लागू छैन पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली, खरिद मूल्य नै किन लुकाउँछ निगम ? – Nepal Press

लागू छैन पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली, खरिद मूल्य नै किन लुकाउँछ निगम ?

ग्यासको मूल्य नै सार्वजनिक गर्दैन आयल निगम

काठमाडौं । नेपाल आयाल निगमले स्वाचालित मूल्य प्रणाली लागू गरेको छ । तर, भारतबाट आएको मूल्यमा केही थपघट गरेरमात्रै नेपाल आयल निगमले मूल्य सार्वजनिक गरिरहेको छ । निगमले वैशाख १८ गते सार्वजनिक गरेको नयाँ मूल्यसूचीमा भारतबाट आएको मूल्य अनुसार नै स्वचालित प्रणाली लागू भएको देखिदैन ।

सो दिन निगमद्वारा सार्वजनिक सूचीमा इण्डियन आयल कपोर्रेसनबाट नयाँ खरिद मूल्यअनुसार पेट्रोल मूल्य २ पैसा र डिजेलको मूल्य २.४५ प्रतिलिटर घटेर आएको भनेको छ । भने, हवाई इन्धनको मूल्य १. १८ पैसा मूल्य बढेर आएको बताएको छ । तर, यो विज्ञप्तिमा मट्टितेल, ग्यास र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढेको हो वा घटेको हो खुलाइएको छैन । अन्तर्राष्ट्रिय हावई इन्धनको भने मूल्य वृद्धि भएको छ । ग्यासको मूल्य घटेको वा बढेको केही कुरा खुलाइएको छैन ।

निगमले वैशाख १८ मा सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य भारतबाट २ पैसा घटेर आएको थियो । तर, मूल्य पुरानै कायम भएको थियो । भने, डिजेलको मूल्य २.४५ प्रतिलिटर घटेर आएको भएपनि २ रुपैयाँ मात्रै प्रतिलिटर मूल्य घटाइएको छ । निगमले नयाँ मूल्य सार्वजनिक गर्दा अन्तर्राष्ट्रिय हावई इन्धनको मूल्यवृद्धि भएर आएको उल्लेख नै नगरी प्रतिकिलो टिलर अमेरिकन डलर ७ ले वृद्धि गरिएको छ ।

वैशाख ३ गते सार्वजनिक सूचीमा पेट्रोल, डिजेल मात्रै बढेर आएको भनिएको छ । यो सूचीमा पनि ग्यास, हावई इन्धन र मटिट्तेलको मूल्य बढेको वा घटेको कुनै कुरा उल्लेख छैन । तर, मट्टितेलमा पनि प्रतिलिटर ३ रूपैयाँ बढाइएको छ ।

२०८० चैत २ गते सार्वजनिक मूल्यसूचीमा डिजेल र पेट्रोलको मूल्य घटेर आएको उल्लेख छ । मूल्य घटाउदा पेट्रोल प्रतिलिटर १ रूपैयाँ र डिजेल तथा मटिट्तेलको मूल्य २ रूपैयाँले घटाइएको भनिएको छ । मटिट्तेलको मूल्य कति घटेर आएको हो सूचनामा उल्लेख नै भएको छैन । भने, ग्यास र हवाई इन्धनको मूल्य घटेर, बढेर वा यथावत् आएको हो भन्ने कुरा पनि खुलाइएको छैन ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँले स्वचालित मूल्य प्रणाली लागू भएको भनेर हल्लामात्रै गरेको टिप्पणी गरे ।

उनले भने, ‘स्वचालित मूल्य प्रणाली नै लागू भएको हो भने भारतबाट कति बढेर वा घटेर आएको खुलाउनुपर्छ । तर, निगमले पेट्रोल र डिजेलको मात्रै मूल्य यति बढेर आएको वा घटेर आएको मात्रै भनेर नयाँ मूल्य सूची सार्वजनिक गरिरहेको हुन्छ । स्वचालित भनेको बढेको या घटेको मूल्य नै लागू हुनुपर्ने हो । तर, त्यसमा केही थपघट गरेर मात्रै नयाँ मूल्य सार्वजनिक गरिरहेको छ । यसो गर्दा निमगले आफू फाइदामा जाने बाटो हेरेरमात्रै मूल्य तलमाथि गरिरहेको छ ।’

भाउ बढाउनुअघि व्यवसायीलाई पहिले नै सूचना चुहाउने गरिएको उनको आरोप छ ।

उनले थपे, ‘अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा पनि इण्डियन आयल कपोर्रेशनले पठाएको मूल्यमा नै हामीले इन्धन खरिद गरिरहेका छौं । भारतमा नै इण्डियन आयल कपोर्रेशनको विभिन्न इन्धनको लागत मूल्य कति हो र कसरी मूल्य निर्धारण गर्छ भन्ने विवाद छ ।’

तर, नेपाल आयाल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट अहिले स्वाचालिक मूल्य प्रणाली नै लागू भइरहेको दाबी गर्छन् ।

उनले भने, ‘५० पैसासम्म मूल्य वृद्धि भएर आएको छ भने त्यो थपिँदैन । तर, ५१ पैसा भएर नयाँ मूल्यसूची आएको छ थपिन्छ । जस्तै १.५० रूपैयाँ मूल्यवृद्धि भएर आएको खण्डमा १ रूपैयाँमात्रै मूल्यवृद्धि हुने गरेको छ । भने, १.५१ रूपैयाँ इन्धनमा बढेर आएको छ भने २ रूपैयाँ बढ्ने गरेको छ ।’

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ग्यासको मूल्यमा निगमलाई प्रतिसिलिण्डर ३ सय रूपैयाँ घाटा भइरहेको कारणले नै २०/३० रूपैयाँ मूल्य थपघट हुँदा विवरण सार्वजनिक नगरेको बताए ।

उनले भने, ‘ग्यासमा हामी ठूला लसमा छौं । घाटा भएको विषयमा राज्यबाट कुनै सुनुवाइ हुँदैन । त्यसैले नै ग्यासको मूल्य थपघटको विषय नयाँ मूल्यसूचीमा समावेश नगरिएको हो ।’

निगमले २०७१ सालबाट नै स्वाचालित मूल्य प्रणाली लागू गर्ने भनेको थियो । तर, यसको कार्यान्वयन भने २०८० बाट मात्रै लागू भएको हो ।

हेर्नुस् निगमका पछिल्ला ३ विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *