‘श्रमिक दिवस भनेर बिदा बसे साँझ के खाने ?’ – Nepal Press

‘श्रमिक दिवस भनेर बिदा बसे साँझ के खाने ?’

पोखरा । वैशाखको धूप । उकुसमुकुस मौसम । हपक्क सेतीको किनारको प्रवाह थिएन बसन्त रोकालाई । उमेर ५३, काम थियो बालुवा बोक्ने । रोकालाई अन्तर्राष्ट्रिय मजदुर दिवसबारे न जानकारी थियो न जान्ने चाख । उनलाई र्‍यालीमा गएर चर्को नारा लगाउने फुर्सद पनि थिएन । उनलाई चिन्ता थियो त बिहान बेलुकाको छाक कसरी टार्ने ?

उनी धेरै कमाउने आशमा बिहानै ३ बजेदेखि रामघाटमा बालुवा बोक्न जान्छन् । सोहीअनुसार बुधबार पनि बिहान ३ बजे नै बालुवा बोक्न रामघाट पुगेका थिए । डोकोमा बालुवा हालिरहेका रोकालाई पङ्क्तिकारले सोध्यो, ‘आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, तपाईँलाई श्रमिक दिवस लागेन ?’

प्रश्न भुईँमा खस्न नपाउँदै उनले जवाफ फर्काए, ‘अहिले श्रमिक दिवस लागे, भरे (साँझ) के खाने । त्यसपछि उहाँसँग कुरा गर्न सुरु ग¥यौँ । करिब ६ वर्षदेखि रामघाटमा बालुवा बोक्ने काम गर्दै आएका उनी घर दाङको बंगलाचुली बेलाबखत घर पनि गइरहन्छन् ।

उनको चाहना घरमै केही गर्ने थियो । त्यही चाहनाअनुसार ३ वर्षअघि लघुवित्तबाट १ लाख ऋण लिएर बाख्रा पालन सुरु गरे । तर, उनलाई त्यहीँ ऋण भारी हुन पुग्यो । उनले १० वटा बाख्राबाट पालन सुरु गरेका थिए । उनलाई एक वर्षसम्म हरेक महिना १० हजार किस्ता तिर्नुपर्ने बाध्यता थियो ।

तर, बाख्राबाट तत्कालै अर्थोपार्जन भएन । उनका किस्ता तिर्न सकस हुन थाल्यो । त्यसपछि उनले अरूसँग सापटी लिँदै लघुवित्तको किस्ता तिर्न थाले । उता बाख्रा बढ्दै जाँदा खर्च पनि थपिँदै गयो । त्यसपछि भने उनलाई चल्न हम्मे हम्मे हुन पुग्यो ।

‘१ लाख ऋण लिएर बाख्रा फर्म सुरु गरेँ । बाख्रा बढ्दै गए, खोर पनि बनाउनुपर्यो । लगानी बढ्दै गयो । ऋण पनि बढ्यो । कमाउँदै तिर्दै । फेरि घर पनि चलाउनुपर्यो । अहिले डुबेको छ’, उनले भने । ऋणमाथि ऋण थपिँदै गएपछि उनी पुनः पोखरा आए । अहिले उनी घर नगई काम गरेको ६ महिना भयो ।

केही समयपछि घर जाने सोचमा उनी छन् । घरमा श्रीमतीसँगै एक छोरा र एक छोरी छन् । उनीहरूको पालनपोषण पनि उनीमाथि निर्भर हुन्छ । उनले एक डोका बालुवा बोकेको ५० रुपैयाँ पाउँछन् । ‘६ महिना भयो घर नगएको । यतै बसेर काम गरेपछि ऋण कम हुन आसमा काम गरिराखेको छ । अब केही दिनपछि घर जानुपर्ला’, उनले सुनाए ।

उनले बिहान ३ बजेदेखि साँझ ७/८ बजेसम्म बालुवा बोक्दा मुस्किलले २५ डोका बालुवा बोक्न भ्याउँछन् । यो हिसाबले उनलाई एक दिन खाली बस्दा एक हजारदेखि १२ सयसम्म घाटा लाग्न पुग्छ । उनी भन्छन्, ‘गर्नेले त गरेका छन् । मलाई त के छ र छुट्टी गरेर के पाउँछु र । गरे हुने हो नगरे हुने होइन । अहिले बिदा बसे साँझ खान पुग्दैन ।’

रोकाजस्तै खोटाङका ५२ सम्मरबहादुर राईलाई पनि श्रमिक दिवसको कुनै प्रवाह छैन । एक महिनाअघि पोखरा आएका राईको काँधमा घर परिवार चलाउने जिम्मा छ । श्रमिक दिवसका विषयमा उनी मजदुरका लागि चार्ड भए पनि मनाएर बस्ने अवस्था नरहेको बताउँछन् ।

‘मजदुरका लागि एउटा चार्ड हो । मैले चार्ड मनाइ राख्दाखेरि भरै(साँझ) पेटले चारो खोज्छ । एक दिन मात्रै गुम्यो भने बच्चाहरू भोका हुन्छन् । भत्ता भने पनि यही हो, जागिर भने पनि यही हो । आजको दुई तिन सय भए पनि किन छोड्नु भनेर’, उनी भन्छन् ।

राईको घरमा १० जना छन् । सोही परिवार धान्न उनी र उनका छोरा बालुवा बोक्ने काममा लागेका छन् । काठमाडौँमा राम्रो कमाई नभएपछि उनी एक महिनाअघि पोखरा आएका थिए । तर, यहाँ पनि सोचेअनुसारको कमाई हुन नसकेको उनी सुनाउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर