भयावह बन्दै डढेलो, रोकथाममा सानो पहल किन नगर्ने ? – Nepal Press

भयावह बन्दै डढेलो, रोकथाममा सानो पहल किन नगर्ने ?

सामान्यतया नेपालमा मे महिनामा उच्च हुने आगलागीका घटना यो वर्ष अप्रिलमै निकै भयावह बन्दैछ । देशैभर आगलागी र डढेलोका घटना उत्तिकै दरमा देखा परिरहेका छन् । डढेलोको कारण सयौंको ज्यान गइसकेको छ । हजारौंले घरबारविहीन अवस्थाको सामना गरिरहेका छन् । अझ वन क्षेत्रमा भएको विनाश र हताहतीको कुनै लेखाजोखा नै छैन । त्यसको असर र परिपूरण गर्न लाग्ने समय र समग्र इकोसिस्टममा पु¥याएको क्षतिको हिसाबकिताब झन डरलाग्दो नै छ ।

नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रेकर्ड गरेको डाटाअनुसार अघिल्लो वर्ष देशभर जम्मा ४ हजार ४६ आगलागीका घटना भएको थियो । उक्त घटनामा परी १०८ जनाले ज्यान गुमाउनु परेको थियो । उक्त समयमा ५०४ जना घाइते भएका थिए । प्राधिकरणको डाटाअनुसार पछिल्लो ४ वर्षमा सबैभन्दा बढी आगलागीका घटना अघिल्लो वर्ष भएको देखिन्छ । प्राधिकरणका अनुसार यो वर्षको सुरुवाती महिना वैशाखयतामात्रै आगलागीबाट ७ र डढेलोबाट एक गरी ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो दुई महिनाको अवधिमा मात्रै ८७ करोड बराबरको धनमाल क्षति भएको छ । यो तथ्यांकबाट बुझ्न सकिन्छ, नेपाल अब कुन गतिमा यो समस्यामा फँस्दैछ भनेर । अझ हामी आगलागीमात्रै होइन, पछिल्लो समय वन डढेलोबाट पनि ठूलो क्षति व्यहोर्दै आएका छौं । विगतका समयमा हुने डढेलोका घटना अझ विकराल बन्दैछन् । २०७८ सालमा वर्षभरि ९२ वटामात्रै डढेलोका घटना भएका थिए । उक्त विपतबाट ३८ परिवारमात्रै प्रभावित थिए । तर, यो वर्ष वैशाखयता मात्रै डढेलोका १७४ घटना भएका छन् । वनमा लागेको डढेलोमा परेर एकजनाले ज्यान गुमाउँदा १७८ परिवार पूर्ण प्रभावित बनेको प्राधिकरणको तथ्यांक छ । विगत ४ वर्षको अन्तरालमा अघिल्लो वर्ष डढेलोले सबैभन्दा बढी क्षति पु¥याएको थियो । २०८० सलमा ४०० बढी स्थानमा डढेलो लाग्दा ११ जनाले ज्यान गुमाएका थिए ।

आगलागी तथा डढेलोको मुद्दामा नेपालमा सही तरिकाले बहस र छलफल हुन सकिरहेको छैन, यसलाई तत्कालिक समस्याको रुपमा सतही तरिकाले हेर्ने गरिएको छ । यो समस्याले मानव पर्यावरण सम्बन्धमा खलल पुर्‍याउँछ, जैविक विविधतालाई असन्तुलित बनाउँछ र वन्यजन्तु र वनस्पतिको सन्तुलनलाई गम्भीर ढंगले घटाउँछ ।

पछिल्लो ३ वर्षको अवधिमा घर र जङ्गलमा लागेको आगोबाट नेपालमा ३२४ जनाले ज्यान गुमाए । २०७८ साल वैशाख १ देखि २०८० चैत ३० गतेसम्मको समयमा घरमा आगलागी भएका ९ हजार ४४४ घटनामा ३०९ जनाले ज्यान गुमाए । १ हजार २७५ जना घाइते भएको उक्त घटनाबाट ११ हजार ७०५ परिवार प्रभावित भएका छन्, जसमा २ हजार ८०८ घर पूर्ण क्षति, १ हजार ८१८ घर आंशिक क्षति, २ हजार २१७ गोठ र ५ हजार २०२ पशु चौपायामा क्षति पुगेको थियो । जसमा ७ अर्ब ३० करोड ६२ लाख ७५ हजार ५४१ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

त्यस्तै ३ वर्षको अवधिमा वनमा लागेको डढेलोमा १५ जनाले ज्यान गुमाए भने ३२ जना घाइते भएका छन् । जसमा २०९ परिवार प्रभावित, ७६ घर पूर्ण क्षति, ३३ घर आंशिक क्षति र ६८ गोठमा क्षति पुगेको छ । साथै १५५ पशुचौपाया नष्ट भएका छन् । जसका कारण १ करोड १४ लाख २४ हजार ४०० रुपैयाँ बराबरको क्षति गरेको थियो । तर, यसमा वनमा भएको क्षति र पर्यावरणमा पारेको असरको हिसाब गरिएको छैन । जुन कुरा अर्बौंअर्बभन्दा माथि हुन्छ र तत्कालै परिपूरण गर्न पनि असम्भव नै छ ।

जिल्लागत तहमा हेर्दा यो अवधिमा सबैभन्दा बढी ओखलढुङ्गामा ८७ वटा घटना भएको थियो भने सबैभन्दा धेरै डोल्पामा ६ जनाको डढेलोबाट मानिसहरुले आफ्नो ज्यान गुमाउनु परेको थियो । विगतका तथ्याङ्क हेर्ने हो भने देशव्यापी भयावह रुपमा समस्या बढ्दो छ, क्षतिको ग्राफ निरन्तर उकालो लाग्दो छ । सानातिना वनदेखि ठूला राष्ट्रिय निकुञ्जहरूमा समेत डढेलो लाग्दा वनस्पति र वन्यजन्तु आगोको चपेटामा परेका छन् । तिनीहरुको चित्कार अत्यासलाग्दो छ । तर, हामीहरु अझै हिंस्रक बन्दैछौं, वनमा जानीजानी आगो झोस्दैछौं र निम्त्याउँदैछौं अझ ठूलो विनाश, अझ ठूलो पर्यावरणीय समस्या ।

आगो मानव जीवनको अमूल्य संसाधन हो । तर, यसलाई यदि सही ढंगले प्रयोग नगर्दा हुने जोखिमको हामीले गरेको अनुमानभन्दा कहालीलाग्दो हुन्छ । विशेषगरी वन्यजन्तुहरू, वन र जैविक पर्यावरणको विनाशका लागि यो अत्यधिक जोखिम भैरहेको छ ।

आगलागी तथा डढेलोको मुद्दामा नेपालमा सही तरिकाले बहस र छलफल हुन सकिरहेको छैन, यसलाई तत्कालिक समस्याको रुपमा सतही तरिकाले हेर्ने गरिएको छ । यो समस्याले मानव पर्यावरण सम्बन्धमा खलल पुर्‍याउँछ, जैविक विविधतालाई असन्तुलित बनाउँछ र वन्यजन्तु र वनस्पतिको सन्तुलनलाई गम्भीर ढंगले घटाउँछ । वन र वन बाहिरबाट लगाइने आगोले प्राकृतिक स्रोतहरू, मानव स्वास्थ्य, मौसम र जलवायुमा प्रभाव पारिरहेका छन् । जसले समग्र मानव जीवनलाई नै गम्भीर मोडमा धकेलिरहेको छ । आगो मानव जीवनको अमूल्य संसाधन हो । तर, यसलाई यदि सही ढंगले प्रयोग नगर्दा हुने जोखिमको हामीले गरेको अनुमानभन्दा कहालीलाग्दो हुन्छ । विशेषगरी वन्यजन्तुहरू, वन र जैविक पर्यावरणको विनाशका लागि यो अत्यधिक जोखिम भैरहेको छ ।

डढेलोका मुख्य कारणहरू

वन डढेलोका प्रमुख कारणहरू मानिसहरूद्वारा सिर्जना गरिएका कार्यका उपज नै प्रमुख हो । खासगरी मानवीय कारणले नै वनमा आगलागीका घटनाहरु हुने गरेका छन् । अझ हाम्रो देशमा त यो कारण नै प्रमुख हो, जसले आजका दिनमा यसरी क्षति पु¥याइरहेको छ । एक अध्ययनको निष्कर्षअनुसार नेपालमा करिव ५८५ डढेलो मानिसले जानीजानी वनमा आगो लगाएका कारणले हुने गरेको देखाएको छ । त्यसैगरी मानिसको लापरबाहीको कारणले २२५ र बाँकी २०५ आगलागीका घटना चैं अञ्जानबस हुने गरेको देखाएको छ ।

जनसंख्या वृद्धिका कारणले गर्दा मानिसहरु तीव्र रुपमा ग्रामीण बस्ती छाडेर तराई, मधेश तथा चुरे क्षेत्रमा बसाइ सरेका कारण उनीहरुले आफ्नो नजिकको क्षेत्रमा आगो लगाइ जंगल मास्ने र त्यहाँ बस्ती तथा खेतीयोग्य जमिन बनाउने कारणले गर्दा पनि यो घटना बढिरहेको छ । जङ्गलमा मान्छेले यही कारणले डढेलो लगाउँछन् भनेर ठोकुवा गर्न त सकिँदैन । आममनिसमा जङ्गलमा आगो लगाउने काम गैरकानूनी हो भन्ने ज्ञान पनि छैन, धेरै मानिसमा यसका कारणले जंगलमा धेरै घाँस उम्रिन्छ भन्ने अन्धविश्वास पनि छ । उक्त कारण पशुपालन गर्ने मानिसहरुले वनमा जानाजान आगो लगाउँदै आएको पाइन्छ । तर, यसमा वैज्ञानिक कारण भने छैन ।

जनचेतनाको कमीले गर्दा यो घटना बढिरहेको देख्न सकिन्छ । सरकार, सरोकारवाला र आममानिसको सही पहलकदमीमा यो समस्यालाई समाधान गर्न सकिन्छ । जनचेतनाको अभिवृद्धि गर्न केन्द्रीय सरकारले पहल गर्ने, स्थानीय सरकारले माटो र हावापानी सुहाउँदो घाँसका बीउबिजन उपलब्ध गराउने र सामुदायिक वनले ती बीउबिजन आफ्ना उपभोक्ताको आवश्यकताअनुसार नजिकैको वन क्षेत्रमा लगाउने वातावरणको सिर्जना गर्ने हो भने आधाभन्दा बढी आगलागीको समस्या समाधान हुने देखिन्छ ।

स्थानीय वन उपभोक्ता समितिहरूलाई वन डढेलो नियन्त्रणमा सहयोग गर्न अग्नि नियन्त्रण समूहको गठन गर्न र त्यो समितिका सदस्यहरुलाई अनिवार्य तालिम प्रदान गर्न प्रेरित गर्नुपर्छ । यसको लागि वन मन्त्रालयले प्राविधिक टोली निर्माण गरी, राम्रो सामग्रीसहित तालिम दिने र उनीहरुलाई नै नियन्त्रणका लागि तयार बनाउने हो भने सजिलै यसको नियन्त्रण गर्न सकिन्छ ।

साथै वन्यजन्तुको शिकार गर्न र सर्प, बिच्छी, खजुरालगायतका जीवहरुको जोखिमलाई काम गर्ने उद्देश्यका साथ पनि मानिसहरुले वन क्षेत्रमा आगो लगाउने गरेको पाइन्छ । यस्ता मानव सिर्जित व्यवहारलाई सानो प्रयासबाट नै समाधान गर्न सकिन्छ । यसमा योजना बनाएर काम गर्ने हो भने ठूलो मात्रामा हुने वनको आगलागीको समस्यालाई न्यूनीकरण गर्न सकिन्छ ।

नेपालको वन क्षेत्रमा आगलागी हुनुको अर्को प्रमुख कारण भनेको मानिसले जानजान धूमपान गरी त्यसका ठुटाहरु वन क्षेत्रमा फ्याक्नाले पनि आगलागीका घटना बढिरहेको छ । सामान्य असावधानीका कारणले ठूलो दुर्घटना निम्तिरहेको कुरामा सचेतना वृद्धि गर्ने हो भने वनमा हुने आगलागीका घटनालाई न्यूनीकरण गर्न सकिन्छ । खासगरी हाम्रा सडक सञ्जालहरु प्रायः वन क्षेत्रमै रहेका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन वन क्षेत्रमा रोकी मानिसहरुलाई सौच गराउने गर्छन्, त्यो बेलामा प्रायः धेरै मानिसहरुले चुरोट सेवन गर्ने र त्यो त्यही फ्याँक्ने गर्नाले आगो सल्किइ आगलागीका घटना हुने गरेको पाइन्छ । यसलाई रोक्ने हो भने पनि ठूलो मात्रामा वनमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न सकिन्छ ।

कसैले पनि चाहँदैमा आगलागी तथा डढेलोको समस्यालाई तुरुन्त समाधान गर्न सकिहालिन्छ भन्ने पनि हुन्न, विभिन्न कारणले यसलाई असर गरिरहेको हुन्छ । तर पनि अलिकति मेहनत र पहल गर्ने हो भने ठूलो मात्रामा नियन्त्रण र न्यूनीकरण भने गर्न सकिन्छ । अहिले आगलागी तथा डढेलोको घटना बढ्नुमा मानिसहरू गाउँबाट शहरतिर सर्दै जानु, गाउँमा मान्छे घटेपछि रुख, झाडी, स्याउलाहरू यथावत रहनु, त्यसको उपभोग हुन नसक्नु, जङ्गलमा पात पतिङ्गरहरू पर्याप्त मात्रामा रहँदा आगलागी बढाउन मद्दत गरेको देखिन्छ । रोकथामको त्यस्तो उपाय त छैन । तर, मान्छेमा आगोको संवेदनशीलता बुझाउन जनचेतना जगाउने काम गर्न भने ढिला भैसकेको छ । तीन तहका सरकारको समन्वय र सरोकारवालाहरुको स्व-उत्प्रेरणामा नेपालमा विकराल समस्याको रुपमा बढिरहेको यो घटनालाई अब न्यूनीकरण गर्न अबेला भैसकेको छ ।

समाधानका उपाय

नेपालको सामुदायिक वनको व्यवस्थापन सोही ठाउँका स्थानीय उपभोक्ताहरुको समितिमार्फत गरिँदै आएको छ, जुन नेपालको एक सफल कार्यक्रमको रुपमा विश्वमै परिचित छ । वनको व्यवस्थापनमा अब्बल ठहरिएको सामुदायिक वन उपभोक्ता समितिलाई नै विशेष योजना बनाइ डढेलो नियन्त्रणका लागि प्रयोग गर्नाले यसमा सफलता पाउन सकिन्छ ।

सक्रिय युवा गाउँमा नहुँदा डढेलो सजिलै नियन्त्रण गर्न सकिएको छैन, जुन फैलिँदै गाउँसम्म आएर ठूलो जनधनको क्षति गरिरहेको छ । यसको सहज नियन्त्रण गर्न सकिएको देखिँदैन, झन मानवीय दुर्घटना बढेको छ । यसलाई रोक्न राजनैतिक दलहरुले पहलकदमी लिन जरुरी छ ।

स्थानीय वन उपभोक्ता समितिहरूलाई वन डढेलो नियन्त्रणमा सहयोग गर्न अग्नि नियन्त्रण समूहको गठन गर्न र त्यो समितिका सदस्यहरुलाई अनिवार्य तालिम प्रदान गर्न प्रेरित गर्नुपर्छ । यसको लागि वन मन्त्रालयले प्राविधिक टोली निर्माण गरी, राम्रो सामग्रीसहित तालिम दिने र उनीहरुलाई नै नियन्त्रणका लागि तयार बनाउने हो भने सजिलै यसको नियन्त्रण गर्न सकिन्छ । उनीहरुलाई अग्नि नियन्त्रणको लागि आवश्यक उपकरण तथा सेफ्टी सामग्रीको बन्दोबस्त भने गर्न जरुरी छ । साथै सामुदायिक वन उपभोक्ता समितिले पनि आफ्नो वन क्षेत्रमा कसले आगो लगाउने गर्छ भनी पहिचान गर्ने, उनीहरुलाई सम्झाइबुझाइ गर्ने गर्नपर्छ ।

वनमा हुने आगलागीका कारणले सबैभन्दा बढी समस्या स्थानीय तहलाई पर्दै आइरहेको छ । ठूलो परिणाममा धनराशी राहत र उपचारको नाममा खर्च हुँदै आइरहेकोमा यो नियन्त्रण गर्न स्थानीय तहको भूमिका पनि अहम् हुने गर्छ । तसर्थ प्रत्येक स्थानीय तहले वडास्तरमा अग्नि नियन्त्रण इकाइ गठन गरी आममानिसलाई आवश्यक तालिम, जनचेतना र नियन्त्रण गर्न आवश्यक औजारहरूको प्रबन्ध गर्न जरुरी छ । साथै यसले स्थानीयस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यसको रोकथाममा महत्वपूर्ण भूमिका खेल्नसक्छ । आजसम्म स्थानीय तहको काम क्षतिपूर्ति दिनेमात्र रहिआएकोमा अब योजनाबद्ध ढंगले डढेलो नियन्त्रण तथा न्यूनीकरणमा पनि लाग्न टड्कारो आवश्यक छ ।

पछिल्लो समय भएका अधिकांश आगलागीका घटना मानवीय त्रुटिकै कारण भएको पाइन्छ । यिनीहरु कुनै एक क्षेत्रमा नियमितजसो भइरहेका छन् । तसर्थ कुन कुन ठाउँ बारम्बार आगलागी भइरहेका छन् र कुन ठाउँँ बढी जोखिम छ भनी पहिचान गर्न जरुरी छ । यसका लागि हामीहरु भूस्थानिक विज्ञान ९न्भयकउबतष्ब िक्अष्भलअभ० को सहयोग लिएर म्यापिङ गर्न सक्छौं । उक्त काम गर्न हामीहरुले न्क्ष्क् तथा च्झयतभ क्भलकष्लन प्रविधिको राम्रो ज्ञान भएको, दक्ष जनशक्ति पनि भएको त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागलाई आगलागीको जोखिम क्षेत्र पहिचान गर्न सहयोग लिन अनुरोध गर्न पनि सक्छौं ।

अहिले गाउँघरमा आगो नियन्त्रणका लागि युवाहरु छैनन् । रोजगारीका लागि अन्यन्त्र ठाउँमा युवा पलायन भएका कारणले गाउँमा वृद्ध र महिलामात्रै छन् । सक्रिय युवा गाउँमा नहुँदा डढेलो सजिलै नियन्त्रण गर्न सकिएको छैन, जुन फैलिँदै गाउँसम्म आएर ठूलो जनधनको क्षति गरिरहेको छ । यसको सहज नियन्त्रण गर्न सकिएको देखिँदैन, झन मानवीय दुर्घटना बढेको छ । यसलाई रोक्न राजनैतिक दलहरुले पहलकदमी लिन जरुरी छ । आगलागी र डढेलो नियन्त्रणका लागि अल्पकालीन प्रयासले मात्रै न्यूनीकरण नहुने हुँदा जिम्मेवार राजनैतिक दलले नै जनस्तरसम्म पुगेर जनचेतना जगाउने कार्यक्रम गर्न जरुरी रहेको छ । विभिन्न अभियान सञ्चालन गर्ने दलहरुले अब राजनीतिक दलका कार्यकर्ता परिचालन गरी विपत व्यवस्थापन तथा जनचेतना फैलाउन सहयोग गर्नुपर्छ, जसबाट धेरै घटना न्यूनीकरण हुने सम्भावना रहन्छ ।

(नेकपा एमाले केन्द्रीय वन तथा वातावरण विभागका सदस्य न्यौपाने चीनस्थित युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेसमा विद्यावारिधि गर्दैछन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *