इलाम उपनिर्वाचनमा ‘सोसियल मिडिया ट्रिक’ फेल – Nepal Press

इलाम उपनिर्वाचनमा ‘सोसियल मिडिया ट्रिक’ फेल

हेटौंडा । पछिल्लो समय नेपालको राजनीतिलाई ‘सामजिक सञ्जाल’ले ठूलै प्रभाव पारेको छ । कुनैपनि राजनीतिक एजेण्डाको विषयमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु खुलेर सामजिक सञ्जालमार्फत क्रिया, प्रतिक्रियामा व्यस्त देखिन्छन् । सामजिक सञ्जालमा प्रश्नोत्तर, आरोप प्रत्यारोपको सिलसिला प्रत्येक दिन चल्ने गरेको छ ।

तर, ठीक विपरीत वैशाख १५ को प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा भने सामजिक सञ्जालको अनुमान, सामजिक सञ्जालमा आएका अभिव्यक्तिहरू मेल खाएनन् । अझ भनौ यो पटक सामजिक सञ्जालले निर्वाचनको परिणामलाई खासै असर पारेको पाइएन ।

अघिल्लो स्थानीय तहको निर्वाचन होस या आम निर्वाचन, दुवैमा सामजिक सञ्जाल हारजितको पहिलो कारण बने । जस्तो कि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) देखि धरानका मेयर हर्क साम्पाङले सामजिक सञ्जालको भरपुर प्रयोगमार्फत निर्वाचन जितेको स्पष्ट देखियो । त्यसबाहेक आम निर्वाचनमा आफ्नो सांगठनिक संरचनानै नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा सामजिक सञ्जालको भरपुर प्रयोग मार्फत निर्वाचनमा सफलता हाँसिल गरे ।

अहिले आम मानिसको पहुँचमा रहेको इन्टरनेटको सुविधा, स्मार्ट फोनको बढ्दो प्रयोगले आम मानिसको हातहातमा सबै सूचनाको पहुँच विस्तार गरेको छ । यही कुराको फाइदा उठाउँदै नयाँ दलहरु तथा केही स्वतन्त्र उम्मेद्वारहरुले निर्वाचनमा पुराना शक्ति भनिएकाहरुको ‘सातो’ खाइदिए ।

तर, इलाम र बझाङको उपनिर्वाचनले पुनः एउटा बहसको सुरुवात गरेको छ । चुनाव नजिक हुँदै गर्दा इलाममा धरानका मेयर हर्क साम्पाङ पुगेर पहिचानवादी उम्मेद्वार डकेन्द्रसिंह थेगिन (मुढा)को पक्षमा उग्र भाषण गरे ।

उनले भाषण मात्र गरेनन्, आफुले गरेको भाषणलाई उनले सामजिक सञ्जालमार्फत प्रसारण पनि गरे । उग्र भाषणमा खप्पीस साम्पाङको भाषणलाई हजारौंले सामजिक सञ्जाल मार्फत हेरे र प्रतिक्रिया दिए । तर सामजिक सञ्जालमा देखिएको उत्साह परिणामा भने आएन ।

साम्पाङ जस्तै रास्वपा उम्मेद्वार मिलन लिम्बुको पक्षमा पूरा रास्वपा इलाम खटियो । उनिहरुले पनि प्रत्येक पलको अपडेटहरु सामजिक सञ्जालमार्फत दिरहे । आफ्ना अध्यक्ष रवि लामिछानेको घरदैलोदेखि उनले गरेका सभा सम्मेलनको भाषणहरु रास्वपा युनिटले सामजिक सञ्जाल मार्फत छ्यापछ्याप्ती पारे । तर यो पटक उनीहरुको ‘सोसियल मिडिया ट्रिक’ फेल खायो । अर्थात मिलनले इलाममा आफ्नो जमानतसमेत जोगाउन सकेनन् ।

सामजिक सञ्जाल तताउन उग्र भाषण गरेर चर्चामा आउन खोजेका कांग्रेस महामन्त्री गगन थापाको योजना पनि यो पटक इलाममा विफल भयो । उनले इलाममा गएर गरेको भाषणको प्रतिक्रिया सामजिक सञ्जाल मार्फत कांग्रेसलाई नै पर्ने गरे आयो । इलाम पुगेर उनले एमाले उम्मेद्वार सुहाङ नेम्वाङविरुद्ध बोलेको विषय उनैलाई भारी पर्न गयो ।

उनले इलाम पुगेर एमालेले राजतन्त्रमा जस्तै बाहु पछि छोरा राजा बन्ने प्रचलनको इलामेली जनताले विरोध गर्नुपर्छ भनेर चर्को भाषण गरे तर उनैको पार्टीले बझाङमा सुहाङ जस्तै आफ्ना पिता गुमाएका छोरालाई टिकट दिएको र इलाममा आएर जनतालाई बेहकुव बनाउन खोजेको भन्दै सामजिक संजालको भिड उमाथि खनियो ।

निर्वाचनको परिणाम आउन लागेसँगै धरानका मेयर साम्पाङले पहिचानवादीको पक्षमा कम मत आएको भन्दै सामजिक सञ्जालमा अन्टसन्ट लेख्न थाले । उनले ‘त्यो ख्वाक खुक थुम भन्ने ठाउँ इलाम मै थो ???’ भन्ने लेखेपछि उनको स्टाटसमा त्यस्तो अराजक अभिव्यक्ति तत्काल सच्याउन उनलाई अनुरोध समेत गरेको देखिन्छ । तर उनको त्यो क्रम भने रोकिएको छैन ।

चुनावमा धरौटी जफत भएपछि रास्वपा सभापति रवि लामिछानेले विजयी उम्मेद्वार सुहाङलाई बधाई दिँदै आफ्ना कार्यकर्तालाई पराजयलाई स्वीकार गर्दै जिम्मेवार ढंगबाट अभिव्यक्त दिन निर्देशन दिएका छन् । सामजिक सञ्जालमार्फत लामिछानेले लेख्छन् ‘इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङजी विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्द्छु । हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनहुने सबै प्रति आभारी छु । रास्वपा उमेदवार मिलन लिम्बु लगायत अहोरात्र खट्नु हुने सिंगो पार्टी पंक्तिलाई धन्यवाद । जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै ईफ, बटको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ ।’

समग्रमा हेर्दा यो पटक बझाङको प्रदेशसभा उपनिर्वाचनको विषयले भने सामजिक सञ्जालमा त्यति प्राथमिकता पाएन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर