तीन दशकदेखि पूरा नभएको गच्चे- भालुवाङ सडक – Nepal Press

तीन दशकदेखि पूरा नभएको गच्चे- भालुवाङ सडक

दाङ। लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्तीको भालुवाङबाट अर्घाखाँचीको सन्धिखर्क जोड्ने गच्छे–भालुबाङ सडक साढे २ दशकसम्म पूरा नहुँदा स्थानीयलाई सास्ती भएको छ ।

स्थानीयका अनुसार यो काम पूरा हुन अझै ५ वर्ष लाग्ने अनुमान गरिएको छ । २०५६ सालदेखि सुस्त गतिमा काम भएको गच्छे–भालुबाङ सडक लुम्बिनी प्रदेशको राजधानी दाङ बनेपछि प्राथमिकताका साथ अघि बढ्ने अपेक्षा स्थानीयले गरेका छन् ।

अर्घाखाँचीबाट भालुबाङ आउजाउ गर्न सन्धिखर्क–गोरुसिंगे सडक हुँदै पूर्वपश्चिम राजमार्गको बाटो हिँड्नुपर्छ । सन्धिखर्क–गोरुसिंगे–भालुबाङ १ सय २४ किमी दुरी छ । सन्धिखर्कबाट दुई किमीको गच्छे–भालुबाङ ६४ किमीको दुरी रहेको छ ।

अहिले प्रदेश सरकारको १६ करोड रुपैयाँ बजेटमा गच्छे–भालुबाङ सडक खण्डको टोड्केदेखि लामातालसम्मको ३० किलोमिटर सडकलाई ग्राभेल र स्ट्रक्चरको काम भएको छ । गच्छे–टोड्केसम्म ग्राभेल भएको छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख गोपी पुन मगरका अनुसार अहिले बजेटअनुसार काम धमाधम भएको छ।

उनले भने– ‘१६ लाखको ग्राभेल र स्ट्रक्चरको काम २०८० वैशाख ३० गतेसम्म निर्माण व्यवसायीसँग सम्झौता भएकाले काम पूरा हुन्छ । सडक ७ मिटर चौडा छ । असारसम्म यो काम सकिन्छ’ गच्छे–टोड्के खण्डको निर्माणका लागि ३ करोडमा काम भएको छ । अहिले लामातालसम्म काम भएको छ ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाको लामातालबाट राप्ती किनार हुँदै बढीदमार–प्युठानको चैते–रामपुर हुँदै मुख्य रोडबाट दाङको भालुबाङ जोडिन्छ । यो सडक पूरा भएर यातायात सञ्चालन भएपछि प्रदेश राजधानी दाङसँग अर्घाखाँचीको दुरी छोटो हुनेछ । यही बजेट अनुसार काम भएमा गच्छे–भालुबाङ सडक निर्माण पूरा हुन अझै पाँच वर्ष लाग्न सक्ने उनले बताए ।

लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा थप बजेट माग गरेको पुनमगरले बताए । अहिले गच्छेदेखि लामातालसम्मको ४७ किलोमिटर दुरीको दुई ठाउँमा निर्माणको काम भइरहेको छ । यो सडकलाई पहिले अर्घाखाँचीलाई दाङको भालुबाङ जोड्ने भनेर थोरै बजेटमा २४ वर्षदेखि काम भइरहेको थियो ।

भालुबाङदेखि ५ किलोमिटर देउखुरीमा स्थायी राजधानी तोकेर लुम्बिनी प्रदेश राजधानीका प्रशासनिक कार्यालय सरेपछि यसलाई प्रदेश राजधानीसँग जोड्ने महत्वपूर्ण सडककोरुपमा महत्व दिइएको छ ।

प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेका अनुसार गच्छे–भालुबाङ सडक अर्घाखाँचीलाई दुरगामी महत्व राख्ने बाटो हो । उनले भने, ‘सडक सम्पन्न भएपछि अर्घाखाँचीसहित पाल्पा र गुल्मीका नागरिकलाई प्रदेश राजधानी आउजाउ गर्न यही बाटो सहज हुन्छ । स्थानीयको आर्थिक समृद्धिलाई टेवा दिन्छ, चहलपहल भएपछि चिया खाजा पसल, रिसोर्टदेखि तरकारी उत्पादन गर्ने कृषक समेत लाभान्वित हुन्छन् ।’

अर्घाखाँची जिल्लाको दुर्गम क्षेत्रमा पर्ने जलुके, जुकेना गाउँका स्थानीयलाई गच्छे–भालुबाङ सडक पूरा भएपछि गाउँमा उत्पादन भएको तरकारी, खसीबोका, खाद्यवस्तु लगायतका उपज भालुबाङ बजारमा निर्यात गर्न सहज हुने स्थानीय दिपेन्द्र जीसी बताउँछन् । स्थानीयलाई अर्घाखाँची सदरमुकाम सन्धिखर्कभन्दा भालुबाङ नजिक पर्ने भएकाले पनि यसमा बढी चासो राखेका छन् ।

अर्घाखाँचीलाई मात्रै होइन पहाडी क्षेत्रलाई प्रदेश मुकाम जोड्ने छोटो र सजिलो यो बाटो सबैको पहलमा छिटो पूरा गर्र्नुपर्ने अर्घाखाँचीका शोभाखर पन्थी बताउँछन् ।

’धेरै पुरानो योजना हो, सधै अलपत्र अवस्थामा बस्यो,अब ढिलाई गर्नु हुँदैन’ उनले भने । शितगंगा नगरपालिका– ८ र ९ नम्बर वडा, दाङको राप्ती गाउँपालिकाको ९ वटै वडा र गढवा गाउँपालिकाको वडा १, २ र ३ लाई समेटेर राजधानी राप्ती उपत्यका बनेपछि यसको महत्व बढेको छ । शितगंगा नगरपालिका–७ मा २ सय ८१ मेगावाट विद्युत उत्पादन हुने निर्माणाधीन नौमुरे बहुउद्देश्यीय आयोजना रहेको छ । धार्मिक, पर्यटकीय र व्यापारिक हिसाबले जंगलभित्रको दुर्गम बस्तीको मुहार फेर्ने गच्छे–भालुबाङ सडकलाई बजेटमा प्राथमिकतामा पारेरै छिटो पूरा गर्न आफू लागि परेको सांसद घिमिरेले बताए ।

धनचौरको साप्रे भीरमा जटिल पत्थर सहितको पहरोको बीचबाट सडक छेंडेर फराकिलो पार्ने काम २४ वर्षसम्म पनि पूुरा भएको छैन । अर्घाखाँची र गुल्मीबाट प्रदेश राजधानी आउने सबैभन्दा छोटो बाटो भएकाले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको भनाइ छ ।

अहिले अर्घाखाँचीबाट निर्वाचित सांसद प्रदेशको आर्थिक मामिला मन्त्री र गुल्मीबाट निर्वाचित दिनेश पन्थी आन्तरिक मामिला मन्त्री भएकाले पनि यो सडकलाई प्राथथमिकतामा राख्नुुपर्ने उनीहरुको भनाइ छ ।

अर्घाखाँचीका सांसद तथा प्रदेशका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले यो आयोजनालाई बहुवर्षे योजनामा राखेर अगाडि बढाइने बताए । ‘प्रदेश मुकाम जोडिने छोटो बाटो हो, अर्घाखाँचीवासीलाई मात्रै होइन, गुल्मी, प्युठानीलाई पनि यो बाटोबाट तराई झर्न धेरै सहज बनाउँछ, अब बहुवर्षे आयोजनामा राखेर काम अगाडि बढ्नेछ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *