नेपालको टी-२० विश्वकप स्क्वाड: ब्याटिङ पंक्ति बलियो, अलराउन्डर खचाखच
फास्ट बलिङ फितलो, स्पिनमा कति खट्किएला सन्दीपको अभाव ?
काठमाडौं । नेपालले दोस्रो पटक खेल्न लागेको टी-२० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड आज घोषणा गर्यो । नेपाल क्रिकेट संघ (क्यान) द्वारा घोषित स्क्वाडमा कुनै ठूलो सरप्राइज छैन ।
नेपालको राष्ट्रिय टीम एकप्रकारले सेट नै थियो । २-३ जना खेलाडीको विषयमा मात्रै अलिकति संशय थियो । यसमा सुझबुझपूर्वक अहिलेको फर्मभन्दा अनुभव र टी-२० विशेषज्ञतालाई ग्राह्यता दिइएको देखिन्छ । घोषित स्क्वाड सन्तुलित छ र एउटा एसोसिएट राष्ट्रको हिसाबले बलियो पनि छ ।
नेपालको ओपनिङ नियमित ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले नै गर्नेछन् । कुशल अहिले राम्रो फर्ममा छैनन्, तर पनि उनी एक म्याच विनर हुन् । वेस्ट इन्डिजसँगका बाँकी दुई खेलमा उनले आफ्नो फर्म फिर्ता ल्याउने विश्वास छ । आसिफले ओपनिङका साथै विकेट किपिङ पनि गर्नेछन् । यो जोडी नेपालको अहिलेसम्मकै सफल ओपनिङ जोडी हो ।
नेपालले अतिरिक्त ओपनर र विकेट किपरका रुपमा अनिल साहलाई समावेश गरेको छ । कुशल वा आसिफमध्ये एकजनालाई रिप्लेस गर्नुपर्दा अनिलले प्लेइङ ११ मा स्थान पाउनेछन् । अन्यथा उनी बेञ्चमा बस्नुपर्ने पनि हुनसक्छ ।
नेपालको मध्यक्रम निकै सुदृढ छ । सम्भवतः एसोसियट क्रिकेट टीमहरुमध्ये नै बलियो हुनसक्छ । कप्तान रोहित पौडेल तेस्रो नम्बरमा आएर नेपालको इनिङलाई स्थिरता दिनेछन् । उनी लामो इनिङ खेल्न सक्ने र आवश्यक पर्दा तेजिलो आक्रमण पनि गर्न सक्ने क्षमता भएका ब्याट्सम्यान हुन् ।
रोहितपछि युवा ब्याट्सम्यानहरु सन्दीप जोरा र कुशल मल्ल मध्यक्रममा छन् । विस्फोटक अन्दाजमा खेल्ने कुशल मल्ल यदि चले भने छिट्टै नै खेललाई आफ्नो पकडमा पार्न सक्छन् । सन्दीप जोरा पनि प्रतिभाशाली ब्याट्सम्यान हुन् र अहिले राम्रो फर्ममा पनि छन् ।
नेपालको फिनिसरका रुपमा दीपेन्द्रसिंह ऐरी र गुल्शन झा रहनेछन् । यी दुवै नेपालका म्याच विनरहरु हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा अब्बल दीपेन्द्र नेपालका थ्रीडी ब्याट्सम्यानका रुपमा पनि परिचित छन् । युवा गुल्शनले पनि थुप्रै म्याच विनिङ पारीहरु खेलिसकेका छन् ।
नेपालसँग पुछारसम्म नै ब्याटिङ पावर छ । नवौं-दशौं नम्बरमा आउने सोमपाल कामी र करण केसी पनि आवश्यक पर्दा ब्याटबाट टीमलाई योगदान दिन सक्छन् । ११ औं नम्बरमा आउने ललितनारायण राजवंशी मात्रै ब्याटिङका लागि चिनिँदैनन् ।
नेपालको टीम अलराउन्डरहरुले भरिएको छ । नियमित प्लेइङ ११ मा पर्नसक्ने अधिकांश खेलाडीहरु ब्याटिङ र बलिङ दुवै गर्न सक्छन् । दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेल र रोहित पौडेल स्पिन बलिङ राम्रो गर्छन् । गुल्शन झा मध्यम गतिको बलिङ गर्छन् र नेपालले तेस्रो फास्ट बलरको रुपमा प्रयोग गर्नसक्छ । सोमपाल र करण फास्ट बलिङ अलराउन्डर हुन् ।
नेपालको अतिरिक्त फास्ट बलरका रुपमा कमलसिंह ऐरी र प्रतिस जीसीलाई पनि स्थान दिइएको छ । उनीहरु पनि धेरथोर ब्याटिङ गर्न सक्छन् । यद्यपि, प्लेइङ ११ मा पर्न मुस्किल छ ।
स्पिनतर्फ नेपाल अलराउन्डरमै बढी भर पर्ने देखिन्छ । ललित राजवंशीलाई दीपेन्द्र, दुई कुशल र रोहितले साथ दिनेछन् । अतिरिक्त स्पिनरका रुपमा सागर ढकाललाई स्क्वाडमा राखिएको छ ।
नेपालको स्क्वाडमा अनुभवी ब्याट्सम्यान आरिफ शेख, युवा अलराउन्डर विवेक यादव र फास्ट बलर आकाश चन्द छुटेका छन् । आरिफले एक दिवसीयमा नेपालका लागि लगातार राम्रो प्रदर्शन गर्दै आए पनि टी-२० मा भने त्यति सफलता पाउन सकिरहेका छैनन् । विवेक थुप्रै अवसर पाए पनि सदुपयोग गर्न चुके । आकाशसँग अनुभवको कमी छ ।
एउटा कमजोरी भनेको फास्ट बलरहरु अत्यधिक राखिनु हो । नेपालसँग करण केसी सोमपाल कामी अविनाश बोहरा, प्रतिश जिसी र कमसिंह ऐरी गरी पाँच फास्ट बलरहरु छन् । उनीहरुमध्ये दुई जनाले मात्र प्लेइङ ११ मा स्थान बनाउन सक्ने देखिन्छ । प्रतिश र कमलमध्ये एकजनालाई राख्दा पर्याप्त हुन्थ्यो । त्यसको ठाउँमा एकजना अतिरिक्त ब्याट्सम्यानका रुपमा अनुभवि आरिफ शेख वा युवा लाेकेश बमलाई थप्न सकिन्थ्यो ।
अरु खोट लगाउने ठाउँ छैन । समग्रमा टीम बलियो छ, तर यस पटक नेपालले बलिङमा चिन्ता लिनुपर्ने ठाउँहरु छन् । खासगरी नेपालको फास्ट बलिङ फितलो छ । विश्वस्तरीय ब्याट्सम्यानहरुले नेपालका फास्ट बलरहरुलाई सजिलै धुजाधुजा बनाउन सक्छन् । स्पिनतर्फ सन्दीप लामिछानेको कमी खट्किन सक्नेछ ।