६४ प्रतिशत डढेलोका घटना कृत्रिम छन् । प्राकृतिक कारणले वनमा डढेलो लाग्ने घटना ज्यादै न्यून रहेको अध्ययनको प्रक्षेपण छ । विज्ञहरुका अनुसार मानवीय लापरबाही र वन पैदावरको अनुचित लाभ लिने उद्देश्यले नै धेरै डढेलो लाग्ने गरेका छन् ।

वनविज्ञ भोला भट्टराईका अनुसार वनजंगलमा डढेलो लाग्नुको मुख्य कारण ३ वटा छन् । पहिलो, मानवीय लापरबाही, दोस्रो नियोजित र तेस्रो जंगली जनावर भगाउने उपायस्वरुप ।

यस्ता कार्यहरुले गर्दा डढेलाले वनजंगल र घरबस्ती नै सखाप पारेको उनी बताउँछन् ।

आगो निभाउन दमकल होइन, फायर पम्प चाहिन्छ

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आँकडाअनुसार ७७ जिल्लाका ७५३ स्थानीय तहमा जम्मा १५१ वटामात्र दमकल छन् । त्यसमध्ये १३४ वटामात्रै सञ्चालनमा छन् । त्यसमा पनि सबैभन्दा धेरै काठमाडौं उपत्यकामा छ ।

स्थानीय तहमा अहिले दमकलभन्दा डोजर किन्ने होड छ । त्यसकारण पनि आगलागीमा स्थानीय तहको भूमिका शून्य हुने गरेको विज्ञहरुको भनाइ छ ।

अहिले देशभरको आगलागी नियन्त्रणमा लिन नसक्नुको कारण तालिम प्राप्त दस्ता स्थानीय तहमा नहुनु पनि हो । त्यसमाथि आगलागी नियन्त्रण गर्ने उपकरण नहुँदा पनि समस्या भइरहेको छ । डढेलो भिरपाखामा लाग्ने हुँदा त्यहाँ दमकल नपुग्ने अर्को चुनौती छ ।

उपसचिव शर्मा भन्छन्, ‘तालिम प्राप्त दस्ताहरु स्थानीय तहमा छैन । उनीहरुसँग डढेलो नियन्त्रण गर्ने उपयुक्त औजारहरु छैनन् । धरातलीय अवस्था हेर्दा पनि भिरपाखाहरु छन् । सुरक्षाका कुराहरु पनि चुनौती छ । तालिम प्राप्त जनशक्ति पनि छैन । आफ्नो वन जलेको टुलुटुलु हेरेर बस्न पनि सकिँदैन । निभाउन जाँदा ज्यानै जाने गरेको छ ।’

आगलागी नियन्त्रणका लागि दमकल सबै ठाउँमा पर्याप्त नहुँदा प्रोटोकल फायर पम्प प्रभावकारी हुने प्राधिकरणका कार्यकारी प्रमुख पोखरलेको भनाइ छ ।

उनले भने, ‘दमकलले पुग्दैन, फायर पम्प चाहिन्छ । जसले पोखरी, नाला, इनारको दमकल जत्तिकै अन्तर्राष्ट्रिय बजारमा खोज्यौं भने पानी ट्याङ्क भरेर राख्ने । उनीहरुलाई नै तालिम दियो भने कम हुनसक्छ । अब पालिकाहरुले अनिवार्य रुपमा फायर पम्प किन्न जरुरी छ ।’

कसरी नियन्त्रणमा लिने डढेलो ?

विज्ञहरुका अनुसार जंगल र बस्तीको बीचमा सुरक्षा घेरा बनाउनुपर्छ । डढेलोविज्ञ अधिकारीका अनुसार अरुतिरबाट आएको आगो घरबस्तीमा आउँदैछ भने घरबस्ती र जंगलको बीचमा कम्तीमा ५ मिटरदेखि १० मिटरसम्म सुरक्षा घेरा बनाउनुपर्ने हुन्छ ।

त्यहाँ भएका पातपतिंगर, बनमारा झाडीहरु सफा गर्नुपर्छ । जंगलमा लागेको आगो जुनसुकै बेला पनि आउनसक्छ । राति वा दिउँसो पनि आउन सक्छ । एकातिरबाट आगो आइरहेको छ भने अर्कोतर्फ अग्नि रेखा बनाएर सोही ठाउँबाट आगो लगाएर पठाउनुपर्ने उनी बताउँछन् ।

ताकि दुईतर्फबाट आएको आगो बीचमा जुधेर निभ्छ । यो उपाय पनि गर्न सकिन्छ ।

‘जंगल र बस्तीको बीचमा सुरक्षा घेरा बनाउनुपर्छ । ताकि अनियन्त्रित जंगलबाट आएको आगो बस्तीमा नपसोस् । त्यहाँ सुरक्षा घेरा बनोस् । घरबस्तीको आगो पनि जंगलमा जानसक्छ’, उनी थप्छन् ।

बागमती प्रदेशमा वन डढेलो नियन्त्रणका लागि अग्निनियन्त्रक दस्ता भनेर तालिमसँगै उपयुक्त औजारहरु दिएर हायर गरिएको छ । बागमतीको जस्तै अन्य प्रदेशमा पनि आवश्यक तयारी गर्नुपर्ने उनी बताउँछन् ।

‘निकुञ्ज, वन कार्यालयहरुमा पनि त्यस्ता तालिम प्राप्त दस्ताहरु राख्नुपर्छ । डढेलो नियन्त्रणको लागि स्थानीय तहमै वन उपभोक्ताहरु आफैं सचेत हुनुपर्छ, आफ्नो घरबस्तीमा सुरक्षा घेरा बनाउने, जंगलको बाटो सफा गर्ने, फायर लाइन सफा गर्नेलगायतका रोकथामका उपायहरु गर्नुपर्छ’, उनले भने ।

पछिल्लो ६ वर्षमा कहिले कति भयो क्षति ?

वन तथा भू-संरक्षण विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ३,३३८ ठाउँमा डढेलो लागेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ६६१, २०७७/०७८ मा ६,८६३, २०७८/०७९ मा १,३७९, २०७९/८० मा ३,३४१ र २०८०/८१ को बैशाख १३ गतेसम्म ४,२७२ ठाउँमा डढेलो लागेको छ ।

विपद् प्राधिकरणका अनुसार शुक्रबार दिउँसोसम्म ५० भन्दा बढी जिल्लाका ९९२ ठाउँमा डढेलो लागिरहेको छ । २०७८ बैशाख १ देखि २०८० चैत ३० गतेसम्म डढेलोबाट १५ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । त्यस्तै ४ करोड बढीको क्षति भएको छ । डढेलोबाट सबैभन्दा बढी प्रभावित जिल्ला ओखलढुंगा रहेको छ भने डोल्पामा मानवीय क्षति बढी भएको छ ।

यस्तै सोही समयमा आगलागीबाट ३०९ जनाको मृत्यु भएको थियो । आगलागीबाट ७ करोड बढी क्षति भएको थियो । आगलागीबाट सबैभन्दा बढी मोरङ जिल्ला प्रभावित बन्यो ।

पानी नपर्दासम्म जोखिम उच्च छ: प्राधिकरण

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराई पछिल्लो समय डढेलो बढ्नुको कारण पानी नपर्नु रहेको बताउँछन् ।

उनका अनुसार अहिले उग्र रुप लिनुको कारण पानी नपर्नु, तापक्रम बढ्नु, जंगलमा अग्नि शक्ति जम्मा भएर बस्नु हो । जंगलमा पत्कर दाउरा ननिकाल्दा पनि ढडेलो बढेको उनको भनाइ छ ।

उनी भन्छन्,‘ गाउँबाट मानिसहरु शहरतिर बसाइ सरे । गाउँमा मानिसहरु रित्तिँदै गए । ढलेका काठहरु यथावत रहे । त्यो फ्युलको रुपमा रह्यो । त्यसले गर्दा आगलागीका घटना बढेका हुन् ।’

यो जोखिम कहिले नियन्त्रण हुन्छ भनेर भन्न नसकिने उनी बताउँछन् । भट्टराईले थपे, ‘पानी नपरुञ्जेलसम्म जोखिम यथावत रहन्छ । यही समयसम्म रहला भनेर अनुमान लगाउन सकिँदैन ।’

डढेलोको घटना जनचेतनाको अभावले कुनै न कुनै रुपमा आफैंले लगाएको उनको भनाइ छ । ‘तर त्यसलाई राम्रोसँग निगरानी गर्न स्थानीय जनसमुदायको साथ र सहयोग आवश्यक हुन्छ । जनसमुदायले नजिकबाट निगरानी गर्नुपर्छ । स्थानीय सरकार आफैंले मात्र पनि सक्दैन’, उनले भने, ‘सबैमा जनचेतना हुनुपर्छ । कसैले आगो लगायो भने बाहिर भन्न सक्नुपर्छ । अनिमात्र यसलाई नियन्त्रण गर्न सकिन्छ । स्थानीय, प्रदेश र संघीय सरकारलाई मात्र दोष दिएर उन्मुक्त हुन सकिँदैन । सबैको सरोकारको विषय हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर