जलवायु परिवर्तनको मुख्य अनुकूलन लोकतन्त्र : माल्दिभ्सका पूर्वराष्ट्रपति नासिद
काठमाडौं । माल्दिभ्सका प्रथम जननिर्वाचित राष्ट्रपति मोहमद नासिदले जलवायु परिवर्तनका मुख्य अनुकूलन वाक स्वतन्त्रता र लोकतन्त्र भएको बताएका छन ।
ललितपुरको यलमाया केन्द्रमा आयोजित तेस्रो हिमाल मिडिया मेलाका मुख्य वक्ता उनले वाक स्वतन्त्रता र लोकतन्त्र भएमा मात्र जलवायु अनुकूलका काम सहज हुने बताए । जलवायु परिवर्तन जनजीवनमात्र नभइ आर्थिक मुद्दा पनि भएको उनको भनाइ छ ।
सन् १९९४ मा माल्दिभ्समा जेल परेर निस्किएका नासिदले सोही वर्षबाट प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको भन्दै आजकै दिन आफूले जेलबाट रिहाइका दिन सम्झेको बताए । जलवायु परिवर्तनको उच्च जोखिममा परेका ६८ देशको संस्था भल्नुरेबल फोरमका महासचिवसमेत रहेका उनले माल्दिभ्सलगायतका देशहरू डेब्ट क्राइसेसमा पर्ने र आईएमएफलाई गुहार्ने बताएका छन् ।
जलवायु परिवर्तका मुद्दालाई विश्वमा देखाउन उनले समुद्रमुनि क्याविनेट बैठक बसालेका थिए । तत्कालीन माधव नेपाल सरकारले पनि सगरमाथा क्षेत्रमा क्याविनेट बैठक गरेर विश्वलाई ध्यानाकर्षण गराएको थियो ।