नेपालबाट दुई वटा टी-२० विश्वकप टोलीमा समावेश एक्ला खेलाडी बने सोमपाल
काठमाडौं । आगामी महिना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि राष्ट्रिय टोलीमा परेपछि नेपालका बलिङ अलराउन्डर सोमपाल कामीले ऐतिहासिक सफलता प्राप्त गरेका छन् ।
सोमपाल दुइटा टी-२० विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र क्रिकेटर हुन् । उनले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको विश्वकप खेलेका थिए ।
नेपाली टोलीबाट डेब्यु गरेको एक वर्ष पनि नबित्दै उनले त्यतिबेला विश्वकप खेलेका थिए । उक्त विश्वकप खेलेका सोमपालबाहेक विनोद भण्डारीमात्र यस पटक छनोटको दौडमा थिए । तर, उनी अन्तिम १५ सदस्यीय राष्ट्रिय टोलीमा अटाएनन् ।
सोमपालले ६५ टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ७.१९ को इकोनोमीमा ५८ विकेट लिएका छन् भने ३१५ रन जोडेका छन् । उनको ब्याटिङ स्ट्राइक रेट ११५.३८ रहेको छ ।
नेपालले इतिहासमै दोस्रो पटक टी-२० विश्वकप खेल्दैछ । १० वर्षपछि छनोट भएर नेपालले आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने विश्वकप खेल्दैछ ।