ट्रेड युनियनभित्रको अराजकता र प्रशासकभित्रको स्वेच्छाचारिताको अन्त्य हुनुपर्छ : कर्मचारी संगठन – Nepal Press

ट्रेड युनियनभित्रको अराजकता र प्रशासकभित्रको स्वेच्छाचारिताको अन्त्य हुनुपर्छ : कर्मचारी संगठन

काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठनले ट्रेड युनियन आन्दोलनभित्रको अराजकता अन्त्य हुनुपर्ने जनाएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संगठनले शुभकामना सन्देश जारी गर्दै ट्रेड युनियन आन्दोलनभित्रको अराजकता र प्रशासकभित्रको स्वेच्छाचारिताको अन्त्य हुनुपर्नेमा जोड दिएको हो ।

‘संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएकोले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरेकोले ट्रेड युनियन आन्दोलनभित्र देखिने अराजकता र प्रशासकभित्र देखिने स्वेच्छाचारिताको अन्त्य गर्दै संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै श्रमजीवि क्षेत्रका संगठनको महत्वपूर्ण कार्यभार हो’, संगठनका अध्यक्ष अम्बादत्त भट्टले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

संगठनले स्वदेशमा रोजगारी सिर्जनामा जोड दिँदै वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन सरकारसँग मागसमेत गरेको छ ।

विज्ञप्तिमा थप भनिएको छ, ‘युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकारको निरन्तर प्रयासमा हाम्रो सदैव साथ र सहयोग रहनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *