‘उग्र पहिचानवादी’ उम्मेदवार रोज्दा इलाममा रास्वपालाई बुमर्‍याङ – Nepal Press

‘उग्र पहिचानवादी’ उम्मेदवार रोज्दा इलाममा रास्वपालाई बुमर्‍याङ

काठमाडौं । इलामको उपचुनावमा जित हासिल गरेर ठूला दललाई अर्को एक झट्का दिने योजनामा रहेको रास्वपा आफैंले झट्का खाएको छ । इलाम २ बाट रास्वपा उम्मेदवार बनेका मिलन लिम्बूले जमानत समेत जोगाउन सकेनन् ।

रास्वपाले पार्टीभित्रै योग्य आकांक्षीहरू हुँदाहुँदै आयातित उम्मेदवारलाई चुनावमा टिकट दिएको थियो । पार्टी केन्द्रीय सदस्य रमेश प्रसाईंदेखि स्थानीय बौद्धिक नेता महेन्द्रबहादुर थापासम्मलाई पन्छाएर माओवादीबाट भर्खर बाहिरिएका ‘उग्र पहिचानवादी’ युवकलाई उठाउनु नै सम्भावित पराजयको मुख्य कारण रहेको स्वतन्त्र विश्लेषण गरिएको छ । यद्यपि, पार्टीका नेताहरू यो कमजोरी भएको स्वीकार्न तयार छैनन् ।

रास्वपाले संसदमा एक सीट थप्नका लागि आफ्नो सबै शक्ति इलाममा खन्याएको थियो । रवी आफैं पटक-पटक इलाम गएर २०-३० जनाबीच पनि भाषण गरिरहेका थिए । रमेश प्रसाईं गीत गाएर हिँडिरहेका थिए । सहकारी प्रकरणलाई लिएर भइरहेको चौतर्फी प्रहार र घेराबन्दीबीच चुनाव जितेर आलोचकहरूलाई गतिलो जवाफ दिने अवसर थियो यस नवोदित पार्टीसँग । तर, सभापति रवि लामिछानेले आफ्नै गलत निर्णयका कारण यो अवसर खेर फालेका छन् ।

एउटा क्षेत्रको जनमतले सिंगो देशको प्रतिनिधित्व त गर्न नसक्ला, तर यो रिजल्टले रास्वपाको लोकप्रियता धरमर अवस्थामा छ भन्ने निष्कर्ष निकाल्न चाहीँ सकिन्छ । २०८४ को चुनावमा निकै ठूलो महत्वाकांक्षा राखेको पार्टीका लागि यो एउटा ‘अलार्म बेल’ पनि हो ।

रास्वपाले इलाम २ मा उम्मेदवार छनोट नै स्वस्थ तवरबाट गरेको थिएन । पार्टीको विधानमा प्राइमरी इलेक्सनबाट उम्मेवार छान्ने व्यवस्था छ, जसलाई नेतृत्वले कुल्चिएकै हो । प्राइमरी इलेक्सनका लागि आह्वान त गरियो, तर त्यो देखावटी मात्रै थियो । रविले पहिल्यै माथिबाट ‘म्याच फिक्सिङ’ गरिसकेका थिए । मिलनलाई उम्मेदवार बनाउने निश्चित भइसकेपछि प्राइमरी इलेक्सनको लागि दरखास्त मागियो । मिलनसहित ६ जनाले दरखास्त दिए । तर, उम्मेदवारीका लागि आवेदन दिनेहरूले आफूलाई परीक्षामा उतार्न पाएनन् ।

रास्वपा नेतृत्वले नै उनीहरूलाई पार्टी कार्यालयमा बोलाएर साझा उम्मेदवार तय गर्न ‘आग्रह’ गर्‍यो, जुन घुमाउरो तवरबाट दबाब थियो । यदि प्राइमरी इलेक्सन भएको भए महेन्द्रले बाजी मार्न सक्थे । यही डरले गर्दा उम्मेदवारहरूलाई मिलनका नाममा सहमति जुटाउन लगाइयो । सभापति लामिछानेको आशय बुझिसकेपछि कसैले पनि नाइनास्ती गर्न सक्ने अवस्था भएन ।

त्यसो त रास्वपाले विधानमा व्यवस्था गरेको ‘प्राइमरी इलेक्सन’ केवल हात्तीको देखाउन दाँतमात्रै बरिहेको छ । अघिल्लोपटकको उपचुनावमा स्वर्णिम वाग्ले र रमेश खरेललाई पनि ‘सेटिङ’ मै उम्मेदवार बनाइएको थियो । उनीहरूले पनि प्राइमरी इलेक्सन लड्नु परेन । अरु आकांक्षीलाई नेतृत्वले नै ब्याक गराएर उनीहरूलाई उम्मेदवार बनाइएको थियो । यसपालि पनि त्यसैगरी लामिछानेले मिलन लिम्बूलाई आफ्नै हातले टीका लगाइदिए । पार्टी विधानले व्यवस्था गरेको स्वस्थ प्रतिस्पर्धात्मक व्यवस्थालाई उनले आफ्नै पैतलाले कुल्चिदिए । यसमा लिम्बूसँग लामिछानेको पुरानो व्यक्तिगत सम्बन्धले पनि काम गर्‍यो नै होला ।

रास्वपाको उम्मेदवारी छनोट के कारणले पनि आलोच्य थियो भने मिलन लिम्बूले आजका दिनसम्म बोकिरहेको उग्रवादी धार पार्टीको मध्यमार्गी धारसँग मेल खाँदैनथ्यो । रास्वपा र लिम्बू दुवैले आ-आफ्नो एजेन्डा र विचारविपरीत सम्झौता गरेका थिए । मिलन कोशी प्रदेश नामकरणका विरुद्धमा उत्रिएको पहिचानवादी समूहका एक सक्रिय कार्यकर्ता हुन् । जबकि रास्वपाले कोशी प्रदेश नामकरणको विरोध गरेको छैन । मिलन जातीय संघीयताको कट्टर अनुयायी हुन् भने रास्वपा संघीय प्रणालीकै आलोचक हो । उम्मेदवार छनोट भइसकेपछि मिलनले रास्वपाले आफ्नो एजेन्डा स्वीकार गरेको दाबी गरेका थिए भने रास्वपाले पार्टीको एजेन्डाप्रति मिलनले प्रतिवतद्धता जनाएको दाबी गरेको थियो । खासमा दुवै झूट्टा थिए ।

ऋषि धमलाले गरेको एउटा ‘सडक इजलास’ मा मिलनमाथि एक सर्वसाधारणले अपुष्ट तर अत्यन्तै संवेदनशील प्रश्न तेर्स्याए । प्रश्नको आशय थियो, ‘तपाईं हिजो क्षेत्री बाहुनविरोधी अभियानमा हुनुहुन्थ्यो, त्यो के भयो ? (शब्दहरू अरु नै थिए) । मिलनले जवाफमा आफू त्यस्तो अभियानमा लागेको प्रमाणित भएमा मंगलबारेमा सेरिन तयार छु भनेर जवाफ फर्काए । तर, उनको जवाफभन्दा इलामे मतदाताले उनलाई सोधिएको प्रश्नमा विश्वास गरे ।

रास्वपासँग प्रभावशाली जनजाति नेताको खडेरी छ । मिलनलाई पूर्वी क्षेत्रको पहिलो जनजाति नेताका रूपमा स्थापित गर्ने दिर्घकालीन सोचसहित पार्टीमा भित्र्याएर टिकट दिइएको एक नेता बताउँछन् । तर, चुनाव हारिसकेपछि मिलन लिम्बू रास्वपामै रहन्छन् भन्नेमा पार्टीभित्रै धेरैलाई शंका छ । जसरी रमेश खरेल बारामा उपचुनाव हारेपछि रास्वपाबाट टाढिए, अहिले रवि लामिछानेकै खेदो गरेर हिँडिरहेका छन्, मिलनको हकमा पनि त्यो दिन टाढा नहुन सक्छ ।

रास्वपा प्रवेश गर्नुभन्दा एक महिना अगाडिसम्म मिलन नेकपा माओवादीको एक जिम्मेवार कार्यकर्ता थिए । माओवादीले इलाम २ मा टिकट नपाउने भएपछि उनले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गरे । त्यसबेला मिलनले आफू रास्वपामा जाने कुनै सम्भावना नभएको बताएका थिए । एउटा अन्तर्वार्तामा उनले रास्वपा अरु पुराना पार्टीहरूजस्तो भइसकेको टिप्पणी गरेको भिडिओ पनि चुनावअगाडि भाइरल भइरहेको थियो । तर, त्यसको केही दिनमै उनले रास्वपाको सदस्यता र चुनावको टिकट एकैपटक लिए । यसले पनि लिम्बूको चरम अवसरवादीता छर्लंङ्ग हुन्छ ।

केहीअघि मात्रै नेपाल पत्रकार महासंघले निकालेको महासंघका पूर्व अध्यक्षहरुको नालिबेलीसम्वन्धी किताब बिमोचन कार्यक्रममा गएर उद्दण्डता मच्चाउने एक प्रमुख पात्र मिलन नै थिए । कृष्णप्रसाद भट्टराईलाई महासंघको संस्थापक अध्यक्ष लेखिएको विरोधमा उनीसहितको जनजाति पत्रकारहरुको समूहले मञ्चमै उक्लिएर अग्रज पत्रकारहरुको हातबाट किताब खोसेर च्यातिदिएकाे घटनालाई कांग्रेसका मतदाताले पक्कै  नोटिसमा राखेका छन् ।

रास्वपाले ‘जसरी पनि चुनाव जितेर संसदमा एक सिट थप्ने’ ध्येयले एकजना अतिवादी युवालाई उम्मेदवार बनाउँदा बुमर्‍याङ खानुपरेको स्पष्टै छ । चुनावअगाडि स्थानीय वस्तुस्थिति बुझ्न भनेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाममा खटाइएको थियो । निकै दिनसम्म इलाममा बरालिएका उनले पार्टीलाई पनि मज्जाले बराले । त्यहाँ चुनाव जित्नलाई जनजाति र पहिचानवादी उम्मेदवार नै चाहिने भनेर गलत रिपोर्टिङ गरेपछि रास्वपाले मिलनलाई पछ्याउन थालेको हो । उनको ‘क्षेत्रीबाहुन विरोधि छवि’ पहिल्यैदेखि थियो । त्यसमाथि चुनावको मुखैमा भाइरल भएको भिडिओले उनलाई निकै विवादित बनायो ।

ऋषि धमलाले गरेको एउटा ‘सडक इजलास’ मा मिलनमाथि एक सर्वसाधारणले अपुष्ट तर अत्यन्तै संवेदनशील प्रश्न तेर्स्याए । प्रश्नको आशय थियो, ‘तपाईं हिजो क्षेत्री बाहुनविरोधी अभियानमा हुनुहुन्थ्यो, त्यो के भयो ? (शब्दहरू अरु नै थिए) । मिलनले जवाफमा आफू त्यस्तो अभियानमा लागेको प्रमाणित भएमा मंगलबारेमा सेरिन तयार छु भनेर जवाफ फर्काए । तर, उनको जवाफभन्दा इलामे मतदाताले उनलाई सोधिएको प्रश्नमा विश्वास गरे । मिलनमाथि लगाइएको त्यो आरोप अपुष्ट थियो, तर उनको जातीय संकिर्णता भने यथार्थ हो । जब मतादताले उनको पृष्ठभूमि केलाउन सुरू गरे, लिम्बूको भोट बैंक धराशयी बन्यो । त्यो नभएको भए कम्तीमा उनी तेस्रो स्थानसम्ममा आउन सक्ने सम्भावना थियो । शहरी क्षेत्रबाट उनले धेरै भोट पाउन सक्थे ।

रास्वपा इलामका नेता महेन्द्रबहादुर थापा पनि यो तथ्यलाई स्वीकार्छन् । भाइरल भएको भिडिओले नै पार्टीको उम्मेदवारलाई सबैभन्दा ठूलो नोक्सानी पुर्‍याएको उनको विश्लेषण छ ।

‘हामीले सोचेको भन्दा धेरै कम भोट आउनुमा त्यही भिडिओको मुख्य हात छ । विरोधी पार्टीहरूले अपुष्ट आरोप लगाइएको त्यो भिडिओलाई गाउँ-गाउँमा पुर्‍याएर जनतालाई भ्रमित पार्न सफल भए,’ उनले भने ।

पार्टीले उम्मेदवारी चयनमा त्रुटि गरेको भने थापा स्वीकार्दैनन् । रास्वपालाई सबै जातजातिको पार्टी बनाउनुपर्ने भएकाले जनजाति उम्मेदवारको खोजी गर्नु स्वाभाविक भएको उनको टिप्पणी छ ।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले भने रास्वपाले सरकारमा गएर जनतालाई आशा जगाउन नसकेकाले यो नतिजा आएको विश्लेषण गरेका छन् । पंतिकारसँगको कुराकानीमा उनले पनि उम्मेदवार चयनमा गल्ती भएको स्वीकार्न चाहेनन् ।

‘हामीलाई अघिल्लो चुनावमा जनताले आशाको मत दिएका थिए । उम्मेदवार नै नचिनिकन पनि घन्टीमा भोट हालेका हुन् । अहिले चाहीँ हामीले सरकारमा गएर आशा जगाउने काम गर्न सकेनौं कि भन्ने लाग्छ । बिहानीले दिनको संकेत गर्छ भने झैं हामीले पनि त्यस्तो संकेत दिन सकेको भए इलाममा घरदैलो नै नगरे पनि चुनाव जित्ने थियौं,’ उनले भने ।

पार्टीको विधानमा प्राइमरी इलेक्सनबाट उम्मेवार छान्ने व्यवस्था छ, जसलाई नेतृत्वले कुल्चिएकै हो । प्राइमरी इलेक्सनका लागि आह्वान त गरियो, तर त्यो देखावटी मात्रै थियो । रविले पहिल्यै माथिबाट ‘म्याच फिक्सिङ’ गरिसकेका थिए ।

इलाममा चौथो भइन्छ भन्ने आफूलाई पहिल्यै लागेको पनि डा. ढकालले बताए ।

‘मलाई व्यक्तिगतरूपमा त लागेको थियो । तर, पार्टीका साथीहरूले अलिकति महत्वाकांक्षी भएर सोच्नुभयो । मेरो लागि त अनपेक्षित नतिजा होइन,’ उनले भने ।

कतिपयले रवि लामिछाने मुछिएको सहकारी विवादले गर्दा पनि नतिजामा प्रभाव परेको विश्लेषण गरेका छन् । तर, यो सामाजिक सञ्जालको विश्लेषण धरातलीय यथार्थसँग मेल खाँदैन । सहकारी विवादले ग्रासरुटका जनतालाई खासै छोएको थिएन । बरु लामिछानेलाई सबैले घेरेर काम गर्न नदिएको भाष्य बन्दै गएको थियो । उल्टो सहानुभूति थपिएको थियो । यदि मिडियामा हुने आलोचनाले रविको लोकप्रियतामा आँच आउँथ्यो उनी स्वयम्‌ले चितवनको उपचुनावमा भोटको पहिरो खसाउन सक्ने थिएनन् ।

जे होस् इलाम २ को चुनावले रास्वपालाई राम्रै धक्का लागेको छ । एउटा क्षेत्रको जनमतले सिंगो देशको प्रतिनिधित्व त गर्न नसक्ला, तर यो रिजल्टले रास्वपाको लोकप्रियता धरमर अवस्थामा छ भन्ने निष्कर्ष निकाल्न चाहीँ सकिन्छ । २०८४ को चुनावमा निकै ठूलो महत्वाकांक्षा राखेको पार्टीका लागि यो एउटा ‘अलार्म बेल’ पनि हो । महामन्त्री ढकालकै शब्द सापटी लिएर भन्नुपर्दा रास्वपाले इलामामा घन्टी बजाउन सकेन, बरु इलामले जनताले नै रास्वपाको घन्टी बजाइदिएका छन् ।


प्रतिक्रिया

One thought on “‘उग्र पहिचानवादी’ उम्मेदवार रोज्दा इलाममा रास्वपालाई बुमर्‍याङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *