बझाङमा यसरी सम्भव भयो एमालेको ‘कमब्याक’
कैलाली । २०५४ साल फागुन २१ मा एमाले विभाजित भयो । पार्टी विभाजन भएको दुई वर्ष नपुग्दै २०५६ मा आमनिर्वाचनको घोषणा भयो । पार्टी विभाजनको प्रत्यक्ष प्रभाव बझाङमा पनि देखियो । तत्कालीन अवस्थामा बझाङका दुबै क्षेत्रमा कांग्रेस निर्वाचित भयो ।
२०५१ सालमा एमालेका भानुभक्त जोशी निर्वाचित भएको क्षेत्रमा पार्टी विभाजनपछि एमालेका अर्जुनबहादुर थापा पराजित भए । कांग्रेसका अर्जुनजङ्ग बहादुर सिंहसँग एमालेका थापा २८१ मतले पराजित हुँदा एमालेबाट विभाजित मालेका उम्मेदवार केशवराज जोशीले १ हजार ९०० भन्दा बढी मत पाएका थिए ।
२०५३ साल असोज ४ मा संसदबाट दुई तिहाइ बहुमतले महाकाली सन्धि पारित गरेसँगै एमाले फुटेको थियो । २०७८ साल भदौ २ गते फेरि एमाले विभाजन भयो । २०७९ सालमा आमनिर्वाचन भयो । उक्त निर्वाचनमा पनि एमाले पराजित भयो ।
पहिलो पटक पार्टी विभाजन हुँदा अर्जुनबहादुर थापा पराजित र दोस्रो पटक पार्टी विभाजित हुँदा ऐन महर पराजित भए । प्रदेशमा पनि एमालेका दुबै उम्मेदवारले हारे व्यहोरे ।
एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी नेकपा एमालेका उम्मेदवार ऐन महरलाई ९९८ मतान्तरले पछि पार्दै विजयी भएका थिए । जोशीले २८ हजार १४३ मत पाउँदा महर २७ हजार १४५ मतमा रोकिए ।
दोस्रो पटकको पार्टी विभाजनपछि भएको प्रदेशसभाको उपनिर्वाचनमा भने बझाङमा एमालेले कमब्याक गरेको छ । २०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवार अफिलाल ओखेडालाई पराजित गर्दै कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।
सडक दुर्घटनामा सिंहको निधन भएपछि बैशाख १५ गते भएको उपनिर्वाचनमा सिंहकै छोरा अभिषेकलाई एमाले उम्मेदवार दमन भण्डारीले पराजित गरेका छन् । भण्डारीले २६६ मतले कांग्रेस उम्मेदवार सिंहलाई पराजित गरेका हुन् ।
अघिल्लो पटकको निर्वाचनमा एमाले एक्लै चुवावमा उत्रिँदा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले चुनावी गठबन्धन गरेको थियो । उपनिर्वाचनमा भने सबै दल एक्लाएक्लै लडेका थिए ।
पार्टी विभाजनमा कांग्रेस उम्मेदवार अर्जुनजङ्ग बहादुर सिंहसँग पराजित थापा २०७४ सालमा भएको पहिलो प्रदेशसभामा निर्वाचनमा भने विजयी भएका थिए । नेकपा माओवादीसँग चुनावी गठबन्धन गरेर निर्वाचित थापा सुदूरपश्चिम प्रदेशको पहिलो सभामुखसमेत निर्वाचित भएका थिए ।
पहिलो र दोस्रो पार्टी विभाजनपछिको निर्वाचन सम्झँदै थापा भन्छन्, ‘अहिले सबै नेता कार्यकर्ताहरू एक भएर लाग्नुभयो । कतै अहिलेसम्म अन्तर्घात भएको सुनिएको छैन ।’
थापाकै संयोजकत्वमा पार्टीले उपनिर्वाचन अनुगमन तथा मूल्याङ्कन समिति गठन गरेको थियो । अहिले सबै कमिटी एक भएर लाग्दा उपनिर्वाचन जितिएको उनको बुझाइ छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित एमाले नेता ऐन महर प्रदेशसभा उपनिर्वाचनमा पार्टीको जीतले अहिले एमालेको लोकप्रियता थप बढ्दै गएको पुष्टि भएको बताउँछन् ।
‘बझाङमा एमाले सुरुबाटै बलियो हो । अहिले थप लोकप्रिय रहेको पुष्टि भएको छ’, उनले भने, ‘पुरानो पार्टीको एउटा हिंसा बाहिर रहेर उम्मेदवारी दिँदा पनि एमाले विजयी हुनुले बझाङमा एमाले निकै बलियो रहेको प्रमाणित भयो ।’
२५ वर्ष पहिले पनि एमालेबाट विभाजन भएको मालेले जिल्लामा २ हजार मत कटाउन सकेको थिएन । अहिले पनि नेकपा एकीकृत समाजवादीको धरौटी जफत भएको छ ।
पार्टीले यस पटक उपयुक्त उम्मेदवार छनोट गरेकाले पनि जीत सुनिश्चित भएको एमाले नेताहरू बताउँछन् । भण्डारीले २०५४ सालमै तत्कालीन मटेला गाविसको अध्यक्ष जितेका थिए । त्यस बेला उनी गाविस राष्ट्रिय महासंघको जिल्ला अध्यक्षसमेत बनेका थिए ।
पार्टीलाई जिताउन एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य ऐन महरलगायतले बझाङमा महिनौं दिनदेखि अभियान थालेका थिए । पार्टी इन्चार्जसमेत रहेका पोलिट व्युरो सदस्य राजेन्द्रसिंह रावल, जिल्लामा उपलब्ध सबै केन्द्रीय सदस्य तथा पार्टीका पदाधिकारी गुमेको विरासत जोगाउने गरी चुनावी अभियानमा खटिएका थिए । त्यसको परिणाम जीत प्राप्त भएको नेता तथा कार्यकर्ताहरु दाबी गर्छन् ।
एमाले जिल्ला अध्यक्ष रहेकै बेला प्रदेशसभामा निर्वाचित भण्डारी एमालेप्रति जनताको विश्वास र आफूप्रति भरोसा भएको हुँदा मतदाताले रुचाएको बताउँछन् ।