चालू आवमा सूचना तथा सञ्चार क्षेत्रको वृद्धि ४.९१ प्रतिशत, व्यवसायीको दाबी- त्योभन्दा दोब्बर हुन्छ – Nepal Press

चालू आवमा सूचना तथा सञ्चार क्षेत्रको वृद्धि ४.९१ प्रतिशत, व्यवसायीको दाबी- त्योभन्दा दोब्बर हुन्छ

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ मा सूचना तथा सञ्चार क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । सूचना तथा सञ्चार क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने राष्ट्रिय तथ्याङक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्याङकले देखाएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्कअनुसार वृद्धिदर ४.१९ प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर ०.७६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण तथ्याङक कार्यालयले गरेको छ । तर, आईटी क्षेत्रका व्यवसयीहरुले भने गत वर्षभन्दा करिब दोब्बरले वृद्धिदर हुने दाबी गर्छन् ।

नेपालमा सूचना तथा सञ्चार क्षेत्रमा बढ्दो आकर्षण र उत्साहजनक गतिविधिलाई हेर्दा आईटी क्षेत्रको वृद्धिदर गत वर्षभन्दा करिब दोब्बर हुने अनुमान गर्न सकिने कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान) महासंघ अध्यक्ष रञ्जित कुमार पोद्दार बताउछन् । उनका अनुसार पछिल्लो समय नेपालको आर्थतन्त्रमा आईटी क्षेत्रले अपेक्षाभन्दा बढी योगदान दिएको छ ।

अध्यक्ष पोद्दार भन्छन्, ‘नेपालको सञ्चार क्षेत्रमा राम्रो भविष्य छ । यसलाई कसैले पनि इन्कार गर्न सक्दैन । ग्लोबल रुपमा विश्वका अधिकांश राष्ट्रहरुमा आर्थिक प्रभाव परेको देख्न सकिन्छ ।

त्यसैले पनि अन्य क्षेत्रमा आर्थिक वृद्धिदर घटेपनि सूचना तथा सञ्चार क्षेत्रमा घट्दैन । किनभने आइटी क्षेत्रको विकल्प छैन । अर्थात आर्थिक क्षेत्रमा प्रभाव पार्ने सेक्टरहरुमा आईटी क्षेत्र अहिले सबैतिर बलियो र महत्वपूर्ण हुँदै गएको देख्न सकिन्छ । र नेपालले पनि यसलाई महत्वपूर्ण क्षेत्रमा रुपमा हेरेको छ ।’

सूचना तथा सञ्चार क्षेत्रको जीडीपीमा योगदान ओरालो

नेपाल अर्थतन्त्रको आकार चालू आर्थिक वष २०८०/८१ मा ५७ खर्ब ४ अर्ब पुग्ने राष्ट्रिय तथ्याङकले प्रारम्भिक अनुमान गरेको छ । उक्त ५७ खर्ब ४ अर्बको अर्थतन्त्रको आकारमा सूचना तथा सञ्चार क्षेत्रले १.९४ प्रतिशत रहने कार्यालयको अनुमानले देखाएको छ ।

अंकगणितिय रुपमा हेर्दा सूचना तथा सञ्चार क्षेत्रले अर्थतन्त्रमा पुर्याउने योगदान घट्दै गएको देख्न सकिन्छ । तर, वास्तिविक चित्रमा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर भने बढेकै देखिन्छ ।

देशको जीडीपीमा सुचना तथा सञ्चार क्षेत्रको हिस्सालाई हेर्दा घट्दो क्रममा रहेको छ । चालू आर्थिक वर्ष २०७६/७७ सालमा कूल जीडीपीको २.२४ प्रतिशत हिस्सा ओगटेको सूचना तथा सञ्चार क्षेत्र चालू आर्थिक वर्ष २०७७/८८ सम्म आइपुग्दा कूल जीडीपीको २.२३ प्रतिशतमा पुग्यो ।

त्यस्तै, चालू आव २०७८/७९ मा कूल जीडीपीमा २.०७ प्रतिशत योगदान पुर्याएको आइटी क्षेत्र चालू आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा १.९६ प्रतिशतमा झर्यो भने चालू आर्थिक वर्ष २०८०/८१ मा देशको जीडीपीको हिस्सा १.९४ प्रतिशतमा झर्ने राष्ट्रिय तथ्याङकले प्रारम्भिक अनुमान गरेको छ ।

जीडीपीको इन्डस्ट्रियल डिभिजन बढ्दो

जीडीपीको इन्डस्ट्रियल डिभिजनलाई हेर्ने हो भने नेपालमा सूचना तथा सञ्चार क्षेत्रको मुल्यांकन बढ्दै गरेको देखिन्छ । जीडीपी वाई इनडस्ट्रियल डिभिजन भनेको कुनै निश्चित इनडस्ट्रिज जस्तै कृषि, रियल स्टेट तथा मेन्युफ्याक्चरी सेक्टरमा भएको वृद्धिलाई बुझाउँछ ।

अर्थात कुनै एक सेक्टरको भ्यालु अर्थात मुल्य १०० भने त्यसको वृद्धि यस वर्षमा ५ रुपैयाँले हुँदा त्यस निश्चित क्षेत्रको ‘जीडीपी वाई इनडस्ट्रियल डिभिजले’ १०५ हुन्छ । यो नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मुद्रास्फिति अर्थात मुल्यवृद्धि जस्तै मान्न सकिन्छ । यसलाई हेर्दा नेपालको सूचना तथा सञ्चार क्षेत्रको भ्यालु बढ्दै गइरहेको देख्न सकिन्छ ।

सूचना तथा सञ्चार क्षेत्रको बढ्दो उत्पादन

चालू आर्थिक वर्ष २०८०/८१ मा सुचना ताथा सञ्चार क्षेत्रको कुल उत्पादन २ खर्ब ४५ अर्ब १० करोड २० लाख रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो पाँच वर्षको सूचना तथा सञ्चार क्षेत्रको कुल उत्पादन हेर्ने हो भने यस क्षेत्रको उत्पादन बढ्दै गएको देख्न सकिन्छ ।

चालू आर्थिक वर्ष २०७६/७७ मा सूचता तथा सञ्चार क्षेत्रको कुल उत्पादन १ खर्ब ८६ अर्ब १८ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, चालू आव २०७७/८८ मा १ खर्ब ९८ अर्ब १६ करोड, चालू आव २०८८/७९ मा २ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ थियो र गत चालू आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको कुल उत्पादन २ खर्ब ३२ अर्ब ८४ करोड रुपैयाँ थियो । जुन यस चालू आर्थिा वर्ष २०८०/८१ मा २ खर्ब ४५ अर्ब १० करोड २० लाख हाराहारी पुग्ने प्रारम्भिकक अनुमान गरिएको छ ।

समग्रमा यस चालू आर्थिक वर्ष २०८०/८१ मा सूचना तथा सञ्चार क्षेत्रबाट जीडीपीमा योगदान केहि कम देखिए तापनि जीडीपीको आकार बढेकोले गर्दा यस क्षेत्रको हिस्सा प्रतिशतमा कम देखिएको तथ्याङ कार्यालयले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर