मलेसिया ‘रिटर्नी’ गोविन्द- व्यवसायिक तरकारी खेतीबाट कमाउँछन् वार्षिक १५ लाख
सुर्खेत । सुर्खेतको गर्भाकोट नगरपालिका- १३ गुमीका गोविन्द वलीले चार वर्ष वैदेशिक रोजगारीका क्रममा मलेसियामा बिताए । उनका बुवा र दाजुले पनि केही वर्ष खाडीमा पसिना बगाए । गोविन्दका दाजुले वैदेशिक रोजगारीकै क्रममा मलेसियामा समेत पाँच वर्ष बिताए ।
घरको आर्थिक अवस्था र प्रशस्त जग्गाजमिन नभएकाले उनी वैदेशिक रोजगारीमा जान बाध्य भएका थिए । उनले विदेशमा कमाएको रुपैयाँले आफ्नै गाउँमा जग्गाजमिन जोडे । उक्त जग्गामा सुरुमा गोविन्दका बुवाले परम्परागत तरकारी खेती गरेका थिए । गोविन्द र उनका दाजु विदेशबाट फर्किएपछि त्यही तरकारी खेतीलाई व्यवसायिक बनाउन लागिपरे ।
गाउँमै केही गर्नुपर्छ भन्ने सोच आएपछि उनीहरुलाई फेरि विदेश जान मन लागेन । मलेसियामा गोविन्दको कमाइ राम्रै थियो । त्यही कमाइले गाउँमा जग्गाजमिन जोड्न सकिएको थियो । गोविन्दका परिवारले तरकारी खेतीसँगै पशुपालन पनि अगाडि बढायो । संयुक्त परिवारका सदस्य गोविन्दका बुवाआमाले १-२ वटा भैंसी पाल्दै आएका थिए । गोविन्दका दाजुभाइले भैंसी थपेर त्यसलाई व्यवसायिक रुपमा अगाडि बढाए ।
तर, भैंसीपालनबाट सोचे जस्तो उपलब्धि पाउन नसकेको गोविन्द बताउँछन् । अहिले उनको परिवारका सबै सदस्य तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाट राम्रो प्रतिफल पाएको गोविन्द सुनाउँछन् ।
‘तरकारी खेतीबाट सोचेको भन्दा बढी नै सन्तृष्टि मिलेको छ’, उनी भन्छन्, ‘तरकारी खेती राम्रो आम्दानीको स्रोत बन्यो । घरका सात जना यसमै काम गर्छौं । परिवार ठूलो भएकाले अरु कामदार राख्नुपरेको छैन ।’
तरकारी खेतीको लागि मलको जोहो गर्न भैंसीपालन पनि गरिरहेको गोविन्द बताउँछन् । घरमै आवश्यक मल व्यवस्था भएपछि अहिले उनको बारीमा मौसमी र बेमौसमी तरकारी निरन्तर उत्पादन भइरहेको छ । तर, चाहिए जति मल नभएको उनको भनाइ छ ।
गोविन्दले गाईभैंसीलाई खुवाउन तीन बिघा जग्गामा घाँसखेती गरेको बताए । घाँसको बीउसमेत आफैंले उत्पादन गर्ने गरेको उनले जानकारी दिए । आफ्नै खेतमा पसिना बगाउन थालेपछि रोजगारीका लागि विदेश जान नपरेको गोविन्द बताउँछन् ।
‘व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी भइरहेको छ’, उनले भने, ‘एक सिजनमा ६-७ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । एक सिजनमा ४ महिना जति हुन्छ । जसको वार्षिक आम्दानी १५ लाख रुपैयाँसम्म हुन्छ ।’
उनले व्यवसायिक तरकारी खेती गर्न कृषि विकास निर्देशनालयबाट ५० प्रतिशत अनुदान पाएको जानकारी दिए । निर्देशनालयबाट पानी सिंचाइको लागि मोटर, पाइप, तरकारीको लागि टनेल, खेत जोत्न मिनि ट्रेलर अनुदान पाएको उनले बताए । सहकारीबाट केही सहुलियत ऋण लिएको र गुर्भाकोट नगरपालिकाले तरकारीको बीउबिजन सहयोग गरेको गोविन्दले जानकारी दिए ।
व्यवसायिक कृषिले परिवारको आवश्यकता पूरा भएर पनि केही बचत भएको गोविन्द बताउँछन् । उनका अनुसार तरकारी घरमै पनि लिन आउँछन् । तरकारीको बजार अभाव नभएकाले आम्दानी राम्रै हुने गरेको उनको बुझाइ छ ।
पशुपालनतर्फ २ गाई र ५ वटा भैंसीको दैनिक ३५ लिटर दूध बेच्दा मासिक ६५ हजार आम्दानी हुने गरेको गोविन्द बताउँछन् ।
‘भैंसीले सधैं एकैनासको दूध त दिँदैन’, उनले भने, ‘तर महिनामा ५० हजारदेखि ६५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ । गाईभैंसीको मल तरकारी खेतीमा प्रयोग गरिरहेका छौं ।’
व्यवसायिक तरकारी खेती गर्न सिंचाइको समस्या रहेको गोविन्दको भनाइ छ । आकाशे पानीको भरमा व्यवसायिक तरकारी खेती गर्न नसकिने उनको भनाइ छ ।
‘कृषकलाई समस्या भनेकै पानीको छ’, उनले भने, ‘आकाशेपानीले व्यवसायिक खेती गर्न सम्भव छैन । भोल्टेज कम भएकाले मोटर चल्दैन । कृषि निर्देशनालयले सोलारको व्यवस्था गरिदिएको भए सहज हुने थियो ।’
सरकारले व्यवसायिक र उद्यमी कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराए उत्पादन बढाउने, कृषि उद्यमी व्यवसायबाट पलायन हुने अवस्थाको अन्त्य हुने र युवाले कृषि पेशाप्रति रुचि बढाउने गोविन्दको भनाइ छ ।