डढेलो नियन्त्रणको पूर्वतयारी गर्न वातावरण पत्रकार समूहको माग
काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले सुख्खायाम सुरु हुनुभन्दा अगावै नै डढेलो पूर्वानुमान र नियन्त्रणका लागि आवश्यक योजना र त्यसलाई कार्यान्वयन गर्नका लागि चाहिने आर्थिक स्रोत सुनिश्चित गर्न माग गरेको छ ।
नेवापसले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिबाट जुध्न पहिले नै पूर्वतयारी गर्न माग गरेको हो ।
पछिल्लो समय देशभर आगलागी डढेलोको घटना बढ्दै गएको र यसका कारण वनजंगलमा क्षति पुग्नुका साथै मानवीय हताहती र घरवार नष्ट भएकोप्रति नेवापसको ध्यानाकर्षण भएको वातावरण पत्रकार समुहकी अध्यक्ष रोशनी अधिकारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ।
जलवायु परिवर्तनका कारण संसारभर डढेलोको घटना बढ्दै जाने कुरा जलवायु परिवर्तन यस सम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसि) ले पटक पटक आफ्नो रिपोर्टहरुमा उल्लेख गर्ने गरेको छ ।
हरेक वर्ष हिउँद र वर्षा बीचको सुख्खायामको समय बढ्दै गएको अनुसन्धानले देखाएको बताउँदै यी सबै कुराहरुलाई ध्यानमा राख्दा डढेलोको घटनाहरु आगामी वर्षहरुमा अझै बढेर जाने र हरियो वन नेपालको धन आख्यानमामात्रै सीमित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।
डढेलोका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेकाले बढ्दो प्रदूषणका कारण सर्वसाधारण (बालबालिका र वृद्धवृद्धा) को श्वास(प्रश्वासमा नै समस्या देखिँदा समेतसरकारी निकायको पूर्व तयारी निकै फितलो देखिएको नेवापसले बताएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘आगो लाग्दा निभाउने संयन्त्रमा खटिएकाहरूलाई न पर्याप्त तालिम छ, न त प्राविधिक स्रोत र साधन नै । आगोको लप्काको अगाडि निरिह देखिएका स्थानीय प्रतिनिधि, कर्मचारी र समुदाय जोखिममा देखिएका छन् ।’
नेवापस सरकारलाई डढेलो नियन्त्रण, यो कार्यमा खटिने अग्नी नियन्त्रक तथा सुरक्षाकर्मीलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन विशेष आग्रह गरेको छ ।
मंगलबार घर नजिकैको तप्तेश्वर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा गम्भीर घाइते भएका ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेलाका शंकर र रमेश पहरीको उपचारका क्रममा निधन भएको थियो ।
गत २८ चैतमा डोल्पाको सामुदायिक वनको डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका ३ जना सैनिकको पनि उपचारका क्रममा ज्यान गएको थियो ।
डढेलो नियन्त्रणमा पर्याप्त स्रोत साधन अभाव र असावधानीले २०६६ सालमा रामेछापमा १३ जना सैनिकको ज्यान गएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ यता आगलागी र डढेलोबाट १६ जनाको मृत्यु भएको छ ।