एमालेलाई ओलीले अझै गलत बाटोमा लगिरहेका छन् : घनश्याम भुसाल – Nepal Press

एमालेलाई ओलीले अझै गलत बाटोमा लगिरहेका छन् : घनश्याम भुसाल

रुपन्देही । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेलाई केपी ओलीले अझै गलत बाटोमा लगिरहेको बताएका छन् ।

उनले ओलीले जति सकिन्छ बल गरेर एमालेलाई नर्कतिर धकेल्दै लगेको गम्भीर आरोप लगाए ।

नेकपा (एस) जिल्ला कमिटी रुपन्देहीले शुक्रवार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

उनले भने, ‘ओलीजी कसैलाई गन्ने मान्छे होइन । अहिले उहाँ थाक्नुभएको छ र आएर सँगै जाऔँ भन्नुभएको छ । हामीले शंकाको सुविधा दिएका छौँ एमालेलाई र अहिले हामी एउटै गठबन्धनमा छौँ ।’

कुनै दिन नेकपा एमाले र एसबीच तथा नेकपा (माओवादी केन्द्र) बीच एकता हुन सक्ने उनले बताए ।

उनले भने, ‘अहिले हेर्दा खेरी के देखिन्छ भने त्यहाँभित्र ओली गुट बलियो रहेसम्म एकताको कुनै सम्भावना छैन, देखिँदैन । त्यो बेकार कुरा हो ।’

पूर्वमन्त्री समेत रहेका भुसालले ओलीले ध्वस्त पारेको आन्दोलनलाई कसरी उठाउन सकिन्छ भनेर प्रयत्न गरेको बेलामा ओलीको कुनै कुराले आफूहरूलाई प्रभावित नपार्ने दाबी गरे ।

उनले भने, ‘अब जाने भनेको हिजो जे बिग्रँदै थियो, त्यो बनाउने हो ।’ सिद्धान्त, विचार र तरिकाका हिसाबले नेकपा एमाले मृत जस्तो भएको उनको भनाइ छ । उनले भने, एक जना माथि ट्याउँट्याउँ बोल्नुहुन्छ, ओलीजी हुनुहुन्छ, अरू कोही बोल्दैन । एमालेमा कोही चल्दै चल्दैन ।’

नेता भुसालले एमालेमा माथिदेखि तलसम्म हिजै आफूहरूले बनाएको छोडेको संगठन भएको दाबी गरे । नेपालको संसदमा सबैभन्दा शक्तिशाली केपी ओली भएको तर, शक्तिशाली प्रधानमन्त्री आफैले संसद भत्काएको उनले बताए ।

‘कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो उपस्थिति भएको संसद उहाँले भत्काएपछि त्यसमा विचार हराउँदै गयो ।तर, पनि एमाले एउटा शक्ति हो, किनभने एमालेसँग संगठन छ,’ भुसालले भने ।

उनले मुलुकमा बेरोजगारी तथा धनी र गरिबबीचको खाडल अझ बढेको बताए । मुलुकका ५० लाख युवा विदेश गएर काम गर्नुपरेको परिस्थिति रहेको भुसालको भनाइ छ ।

नेपालको संविधानमा धेरै राम्रो अधिकार लेखिएको र अब मुलुकमा रोजगारी सिर्जना तथा सुशासन कायम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘एक वर्ष वरिपरि नेकपा (एस) कसैले हेप्न नसक्ने शक्ति र प्रमुख पार्टीको रूपमा अघि बढ्छ ।’

त्यस्तै पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हरि पराजुलीले एमालेलाई शक्तिशाली बनाउन विगतमा मिहिनेत गरे पनि पार्टीले वाचा पुरा नगरेपछि विद्रोह गरिएको बताए । उनले जनताको समस्या समाधान गर्नका लागि नै नेकपा (एस) पार्टी ल्याइएको दाबी गरे ।

नेकपा (एस) लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सोम प्रसाद पाण्डेले विद्रोह कुनै रहरले नगरिएको बताए । उनले एमालेबाट विद्रोह गरेर संविधान बचाएको दाबी गरे ।

पार्टीका केन्द्रीय सदस्य बाबुलाल यादवले देशको परिस्थिति अत्यन्तै जटिल भएको बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, उपाध्यक्ष चिन बहादुर गुरुङ, सचिव टंक पौडेललगायतले बोलेका थिए ।

कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाललगायत विभिन्न पार्टी परित्याग गरी ३ सय बढी नेता–कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

7 thoughts on “एमालेलाई ओलीले अझै गलत बाटोमा लगिरहेका छन् : घनश्याम भुसाल

  1. होहो। अहिलेको चुनावले देखाईहाल्यो नी को कति पानीमा ।

  2. एकाले ठीक बाटोमा हिडोस या गलत तिमी संग सोध्नु पर्ने ? या तिम्लाई के को मतलब ! आफ्नो गर्नु खानु सम्झी सम्झी एमालेकै नाम लिनु भनेको तिमीलाई पछुतो भएको हो वस उतै वस )

  3. ओलिको नाम किन चााियो तँलाई ? आफ्नो काम गर खा । किन अर्काको नाम लिन्छस् । आफ्नो काम नगर्ने र अरूलाई पनि काम गर्न नदिने बाँदर जस्तो । पत्रु नेता ।

  4. घनश्याम भुसाल यति गिरेर बोल्न सक्छन् भन्ने लागेको थिएन। इलाम र बझाङको निर्वाचन परिणाम हेरेर पनि के बकेको होला। यिनी दिमागी रुपमा विक्षिप्त भएका छन्। यस्तो समाचार पस्किने नेपालप्रेसलाई धन्यवाद दिने र? यि त्रिभुज कामरेड जानी जानी देशको प्रगतिशील आन्दोलनलाई कमजोर बनाउन खटिएको आभास हुन्छ। लुम्बिनी प्रदेशका इन्चार्ज भनिएका हरि पराजुली को रहेछन् खुलाइदिए राम्रो हुन्थ्यो। आफ्नै पार्टीका प्रधानमन्त्री भएका सम्मानित भनिएका नेता इलाममा कमाण्डर हूँदा पाएको मत पाँच सय पुगेको हो र? तिनकुनेका फूर्ति कति कति।

  5. भुषालजी, आफु ठिक भए भेै गयो त अरुको किन चिन्ता ! एमाले गलत तिर गए तपाइहरुलाई झन फाइदै भयो नि । आफ्नो मानो खाएर अरुको गाना किन गाउनु हौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *