इलामको ब्यालेटबाट प्रारम्भिक सन्देश- खोजी राजनीति स्थिरताको, सम्भावना पुरानै दलको – Nepal Press

इलामको ब्यालेटबाट प्रारम्भिक सन्देश- खोजी राजनीति स्थिरताको, सम्भावना पुरानै दलको

शनिबार सम्पन्न उपनिर्वाचनको मतपरिणाम धमाधम अपडेट भइरहेको छ । हुन त दुई ठाउँमा मात्रै भएको यो निर्वाचनको आधारमा राष्ट्रिय राजनीतिको भविष्यबारेमा ब्याख्या गर्नु उपयुक्त हुँदैन, तर धेरै चासोका साथ हेरिएको यो उपचुनावले केही संकेत भने देखाएको छ । आम नेपाली जनतामा नयाँ र पुराना भनिएका शक्तिहरूको हैसियत के हो भन्ने कौतुहलतालाई सांकेतिकरूपमा मेटाएको छ ।

केन्द्रीय र प्रादेशिक गठबन्धन निर्माणको घन चक्कर, लाञ्छना र गालिगलौजमा नस्ट पारिएको महत्वपूर्ण समय, राजनीतिक भागबन्डा र लुछाचुँडीमा हाम्रो साथ र समर्थन छैन भन्ने सन्देश जनताले ब्यालेट बक्समार्फत् दिएका छन् । जनता स्थिरता चाहन्छन् र त्यो स्थिरताको सम्भावना खोज्ने कामको नेतृत्व ती पुराना भनिएका दलहरूबाट नै हुनुपर्छ भन्ने देखियो ।

यो निर्वाचनले मुख्यत: ३ राजनीतिक सन्देश दिएको छ-

१. नयाँ शक्तिको रूपमा निक्कै ताम झामका साथ् उदाएको र अरुको कटु आलोचना गरेर आफ्नो राजनीतिक आधार तयार गरेर अहिले विश्वव्यापी नै उत्कर्षमा पुगेको पपुलिजम (भाइरलवाद) को विधि र पद्धतिलाई प्रयोग गरेर शहरीया मध्यम वर्गको प्रतिनिधित्व गर्दै निर्णायक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) लाई जनताले विश्वास नगरेको र भर पर्न नसकिने सन्देश दिए । भाइरल हुने तत्कालीन खुद्रा मसिना कुरालाई उचालेर आफ्नो प्रचार प्रसार केन्द्रित राजनीतिभन्दा देशको समृद्धिको आधार तयार गर्ने राजनीतिक र आर्थिक योजनाहरूलाई जनताले रुचाउने सन्देश अहिलेको नतिजाले दिएको छ ।

यो निर्वाचनले एमाले र माओवादी पार्टी मिलेर जान सक्ने आधार चैँ देखायो । मिल्दा र नमिल्दा कस्तो हुन्छ भन्ने इलाम र बझाङका उदाहरण दुवै पार्टीका लागि मार्ग दर्शक हुन सक्छन् । बझाङको नतिजा हेर्दा मात्रै पनि माओवादीको आफ्नै राजनीतिक र सांगठानिक पहुँच विस्तार हुने कुनै संकेत देखिएन । माओवादीसँग आन्तरिक र बाह्य क्षयीकरण रोक्न सक्ने क्षमता पनि देखिएन ।

ताहुर माहुरका साथ केन्द्रीय नेतृत्व पूर्ण परिचालित भएर होमिएको रास्वपाले पाएको मत त्यो पार्टीको लागि एउटा झापड नै हो । अझ जमानत नै जफत हुने अवस्था आइदियो भने आन्तरिक हिनताबोध र द्वन्द्वको सिकार हुँदै जानेछ र रास्वपाले अघि सारेको मिसन- ८४ लाई ठूलै धक्का लाग्ने देखिन्छ ।

२. जनताका वास्तविक जनजीविकासँग जोडिएका राजनीतिक आर्थिक समस्याहरूका बारेमा कुनै दृष्टिकोण नभएको तर बुर्जुवाकरण गरिएको र केही टाठा बाठाहरूको व्यक्तिगत राजनीतिलाई प्रश्रय दिने अवस्थामा पुगेको पहिचानको राजनीतिले देशका समस्या समाधान गर्दैन भन्ने बुझाइ जनतामा छ भन्ने सन्देश देखियो । पहिचानवाला राजनीति नेपालमा निर्णायक धार हुन सक्दैन भन्ने सन्देश प्रष्टसँग आयो ।

तर, सँगसँगै आफ्ना भाषा, संस्कृति र मौलिकतालाई राजनीतिको मूलधारले बिर्सिएको खण्डमा जनताले दण्डित गर्नेछन् भन्ने अभिमत डकिन्द्र थेगिमले इलाममा पाएको मतबाट सन्देश पनि दिन खोजिएको छ । बाह्य सांस्कृतिक अतिक्रमण, मौलिकतामा आएको आँच र बढ्दो पराधीनतालाई बेलैमा राज्यका तर्फबाट सम्बोधन नभए जनताले विकल्प खोज्ने छन् भन्ने सन्देशको रूपमा थेगिमको मतलाई बुझ्नु राम्रो हुन्छ ।

३. देशमा राजनीतिक ध्रुवीकरण आवश्यक छ भन्ने बुझाई जनतामा बढ्दो छ भन्ने देखियो । साना मसिना पार्टीहरू खोल्ने, च्याँखे थाप्ने र राज्य दोहनमा आफ्नो भाग बढाएर राजनीति गर्नेहरूलाई निस्तेज गर्नुपर्छ भन्ने सन्देश जनताले पठाए । जो सुकैले राज गरुन् तर राजनीतिक स्थिरता होस् भन्ने जनचाहनाका कारण साना दलहरू यो उप-निर्वाचनमा एक ढंगले नामेट नै भए । अघिल्लो चुनावमा गठबन्धन गरेका कारण कुनको हैसियत के थियो भन्ने धरातलीय आकार थाहा पाउन कठिन बनेको थियो । अहिलेको नतिजाले नैतिक रूपमा कतिपय पार्टीहरु विघटनकै अवस्थामा पुर्‍याइदिएको देखिन्छ ।

राजावादी आन्दोलनले सडक तताएको राप्रपाले अहिलेसम्म इलाममा सय भोट कटाउन नसक्नुले उनीहरूको राजनीतिक भविष्य कठिन छ भन्ने प्रष्ट पारेको छ । अहिलेको संविधान अन्तर्गतको राजनीतिक व्यवस्थामा ध्रुवीकरणविना राजनीतिक स्थिरता प्राप्त सम्भव छैन । यो विषयलाई सिकाइको रूपमा लिनु अनिवार्य भइसकेको छ ।

नेपाली कांग्रेस एउटा ठूलो शक्तिको रूपमा रहन्छ भन्ने अहिलेको मतदानले देखायो । अघिल्लो पुस्ताका नेता र मतदाताको बाहुल्यता रहेको कांग्रेसले गठबन्धन नगरी जितको अवस्थामा पुग्दैन भन्ने पनि प्रस्ट भयो । अघिल्लो चुनावमा गठबन्धन गर्नु कांग्रेसको लागि हितकर रहेछ । अर्कोतर्फ एमालेको फुटलाई जनताले महत्व दिएका छैनन् भन्ने देखियो । झलनाथ खनालको जिल्लामा नेकपा एकीकृत समाजवादी पार्टीको जम्मा मत केही सयमात्रै हुनु भनेको जनताले उनको पार्टीको अस्तित्व स्वीकारेका छैनन् भन्ने बुझ्नु नै सही हुन्छ ।

ताहुर माहुरका साथ केन्द्रीय नेतृत्व पूर्ण परिचालित भएर होमिएको रास्वपाले पाएको मत त्यो पार्टीको लागि एउटा झापड नै हो । अझ जमानत नै जफत हुने अवस्था आइदियो भने आन्तरिक हिनताबोध र द्वन्द्वको सिकार हुँदै जानेछ र रास्वपाले अघि सारेको मिसन- ८४ लाई ठूलै धक्का लाग्ने देखिन्छ ।

तर, यो निर्वाचनले एमाले र माओवादी पार्टी मिलेर जान सक्ने आधार चैँ देखायो । मिल्दा र नमिल्दा कस्तो हुन्छ भन्ने इलाम र बझाङका उदाहरण दुवै पार्टीका लागि मार्ग दर्शक हुन सक्छन् । बझाङको नतिजा हेर्दा मात्रै पनि माओवादीको आफ्नै राजनीतिक र सांगठानिक पहुँच विस्तार हुने कुनै संकेत देखिएन । माओवादीसँग आन्तरिक र बाह्य क्षयीकरण रोक्न सक्ने क्षमता पनि देखिएन ।

यी सबै कुरा हेर्दा आउने चुनावसम्म एमालेसँग एकता अथवा कुनै ढंगको सहकार्यमा माओवादी पुग्छ भन्नु अत्योक्ति हुँदैन । अनेक तर्क र कारण देखाइए पनि गठबन्धन फेर्नुको पछाडि प्रचण्डले माओबादीको लागि एउटा बिसौनी खोज्ने क्रमको सुरूवात चैँ हो कि भन्न सकिन्छ । नेपाली कांग्रेससँगै गठबन्धन निरन्तर रहन सक्छ भन्ने विश्वास भएको भए प्रचण्डले एमालेसँग मिलेर सरकार बनाउँदैन थिए । आन्तरिक द्वन्द्व र क्षयीकरणमा डुबेको माओवादीको लागि यो चुनाव आत्मसमीक्षा गर्ने एउटा माध्यम बन्न सक्छ ।

यो उपनिर्वाचनको नतिजालाई पार्टीहरूले जनताको चाहना बुझ्ने, मनन गर्ने र देशको दीर्घकालीन र मौलिक गन्तव्यको खाका निर्माण गर्ने अवसरको रूपमा बुझे भने उनीहरूलाई दीर्घकालीन फाइदा हुन्छ । यो निर्वाचनको परिणामपछि ठूलै कुरा केही होला भन्ने जनताले कुनै अपेक्षा राखेका छैनन्, तर आफ्ना सन्देशहरू भने प्रस्ट सुनाइ दिए ।


प्रतिक्रिया

One thought on “इलामको ब्यालेटबाट प्रारम्भिक सन्देश- खोजी राजनीति स्थिरताको, सम्भावना पुरानै दलको

  1. स्पष्ट दृष्टिकोण र बलियो सांगठनिक आधार भयेको पार्टिलाई साना तिना खहरेले चुनौती दिन सक्दैन भन्ने अर्को सन्देश हो यो परिणाम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *