वैशाख २१ मा विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारी, हतार नगर्न एमालेको सुझाव – Nepal Press

वैशाख २१ मा विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारी, हतार नगर्न एमालेको सुझाव

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । सुदूरपश्चिम प्रदेश सभा सचिवालयमा उनले विश्वासको मत लिनको लागि प्रदेश सभा बैठक आह्वान गर्न समेत पत्र पठाइसकेका छन् ।

‘संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएको हुँदा धारा १६८ को उपधारा (४) बमोजिम मिति २०८१ वैशाख २१ गते शुक्रवारका दिन प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक व्यवस्थापन गरिदिन हुन पत्र आएको छ’, प्रदेश सभा सचिवालयले भनेको छ, ‘२१ गते शुक्रबार अपराह्न ५ः०० बजे सोही प्रयोजनका लागि प्रदेश सभाको बैठक बस्दै छ ।’

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मंगलबार सत्ता गठबन्धनका नेताहरूसँगको छलफलमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने तयारी गरेको बारे जानकारी गराएका थिए । उनले मंगलबार नै प्रदेश सभा सचिवालयलाई प्रदेश सभा बैठक आह्वान गर्न पत्र काटेका थिए ।

मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री सोडारी सहित, एमालेका प्रमुख सचेतक सुरेन्द्र पाल, माओवादी केन्द्र संसदीय दलका नेता मान बहादुर धामी र उपनेता अक्कल रावल, नाउपाका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र स्वतन्त्र सांसद डा. तारा जोशी सहभागी थिए ।

उनीहरुबीच २१ गते विश्वासको मत दिने र सत्ता गठबन्धनका सबै दलहरूले विश्वासको मत दिने समझदारी भएको नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले जानकारी दिए ।

‘सबै दलहरू बिच विश्वासको मत दिने विषयमा समझदारी भइरहेको छ’, उनले भने, ‘मुख्यमन्त्रीले २१ गते विश्वासको मत पाउनु हुन्छ ।’ २१ गते बिहान ८ बजेको लागि प्रदेश सभामा कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान भइसकेको छ । सोही दिन मुख्यमन्त्रीले विश्वासको मत दिने तयारी गरेका छन्। भोली नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले विश्वासको मत दिने निर्णय गर्ने छन् ।

‘हामीले विश्वासको मत दिने निर्णय भोली गर्छौ’, उपनेता रावलले भने, ‘अरू दलहरूले पनि भोलि वा पर्सिसम्म गर्छन् ।’

माओवादी केन्द्रले पनि भोली नै विश्वासको मत दिने निर्णय गर्ने माओवादी संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए । ‘भोली हामी बसेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्छौ’ उनले सुनाए ।

माओवादी भित्र खगराज भट्ट अझै सम्म पनि रुष्ट छन् । बुधबार उनलाई मनाउन माओवादी प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले छलफल गर्न बोलाएका थिए । खगराज भट्टसहितका उनी निकटका सांसदहरूलाई पनि विश्वास दिलाएर माओवादीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी गरेका छ ।

तर, संसदीय दलबाट अपमानपूर्ण ढङ्गबाट हटाइएको भन्दै भट्ट दलको नेतामा पूर्नवहालीको माग राखिरहेका छन्। आफ्नो माग सम्बोधन नभए सम्म विश्वासको मत दिने विषयमा आफूले कुनै निर्णय नगरेको उनी बताउँछन् ।

यता नागरिक उन्मुक्ति पार्टी भित्रको किचलो पनि अझै सम्म निरूपण भएको छैन । रेशम चौधरी निकट पाँच सांसद अझै पनि रुष्ट छन् । उनीहरूसँग पनि संवाद र छलफल पछि विश्वासको मत दिने निर्णय गरिने भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले जानकारी दिए ।

स्वतन्त्र सांसद तारा जोशी पनि विश्वासको मत दिन कुरामा विश्वस्त रहन आग्रह गर्छन् । उनी भन्छन्, ‘हामीले समर्थन गरेको सरकारलाई हामीले नै विश्वासको मत नदिने भन्ने कुरा हुँदैन । म मन्त्री बन्ने सम्भावना नहुन सक्छ तर विश्वासको मत दिन्छु ।’

यहाँका सबै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत लिने र यस विषयमा निर्णय गर्ने तयारी गरिरहेका बेला नेकपा एमालेले भने अहिले सम्म कुनै ठोस निर्णय गरेको छैन । यस अघि नै एमालेले वर्तमान सरकारमा सहभागी नहुने भनेर निर्णय गरेको थियो । अहिले सम्म सरकारमा सहभागी हुने र विश्वासको मत दिने विषयमा कुनै निर्णय गरिएको छैन । एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले वर्तमान सरकारलाई विश्वासको मत दिने विषयमा पार्टीको कुनै निर्णय नभएको बताए ।

‘हामीले अहिलेसम्म विश्वास मत मुख्यमन्त्रीले लिँदै हुनुहुन्छ भन्ने बारे जानकारी पाएका छैनौँ’, उनले भने, ‘अहिले सम्म यो विषयमा पार्टीमा छलफल भएको छैन ।’

बझाङ निर्वाचनमा नेकपा एकीकृत समाजवादीले एमालेसँगको समझदारी तोडेको भन्दै तत्काल विश्वासको मत नदिन सांसदहरूलाई चर्को दबाब रहेको छ । एमाले शीर्ष नेताहरूले पनि मुख्यमन्त्री सोडारीलाई तत्काल हतार नगर्न सुझाव दिएको स्रोतको दाबी छ ।

वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले जेठ ५ गते सम्म विश्वासको मत लिन सक्छन् । समय अझै बाकी रहेको हुँदा थप छलफल गरेर मात्रै विश्वासको मत लिने विषयमा अगाडी बढ्न मुख्यमन्त्री सोडारीलाई एमालेको सुझाव छ । अझैसम्म सत्ता गठबन्धनमा पावर सेयरिङका विषयमा ठोस सहमति भएको छैन । मन्त्रालय भागबन्डाको विषय पनि मिलेको छैन । प्याकेजमा सहमति नहुँदा सम्म विश्वासको मतका विषयमा अगाडि नबढ्न सुझाव आएको एमाले नेताहरू बताउँछन् ।

एमालेले अहिले सम्म विश्वासको मत दिने विषयमा कुनै निर्णय नगर्दा नेपाली कांग्रेसले विश्वासको मत दिने सम्भावना बारे काङ्ग्रेसकै सांसदहरू त्यो सम्भावना नरहेको बताउँछन् ।

६ गते सोडारी मुख्यमन्त्री हुनु भन्दा पहिलो सोडारीसहित कांग्रेस ,राप्रपा र नाउपाको रेशम पक्षका सांसदहरूले एमाले माओवादीले समर्थन गरेको भन्दा फरक उम्मेदवारलाई समर्थन गर्दै मुख्यमन्त्रीमा दाबी पेश गर्न पुगेका थिए ।

वर्तमान सरकार असंवैधानिक रहेको जिकिर गर्दै सोडारी सरकारलाई विश्वासको मत दिने कुनै सम्भावना नरहेको पूर्व मन्त्री समेत रहेका कांग्रेस सांसद प्रकाश देउवाले स्पष्ट पारे । ‘सोडारी नेतृत्वको सरकार असंवैधानिक छ भन्दै हामीले मुद्दा हालेका छौँ । त्यही सरकारलाई विश्वासको मत दिने कुरा हुँदैन’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *