टुँडिखेलमा ‘सीप मेला’: कोटाभन्दा बढी आवेदन, कसरी हुन्छ व्यवस्थापन ? (भिडिओ) – Nepal Press

टुँडिखेलमा ‘सीप मेला’: कोटाभन्दा बढी आवेदन, कसरी हुन्छ व्यवस्थापन ? (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनमा ‘सीप मेला’ सुरु भएको छ । महानगरपालिकाले एक महिनामा २ हजार ८१ जनालाई निःशुल्क तालिम दिने लक्ष्यसहित ‘सीप मेला’ आयोजना गरेको हो ।

महानगरपालिकाले सीप मेलामा १० सेक्टरका ३० वटा विषयगत तालिम दिनेछ । आज सुरु भएको मेलामा छनोट गरिएका आवेदकहरुभन्दा बढी घुइँचो लागेको काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताए ।

‘पहिलो चरणको तालिम दिन आवेदकहरु छनोट गरिसकेका छौं । कुन कुन तालिम दिने भन्ने कुरा निर्धारण गरिसकेका छौं’, उनले भने, ‘तालिमको लागत पनि पहिचान गरिसकेका छौं । त्यस्तै तालिम दिन हाम्रो टुल्स एण्ड इक्युपमेन्टस तयार छ । तालिम दिने प्रशिक्षक तयार हुनुहुन्छ ।’

उनका अनुसार मंगलबारसम्म ६ हजार ४०० बढी आवदेन परेको थियो । उनीहरुलाई विभिन्न चरण गरेर छनोटपछि बोलाइएको झाले बताए । आज मेलामा ५ हजारभन्दा बढी सहभागी भएका छन् ।

‘हामीले सबैलाई नाम दर्ता गरेर जान आग्रह गरेका छौं । आवश्यक परेमा नाइट सिफ्टमा पनि तालिम दिन्छौं भनेर पठाएका छौं’, उनले भने, ‘आज पहिलो दिन उद्घाटन भयो । आवेदकहरुलाई भोलि बोलाएका छौं । उहाँहरुको सिफ्ट पनि तयार भइसकेको छ ।’

उनका अनुसार तालिम हुनुअघि आवेदकहरुको ओरेन्टेसशन हुनेछ ।

काठमाडौं महानगरपालिकासँगको सहकार्यमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एपीटीएन)ले आज सुरु गरेको ‘सीप मेला’ मा ३० वटा विषयका १० सेक्टरमा तालिम सञ्चालन हुनेछ ।

बजारमा आवश्यक भएको जनशक्ति र बजारको मागमा आधारित भएर रोजगारी पाउन सकिने गरी तामिल प्रदान गर्ने एपीटीएनका महासचिव छत्रबहादुर बम बताउँछन् ।

‘महासंघले बजारको सर्वे गरेर एउटा कोर्स नै बनाएको छ । बजारमा आवश्यक भएको जनशक्ति र बजारको मागमा आधारित भएर रोजगार पाउन सकिने तालिम दिनेछौं’, उनले भने, ‘जस्तै डिजिटल मार्केटिङ, हस्पिटालिटी, बारिस्टा कोर्स, गार्मेन्ट सेक्टर रहेका छन् । त्यसमा पनि फेसन डिजाइनिङ, ड्रेसमेकर, मोबाइल मर्मत, विद्युतीय गाडी गरेर विभिन्न ३० विधाका १० सेक्टरमा तालिम सञ्चालन गर्छौं ।’

उनका अनुसार महासंघले सीप मेलामा विज्ञ प्रशिक्षक तथा टुल्स र इक्युपमेन्टहरुको जिम्मेवारी लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *